अनुदानको चामल बजारमा भन्दा महागो

chamalसोलुखुम्बु : सरकारले दुर्गम क्षेत्रका बासिन्दाले महँगो मूल्यमा खाद्यान्न उपभोग गर्न नपरोस् भनेर सहुलियत दरमा चामल बिक्री गर्न थाले पनि त्यस्तो चामल बजार मूल्यभन्दा प्रतिकिलो चार रुपियाँ बढी पर्न गएको छ ।

सोलुखुम्बुको सदरमुकाममा खाद्य संस्थानले बिक्री गर्ने अनुदानसहितको सो चामल सल्लेरी बजारमा व्यापारीहरूले बिक्री गर्ने चामलभन्दा प्रतिकिलो चार रुपियाँ महँगो भएको उपभोक्ताले बताएका छन् ।
खाद्यले अहिले सल्लेरी डिपोबाट प्रतिकिलो ३८ रुपियाँमा चामल बिक्री गरिरहेको छ । तर, समान गुणस्तरको चामल बजारमा प्रतिकिलो ३४ रुपियाँमा बिक्री भइरहेको छ । बजारमा भन्दा महँगो भएकै कारण सल्लेरी डिपोबाट गत वर्ष नै बेचिसक्नुपर्ने एक हजार क्विन्टलभन्दा बढी चामल अझै गोदाममै थन्किएको छ । ‘पुरानो बिक्री नभएको कारण नयाँ ल्याउन सकिएको छैन, नयाँ ल्याएर पनि के गर्नु बिक्री हुँदैन होला’ खाद्य संस्थान सल्लेरीका प्रमुख गंगाप्रसाद शाहले भने ।
बजार मूल्यभन्दा खाद्य संस्थानको चामल महँगो भएको शाहले सहमति जनाए । ‘महँगो त भएकै हो तर हामीले मूल्य समायोजन गर्न मिल्दैन, केन्द्रमा भनेका छौँ, सायद समायोजन हुन्छ होला’ उनले भने ।
सदरमुकामसम्म सडक यातायात सञ्चालन नहुँदा खाद्य संस्थानको चामलभन्दा बजार मूल्य करिब दोब्बर हुन्थ्यो । त्यतिबेला पाँच केजी चामल लिनका लागि खाद्य संस्थानमा लाइन बस्नुपथ्र्यो । ‘पहिले त एक बोरा चामल मिलाइदिनु भनेर नेताहरूलाई भन्नुपथ्र्यो अहिले त बजारको भन्दा महँगो पो भएछ’ सल्लेरीमा व्यवसाय गर्ने लक्ष्मी राईले भनिन् ।
सडक यातायात सञ्चालन भएपछि सल्लेरीमा खाद्यान्न निकै सस्तो भएको छ । ‘अहिले त जाँड पकाउन र रोटी पकाउन पनि बजारकै चामल किन्छौँ’ एक होटेल व्यवसायीले भने । बजार मूल्यभन्दा सस्तोमा चामल दिनुपर्ने वा अनुदान भनेर राज्य कोषको खर्च गरिरहन नहुँने यहाँका बासिन्दाको माग छ । (सौस)

प्रतिक्रिया