सप्तरीमा आठ महिनामै १० हजारले लिए राहदानी

passportराजविराज, ७ चैत । बढ्दो बेरोजगारी र खँडेरीका कारण कृषीमा अपेक्षाकृत उत्पादनसमेत हुन नसक्दा विदेश जाने युवाको संख्या सप्तरीमा बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीमा राहदानी बनाउन युवाहरूको भिड लाग्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १० हजार दुई सय ८३ जना युवाले राहदानी लिइसकेका छन् । साधारणतर्फ पाँच हजार ६ सय २४ र द्रुत सेवातर्फ चार हजार ६ सय ५९ जनाले राहदानी लिएको नायवसुब्बा तोमप्रसाद दाहालले बताए ।
नायवसुब्बा दाहालका अनुसार गत वर्षभन्दा यस आर्थिक वर्षमा राहदानी बनाउने युवाको संख्या अत्यधिक बढेको छ । गत आर्थिक वर्षमा साधारणतर्फ पाँच हजार ६ सय ४२ जनाले राहदानी लिएका थिए । यस वर्ष फागुनभित्रै पाँच हजार ६ सय २४ जनाले साधारणतर्फको राहदानी लिइसकेको दाहालले बताए । चैत र वैशाख महिनामा अत्यधिक रूपमा राहदानीको आवेदन आउने गरेको अघिल्ला वर्षहरूको अनुभवका आधारमा यस वर्ष उक्त संख्या बढेर जाने शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक ७० देखि ८५ जनाले राहदानीका लागि आवेदन दिने गरेका छन् । दसँै–तिहारजस्ता चाडपर्व तथा खेतीपाती थन्क्याउने समय सकिएपछि चैत र वैशाखमा राहदानी लिनेको चाप बढेर जाने दाहालको भनाइ छ ।
सप्तरी जिल्लामा भएको एक मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरूपमा सञ्चालन आउन नसकेको तथा खँडेरीका कारण खेतीयोग्य जमिनसमेत बाँझै रहेपछि ग्रामीण क्षेत्रका युवा बिदेसिने क्रम बढ्दै गएको उद्योग वाणिज्य संघ सप्तरीका महासचिव सुरेश सिंह बताउँछन् ।

प्रतिक्रिया