प्रशासनद्वारा ग्यास अनुगमन

प्युठान: खाना पकाउने ग्यासमा कालोबजारी भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघले खलंगामा बजार अनुगमन गरेको छ । व्यवसायीले ग्यासमा कृत्रिम अभाव सिर्जना हुने गरी मूल्य वृद्धि गराएर खाना पकाउने ग्यास बिक्री वितरण गरेको उपभोक्ताले गुनासो गरेका छन् । अनुगमन पछि इजाजत प्राप्त गरी ग्यास बिक्री गर्नको लागि व्यवसायीलाई अनुरोध गर्ने अनुगमनमा सहभागी प्युठान उद्योग वाणिज्य संघका प्रतिनिधि श्रीधर शर्माले बताए । आफूले पटक–पटक जिल्लामा ग्यासको डिलर लिनको लागि प्रयास गरे पनि ठूला व्यापारीहरूका कारण इजाजत नपाएको खलंगाका व्यापारी प्रदीप श्रेष्ठ बताउँछन् ।

आधिकारिक इजाजतविना व्यवसायीले फुटकर रूपमा ग्यास बिक्री वितरण गर्न नपाइने कानुनी प्रावधान रहेको र इजाजत लिएकाले जिल्लामा राम्रोसँग ग्यास वितरण गर्न नसकेको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र अर्यालले कानुनी दायरामा ल्याउनको लागि अनुगमन गरिएको बताए ।
सदरमुकाम खलंगाका व्यपारीले आधिकारिक बिक्रेताविना नै फुटकर रूपमा ग्यास बिक्री गर्ने गरेका छन् । बजारमा हाल मनकामना, लुम्बिनी, कोसी, भेरी, सिद्धार्थ र राप्ती कम्पनीका ग्यास बिक्री वितरण गरिएको छ । बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले त्यस्तो मालवस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था भएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । दुई वर्षदेखि खाना पकाउने ग्यासको व्यापार गर्दै आएका खलंगा व्यापारी मोतिलाल श्रेष्ठले आधिकारिक बिक्रेता भएर ग्यासको बिक्री वितरण गर्नुपर्छ भन्ने आफूलाई कुनै जानकारी नभएको बताए । मनकामना, कोसी र राप्ती कम्पनीका ग्यासहरू प्रति सिलिन्डर एक हजार ६ सयमा बिक्री गर्दै आएको उनले जानकारी दिए । (सौस)

प्रतिक्रिया