अखिलको अनशन तोडियो

काठमाडौं : आइतबारदेखि एमाले पार्टी कार्यालय बल्खुमा रिले अनशनमा बसेका अनेरास्ववियुका नेताहरूले बुधबार अनशन तोडेका छन् । पार्टी अध्यक्ष झलनाथ खनालले लिखित रूपमा अनेरास्ववियुभित्रको समस्या समाधान गर्ने भनेपछि विद्यार्थीले अनशन तोडेका हुन् ।
एकपक्षीय रूपमा आयोजक कमिटी गठन गरेको भन्दै अनेरास्ववियुका असन्तुष्ट पक्षका विद्यार्थीले आइतबारदेखि पार्टी कार्यालयमा रिले अनशन सुरु गरेका थिए । अनेरास्ववियुकी राधिका खतिवडाले पार्टी अध्यक्ष खनालले लिखित रूपमा आºना मागबारे सम्बोधन गरेको हुनाले अनशन तोडिएको जानकारी गराइन् ।
‘पार्टी अध्यक्षले आज पत्रमार्फत हाम्रा मागबारे सम्बोधन गर्नुभयो,’ उनले भनिन्, ‘पत्रमा अनशन र पोखरामा बोलाइएको बैठक दुवै स्थगन गर्न भन्नुभएको छ । त्यसैअनुसार अनशन तोडिएको हो ।’
विद्यार्थी इन्चार्ज भानुभक्त ढकालले पूर्वाग्रही ढंगले आºना पक्षलाई मात्र समेटेर आयोजक कमिटी बनाएको भन्दै असन्तुष्ट पक्षका विद्यार्थी आन्दोलित भएका थिए । पार्टी अध्यक्षलाई सुरुमा ज्ञापनपत्र र धर्ना दिएका विद्यार्थीले सुनुवाइ नभएपछि रिले अनशन सुरु गरेका थिए । उता, बुधबारदेखि पोखरामा अनेरास्ववियुको बैठक सुरु भएको छ । विद्यार्थी नेत्री खतिवडाले माधव ढुंगेलले पक्षले पार्टी अध्यक्षको पत्रलाई वेबास्ता गरी गैरजिम्मेवार ढंगले बैठक बसाले आफूहरू चुप लागेर नबस्ने बताइन् । ‘पार्टी अध्यक्षले नै पोखराको बैठक स्थगन गर्नू भन्नुभएको छ,’ उनले भनिन्, ‘बैठक स्थगन नगरे हामी पनि समानान्तर बैठक गर्छौं ।’
आयोजक कमिटीका ४० असन्तुष्ट पक्षधरका केन्द्रीय सदस्य अनशनमा बसेका थिए । फागुन १९ गते पार्टीको स्थायी कमिटीले विद्यार्थी नभएका, कारबाहीमा परेका, विदेश गएका र निष्क्रिय रहेका २ सय १३ जनालाई हटाउँदै अध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा १ सय ४१ महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । असन्तुष्ट पक्षका विद्यार्थीले नवगठित आयोजक कमिटी त्रुटिपूर्ण र अव्यावहारिक भएको भन्दै सच्याउन माग गरेका थिए । (सौस)

प्रतिक्रिया