एनसेलमा माओवादी मजदुरको आक्रमण

images
काठमाडौं, ६ चैत । नेकपा–माओवादी निकट मजदुर संगठनले एनसेलको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन् ।
८७ जना कर्मचारीलाई हेलो नेपाल कम्पनीले निष्काशन गरेको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका मजदुरहरु आज तोडफोडमा उत्रिएका हुन् । तोडफोडमा उत्रिए पछि प्रहरीले हस्तक्षेप समेत गरेको छ ।
प्रहरी हस्तक्षेपका क्रममा केही आन्दोलनकारी घाइते समेत भएका छन् ।
तोडफोडमा संलग्न एकबहादुर खत्री, टेकबहादुर बस्नेत र लीला थापालाई प्रहरीले गिरफ्तार गरेको छ ।
अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका संयोजक रामदीप आचार्यले पक्राउ परेका आफ्ना मजदुर नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका संयोजक जन्मदेव जैसीले एनसेलले मजदुरका माग पुरा नगरे अझ कडा संघर्षमा उत्रने चेतावनी दिए ।
गत मंसिर–२० गते निष्काशित मजदुरहरुले ज्ञापनपत्र बुझाएर मजदुरहरुले आन्दोलन सुरु गरेका थिए ।
हेलो नेपालबाट कर्मचारी निष्काशन गरेको महिनादिनपछि बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले हेलो नेपाल कम्पनी खरिद गरेको थियो । अहिले दुइवटै टेलिकमको केन्द्रीय कार्यालय कृष्ण टावरमा राखिएको छ ।

प्रतिक्रिया