बाघ गणनामा प्रयोग भएको चोरी

चितवन : वरन्डभार क्षेत्रका सामुदायिक वनमा बाघ गणनाका लागि राखिएको अत्याधुनिक क्यामेरा तस्करले चोरेका खुलासा भएको छ । तस्करले केही क्यामरा तोडफोड गरेको जिल्ला वन कार्यालयका डिएफओ डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिए । १ फागुनबाट सुरु गरिएको बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले १ सय ६० वटा अत्याधुनिक क्यामेरा निकुञ्ज र आसपासका सामुदायिक वनमा राखेको थियो । सामुदायिक वनमा राखिएका क्यामेरामध्ये ४ क्यामेरा तस्करले तोडफोड गरेको उनले जानकारी दिए ।  एउटा क्यामेरा नै चोरी भएको, एउटाको मेमोरी कार्ड झिकेर तस्करले लगेको र २ वटा तोडफोड गरिएको डिएफओ सापकोटाले बताए । जिल्लाको वनको पूर्वी क्षेत्रअन्तर्गत पदमपुरको भीमवली सामुदायिक वन र गर्दास क्षेत्रमा राखिएको क्यामेरा हराएको हो । चितवनमा निकुञ्जलाई विभिन्न क्षेत्र छुट्टयाएर गणना थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत फणिन्द्र खरेलले बताए । पश्चिम क्षेत्रअन्तर्गत त्रिवेणी क्षेत्रबाट पहिलो गणना थालिएको थियो । सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने नीतिअनुसार विश्वमा बाघ संरक्षणका नयाँ कार्यक्रम अख्तियार सरकारले गरेको छ । नेपालमा पनि बाघको बासस्थान विनाश भइरहेको र आहारा प्रजाति पनि क्रमिक रूपमा घट्दै गएकाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य चुनौतीपूर्ण देखिएको छ । नेपालमा पछिल्लो गणनाअनुसार १ सय ५५ पाटेबाघ रहेकोमा सबैभन्दा बढी १ सय २५ वटा चितवन निकुञ्जमै छन्  । (सौस)

प्रतिक्रिया