दलित अधिकार दशक अभियान इलामबाट

इलाम, ८ चैत । ‘दलित अधिकार दशक घोषणका लागि मेची–महाकाली दलित मुक्ति जागरण राष्ट्रिय अभियान–२०६९’ बिहीबार इलामबाट सुरु भएको छ ।
दलितका पक्षमा बनेका विभिन्न ऐन, कानुनको प्रचार–प्रसार गर्ने, अब बन्ने संविधान दलितमैत्री बनाउन दवाब दिने, गरिबी, पछौटेपन र अशिक्षा अन्त्यका लागि योजना निर्माण, दलित अधिकार प्रवद्र्धन र छुवाछुत अन्त्यका लागि गाविसस्तरमा संयन्त्र निर्माण गर्न राज्यलाई दवाव दिने उद्देश्यले अभियान सुरु भएको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको अभियानको उद्घाटन नेकपा एमालेका नेता तथा साहित्यकार मोदनाथ प्रश्रितले गरेका थिए । ४८ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च) को अवसरमा आयोजना गरिएको अभियानको उद्घाटन हुनुअघि इलाम चोकबजारबाट पञ्चैबाजासहितको र्यालीले बजार क्षेत्र परिक्रमा गरेको थियो ।
यसैबीच अभियानको उद्घाटनको अवसरमा इलामका स्व. दलित समाजसेवी काले दमाईका बारेमा नवराज शंकरद्वारा लिखित पुस्तक ‘स्मृतिमा कालेदमाई’ विमोचन गरिएको छ ।
‘२०७० देखि २०८० लाई दलित अधिकार दशक घोषणा गराऔं, जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय अभियान सफल पारौं’ भन्ने नाराका साथ इलामबाट सुरु भएको अभियान पश्चिमको बैतडी हु“दै आगामी २४ चैतमा काठमाडौंमा पुगेर समापन हुने जनाईएको छ ।

प्रतिक्रिया