बाख्राको दूधबाट चिज

Ashok-Kumar-Shing-Thakuriम गाउँको एउटा किसान । मकवानपुरको चित्लाङमा जन्मिएँ । खेतीपाती, गाईपालनबाट दूध बेच्ने गरेर जीविकोपार्जन हुँदै आएको थियो । २०५० सालताका हाम्रो गाउँमा किसानलाई लक्षित गरेर एउटा फ्रान्सेली आइएनजीओले कार्यक्रम थालेको थियो । चित्लाङमै रहेको सरकारी चिज उत्पादक फार्ममा आइएनजिओले चिज बनाउने मेसिन पनि सहयोग गरेको रहेछ । हामी फार्ममा दूध बेच्थ्यौँ । त्यो संस्थाको समूहमा बसेपछि बाख्रापालन पनि थालेका थियौँ । एकपटक त्यो आइएनजीओमार्फत सरकारी फार्मका कर्मचारी र एकजना डाक्टर फ्रान्स घुम्न गएका थिए । डाक्टर उतै पलायन भए कर्मचारी फर्के । यो कुरा मलाई थाहा थियो ।

एकदिन समूहको बैठकमा सरकारी मान्छेलाई सहयोग गरेर हामी गरिबलाई देखाई खाने बाटो बनाउने भनेर म बम्किएँ । त्यतिबेला सरकारी चिज फ्याक्ट्री पनि बेकामी भएको थियो । हामी किसानले गाउँकै किसानलाई प्रविधिको ज्ञान दिन अनुरोध गरेपछि मलाई फ्रान्स जाने अवसर मिल्यो । त्यति बेलासम्म हामीले गाउँमा बाख्रापालन गरेर आधा/एक लिटर दूध बेच्न थालिसकेका थियौँ । बाख्रा मासुका लागि मात्रै होइन, यसको दूध स्वास्थ्यका लागि उपयोगी छ भन्ने पनि जानिसकेका थियौँ हामीले । मैले फ्रान्समा गएपछि बाख्राको दूधबाट चिज उत्पादन गर्ने प्रविधि सिकेँ । लाग्यो– ‘मैले आफ्नै पहलमा चिज उत्पादन थालेँ ंभने नेपालमा पनि बाख्राको जिचको बजार विस्तार संभव छ ।’ त्यही निर्णयको साथ ०६० सालमा नेपाल फर्किएपछि बेकामी भएको सरकारी चिज फ्याक्ट्रीका मेसिन गाउँमा लगेर आफ्नै पहलमा चिज
उत्पादन थालेँ ।
त्यतिबेला हाम्रो गाउँका २०/२५ परिवारबाहेक अरुले बाख्राको दूधबाट पनि चिज उत्पादन गर्न सकिन्छ भन्ने हत्तपत्त विश्वास गर्दैनथे । आफ्नै गाउँमा उत्पादन हुने बाख्राको दूधबाट मैले दैनिक आधादेखि एक केजीसम्म चिज उत्पादन गर्न थालेँ । तर, सुरुमा बजार नै पाइनँ । होटलमा अनुरोध गर्‍यो भने उल्टै उल्याएर पठाउँथे, ‘बाख्राको दूधबाट पनि कतै चिज बन्छ’ भन्थे । सुरुका केही समय त उत्पादन गरेको चिज छिमेकमा बाँडेर सकाएँ । केही त्यतिकै मिल्काएँ पनि । लगानी त्यसै खेर जान थाले पनि फ्रान्सेली संस्थाको सहयोग लिएर बजार विस्तार गरेँ । विस्तारै बाख्राको दूधबाट बनेको चिज लोकप्रिय बन्न थाल्यो । काठमाडौंका धेरै होटलमा बाख्राको चिजको माग बढेको छ । गाईभैँसीको दूधबाट बनेको भन्दा स्वादिलो अनि स्वस्थकर पनि हुने भएकाले बाख्राको दूधबाट बनेको चिजको माग अझ बढी छ । अहिले बाख्राको दूधबाट बनेको चिजको मार्केट निकै राम्रो छ । बरु, उन्नत जातका बाख्रा पालन गर्न नसक्दा दूध उत्पादन पर्याप्त हुन सकेको छैन । मागअनुसारको चिज उत्पादन गर्न सकेको छुइनँ ।
तीन वर्षअघि नेपाल डेरीबोर्ड फार्म नाम दिएर चिज फ्याक्ट्री दर्ता पनि गरेको छु । अहिले दिनको एककिलो चिज बिक्रीका लागि उत्पादन हुन्छ । म कुनै दिन पनि उत्पादन रोक्दिन । मासिक एकदेखि डेढ लाख रुपियाँसम्म उत्पादन हुन्छ । तर, अझै दूधको अभाव छ । उन्नत जातका बाख्रा आयातमा सरकारले सहयोग गरेको छैन । मेरो फार्ममा करिब नब्बेवटा बाख्रा छन् । एउटा बाख्राले आधा लिटरसम्म दूध दिन्छ । सान्नत, अल्पिन जातका बाख्रा विदेशबाट आयात गर्न सके एउटैबाट पाँचदेखि सात लिटरसम्म दूध उत्पादन हुने थियो ।
मैले व्यक्तिगत रूपमा चिज फ्याक्ट्री दर्ता गरेर उद्यमी त भएको छु नै । आफ्नो गाउँको आर्थिक विकासका लागि पनि थालिएको अभियानको अगुवाइ गरिरहेको छु । नेपालमै एउटा मात्रै रहेको बाख्राको चिज फ्याक्ट्री हेर्नका लागि देशविदेशबाट पर्यटकहरू चित्लाङ आउँछन् । गाउँमा भित्रिएका पर्यटकलाई स्थानीय स्तरमा नै बसाउने व्यवस्थाका लागि हामीले अहिले होम स्टे पनि सञ्चालन गरेका छौँ । ‘गोट चिज होमस्टे’ नाम दिएर गाउँका ६ वटा घरमा एकवर्षयता होमस्टे पनि सञ्चालन गरिएको हो ।
वार्तामा आधारित)

प्रतिक्रिया