डा. कोइरालाका माग सम्बोधन गरिने

काठमाडौं : त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट १६ दिनअघि राजीनामा दिएका डा. भगवान् कोइरालाको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालय तयार भएको छ ।
अस्पतालकै सहकर्मी र सरकारबाट असहयोग भएको भन्दै निर्देशकबाट राजीनामा दिएका डा. कोइरालाको माग पूरा गरी राजीनामा फिर्ताको तयारी भइरहेको त्रिवि स्रोतले जनाएको छ । स्रोतका अनुसार त्रिविले राजनीतिक परिवर्तनसहित चुनावको तयारी भएको समयमा नयाँ निर्देशक नियुक्ति गर्न समस्या पर्ने र सबैतिरबाट डा. कोइरालाको राजीनामा अस्वीकृत गर्न दबाब आइरहेकाले उनको माग पूरा गरी राजीनामा फिर्ताको तयारी गरेको हो ।
कार्यकारी निर्देशकले एकपटकमा १ करोड रुपियाँसम्म खर्च गर्नसक्ने व्यवस्था गर्ने तयारी त्रिविले गरेको छ । हालसम्म शिक्षण अस्पतालले आफ्नै निर्णयमा एकपटकमा ३५ लाख रुपियाँसम्म मात्र खर्च गर्न पाउँथ्यो । जसले गर्दा तत्कालै गर्नुपर्ने महत्त्वपूर्ण निर्णयका लागि त्रिवि व्यवस्थापनसमक्ष फाइल पठाई हप्तौँसम्म कुर्नुपर्ने बाध्यता थियो । स्रोतका अनुसार त्रिविले कोइरालाको काममा अवरोध पुर्‍याउने वरिष्ठ चिकित्सक र युनियनका कर्मचारीलाई शिक्षण अस्पतालबाट सरुवा गर्ने तयारीसमेत गरेको छ ।
डा. कोइरालाको माग सम्बोधनको तयारी भइरहेको त्रिविका उपकुलपति हीराबहादुर महर्जनले बताए । उनले रेक्टर बाहिर गएकाले रेक्टर आउनेबित्तिकै माग सम्बोधन हुने बताए ।
डा. कोइराला पनि वरिष्ठ चिकित्सक, पदाधिकारी र शुभचिन्तकको आग्रहमा राजीनामा फिर्ता लिने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ । लिखित रूपमा माग सम्बोधन गरिए राजीनामा फिर्ता लिनसक्ने आशय उनले केही दिनअघि फेस बुक नोटमा समेत उल्लेख गरेका थिए । (सौस)

प्रतिक्रिया