तीन महिनापछि खुल्यो विश्वविद्यालयको ताला

सुर्खेत, ९ चैत । तीन महिनाअघि लगाइएको मध्यपश्चिम विश्वविद्यालयको ताला बुधबार खोलिएको छ ।

विभिन्न विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारीसँग असन्तुष्टि जनाउँदै ३ पुसमा केन्द्रीय कार्यालय र काठमाडौंस्थित सम्पर्क कार्यालयमा समेत तालाबन्दी गरेका थिए । आन्दोलनरत विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबीच मंगलबार राति २ बजे १७ बुँदे सहमति भएपछि ताला खोलिएको हो । दुवै पक्षबीच मंगलबार बिहानदेखि निरन्तर रातिसम्म भएको वार्तामा सहमति भएपछि ताला खोलिएको उपकुलपति प्रा.डा. पदमलाल देवकोटाले बताए ।
‘विश्वविद्यालय सबैको धरोहर भएकाले सबै लाग्नुपर्छ भन्ने धारणा आएपछि सहमति भयो,’ उनले भने, ‘राजनीतिक दल, बुद्धिजीवीको सहयोगमा विश्वविद्यालयको ताला खुलाउन सफल भयौँ ।’ उनले विद्यार्थीका मागमा लचकता अपनाएर सम्बोधन गरेपछि विद्यार्थीले पनि विश्वविद्यालयको विकासका लागि प्रतिबद्ध भएको बताए । उपकुलपति देवकोटाले विद्यार्थीको आन्दोलनबाट विगतमा भएका गल्ती सच्याउने मौका पाएको बताए ।
मंगलबार राति भएको सहमतिमा विश्वविद्यालयमा अध्यापन हुने मानविकी र शिक्षा संकायका साधारण विषयमा त्रिभुवन विश्वविद्यालयको भन्दा ३५ रुपियाँ कम शुल्क लिइने सहमति भएको छ । अन्य प्रयोगात्मक विषयमा भने पहिले नै त्रिविको भन्दा कम शुल्क भएकाले घटाइएको छैन । शिक्षक तथा कर्मचारी नियुक्तिका सम्बन्धमा एक साताभित्र विज्ञापन आह्वान गर्ने र परीक्षामा सहभागी नहुनेलाई नियुक्ति नदिने सहमति पनि भएको छ । यस्तै, केन्द्रीय कार्यालयबाट नै सबै काम सञ्चालन गर्ने, विश्वविद्यालयको सभा पनि सुर्खेतमै गर्ने, विश्वविद्यालयमा अध्ययन गर्ने १२ प्रतिशत विद्यार्थीलाई निशुल्क वृत्तिको व्यवस्था मिलाउने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डाबाट टाढा राख्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनेलगायत सहमति भएका छन् ।
तीन महिना पहिलेदेखि नै विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको, ऐन नियमविपरीत कर्मचारी नियुक्ति गरिएको, शुल्क सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । विश्वविद्यालयमा तालाबन्दी, कक्षा सञ्चालनमा अवरोध, जिल्ला बन्दलगायत संघर्षका कार्यक्रम गर्दै आएका उनीहरूले विश्वविद्यालयले माग सम्बोधन गरेपछि सहमति भएको बताएका छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य सुशील थापाले विश्वविद्यालयका पदाधिकारीले माग पूरा गर्न लिखितरूपमा सहमति जनाएपछि सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलिएको बताए ।

प्रतिक्रिया