चुनावमा सहयोग गर्न रेग्मीको आग्रह

Khilraj Regmi Cjकाठमाडौं, ९ चैत । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मुलुकको विद्यमान अवस्थालाई ध्यान दिँदै निर्वाचनका लागि पूर्णसहयोग गर्न सम्पूर्ण निजामती कर्मचारीलाई आग्रह गरेका छन् । बिहीबार विभिन्न राजनीतिक दलनिकट कर्मचारी संघ/संगठनमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

‘मुलुकको अवस्था निकै गम्भीर र संवेदनशील छ,’ अध्यक्ष रेग्मीले भने, ‘त्यसैले सबैले चुनावमा जुट्नुपर्ने अवस्था छ, यसका लागि सरकारले निजामती कर्मचारीहरूको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेको छ ।’ नेपाल निजामती कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रका पदाधिकारीले बुझाएको नौबुँदे ज्ञापनपत्र बुझ्दै रेग्मीले चुनावमा सहयोग पुर्‍याउन आग्रह गरेका हुन् ।
‘कर्मचारीले पनि निर्वाचन सफल बनाउन भूमिका खेल्नुपर्‍यो भन्नुभयो,’ नेपाल निजामती कर्मचारी संघका उपमहासचिव विश्वबन्धु रेग्मीले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको भनाइ उद्धृत गर्दै भने । कर्मचारी संघ/संगठनका पदाधिकारीसित अध्यक्ष रेग्मीले निजामती स्वास्थ्य अध्यादेश र स्वास्थ्य सेवा अध्यादेश राष्ट्रपतिले फिर्ता गरेको भन्ने हल्ला निराधार रहेको प्रस्टीकरण पनि दिए ।
अध्यक्ष रेग्मीले २४ (घ) को बढुवा व्यवस्थापनको विषयमा आफू परिचित रहेको उल्लेख गर्दै सरकारले समस्या समाधानका लागि तत्काल पहल गर्ने आश्वासन पनि कर्मचारी नेताहरूलाई दिएका छन् । निजामती सेवा ऐन २४ (घ) को व्यवस्थाअनुसार ०६४ सालदेखि बढुवा भएका कर्मचारीको संख्या हाल करिब १४ हजार छ । उनीहरू माथिल्लो पदमा बढुवा भए पनि तल्लै पदको काम गर्दै आएका छन् । रेग्मीले कर्मचारीका मागबारे सामान्य प्रशासन र अर्थ मन्त्रालयलाई काम अघि बढाउन निर्देशन दिने आश्वासन दिएको उपमहासचिव विश्वबन्दु रेग्मीले जानकारी दिए ।
कर्मचारीले बढुवा व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन, अञ्चलीकरणको समायवधि घटाएर तीन वर्ष कायम गर्नुपर्ने, निजामती अस्पतालमा आजीवन औषधि, श्रेणीविहीन कर्मचारी वृत्ति विकास गर्न माग गर्दै आएका छन् । उनीहरूले आºनो माग पूरा नगरे निर्वाचनमा असहयोग गर्ने चेतावनी दिँदै आएका छन् ।
यसैबीच, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी युनियन र मधेसी कर्मचारी मञ्चले राष्ट्रपतिसमक्ष प्रस्तुत भएका निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्ने दुई अध्यादेश जारी गर्न आलटाल गरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासम्बद्ध कर्मचारी संघ/संगठनलगायतले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ९ चैतबाट आन्दोलनमा जाने बताएका छन् । उनीहरूले ९ चैतमा विरोधसभा गर्ने र ११ चैतदेखि कालोपट्टी बाँधेर काम गर्ने, १८ गतेबाट १ घन्टा कलम बन्द गर्ने र कलम बन्दको समय दिनदिनै बढाएर २४ गते पूरै समय बन्द गरी काम ठप्प पार्नेलगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरूले स्वत: बढुवा भएका १३ हजारभन्दा बढी कर्मचारीलाई पदोन्नति भएकै पदमा समायोजन गर्ने र स्वास्थ्य सेवालाई समावेशी बनाउन निवर्तमान सरकारले निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष दुई अध्यादेश तत्काल जारी गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया