एमाले चुनावमा होमिने

काठमाडौं, ८ चैत । एमालेले पार्टीको सम्पूर्ण ध्यान चुनाव तयारीमा केन्द्रित गर्ने भएको छ । स्थायी समितिको बुधबार बसेको बैठकले चुनावमा केन्द्रित हुनेगरी छलफलका लागि एजेन्डा तय गरेको छ ।

प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी अन्तरिम मन्त्रिपरिषद् गठनपछि एमाले पार्टी पंक्तिलाई चुनावमा सम्पूर्ण रूपमा खटाउने गरी तयारीमा लागेको हो । बुधबार बसेको स्थायी समिति बैठकले बिहीबारदेखि छलफल गर्न विभिन्न १४ एजेन्डा तय गर्दै छलफल अघि बढाउने निष्कर्ष निकालेको छ ।
एमालेले विघटित संविधानसभाबाट संविधान बन्न नसक्नुको कारणसहितको श्वेतपत्र तयार गरी आगामी चुनावमा आºनो पार्टीलाई बढी सिट दिलाउन आह्वानसहित चुनावी नारा तय गर्ने जनाइएको छ । स्थायी समितिको बिहीबार हुने बैठकले समसामयिक राजनीतिक अवस्था, सरकार गठनको समीक्षा, संवैधानिक अंगका नियुक्ति, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, कार्यविभाजन, चुनाव तयारी र संविधानसभाले गरेका कामबारे श्वेतपत्र जारी गर्नेलगायत विषयमा छलफल गर्नेछ ।
‘भोलिदेखि निरन्तर बस्ने बैठकका लागि एजेन्डा तय भएको छ,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘सरकार, संवैधानिक अंगका नियुक्ति र चुनावी तयारीलगायत १४ वटा विषय छलफलका लागि तय भएका छन् ।’
चुनावी रणनीति तय गरी पार्टीपंक्तिलाई चुनावी तयारीमा लगाउने गरी एमालेले योजना बनाउँदै छ । बुधबारै सुरु भएको युवासंघ नेपाल केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष झलनाथ खनालले चुनावलाई केन्द्रित गरी योजना बनाउन र आउने चुनावमा एमालेलाई पहिलो पार्टी बनाउनेगरी लाग्न निर्देशन दिए ।
खनालले लोकतन्त्र संस्थागत गर्न र अग्रगामी रूपान्तरण गर्न एमाले पहिलो पार्टी नभए सम्भव नभएको बताएका थिए । एमाओवादीको उग्रवामपन्थी अराजकताले संविधान बन्न नसकेको र कांग्रेसबाट आमूल परिवर्तनसहितको लोकतन्त्र सम्भव नभएकाले एमालेलाई पहिलो शक्ति बनाउनै पर्ने उनको भनाइ थियो ।
बुधबारको बैठकमा अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिका विषयमा केही नेताहरूले आपत्ति जनाएका थिए । तर, एमाओवादीको प्रस्तावमा उच्चस्तरीय राजनीतिक समितिले नै कार्कीको नाम अनुमोदन गरेकाले त्यस विषयमा एमालेको निर्णयले अर्थ नराख्ने पार्टी नेतृत्वले जवाफ दिएको थियो ।
‘विवादित व्यक्तिलाई अख्तियार प्रमुख बनाउन सहमति जनाउने कुरा त्रुटिपूर्ण छ,’ बैठकमा अमृतकुमार बोहराको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई अविलम्ब सच्याउन पार्टीका तर्फबाट पहल गरिनुपर्छ ।’ तर, उच्चस्तरीय राजनीतिक समितिले पारित गरिसकेकाले पार्टीको निर्णयले फिर्ता बोलाउन नसक्ने वार्तामा रहेका नेताहरूले बताएका थिए । ‘लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्ने निर्णय उच्चस्तरीय राजनीतिक समितिले गरेको हो,’ उपाध्यक्ष गौतमले भने, ‘एमालेले आºनो बैठकबाट निर्णय गराउनुको कुनै औचित्य छैन ।’

प्रतिक्रिया