दरबारका विश्वासपात्र प्रचण्डका ‘प्रिय’

Lokmanshin-Karkiकाठमाडौं, ५ चैत । पूर्वराजपरिवारका विश्वासपात्र मानिने पूर्वमुख्यसचिव लोकमानसिंह कार्की एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्ने लगभग पक्का भएको छ । प्रमुख दलहरूबीच कार्कीका सम्बन्धमा भएको सहमतिबारे दाहालले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई समेत जानकारी गराइसकेका छन् ।

प्रमुख दलका शीर्षनेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले अख्तियार प्रमुखमा कार्कीलाई नियुक्त गर्न गरेको सिफारिसप्रति एमाओवादीबाहेकका दलभित्र तीव्र असन्तुष्टि देखिएको छ । शाही शासनकालका तत्कालीन राजा ज्ञानेन्द्र शाहको आशीर्वादमा कार्की मुख्यसचिव बनेका थिए । त्यतिबेला दलहरूले गरेको आन्दोलन दबाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शनिबार बसेको उच्चस्तरीय समितिको पहिलो बैठकमा एमाओवादी अध्यक्ष दाहालले उनको नाम प्रस्ताव गरेपछि अन्य दलहरूले सामान्य असहमति राखे पनि विरोध जनाएनन् । बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचन आयोगको प्रमुखमा नीलकण्ठ उप्रेतीको नाम प्रस्ताव गरेका थिए भने कांग्रेसले महालेखा परीक्षकमा भानु आचार्यको नाम प्रस्ताव गरेको थियो । एमाओवादी अध्यक्ष दाहालले कार्कीसँगै लोकसेवा आयोगको प्रमुखमा कयोदेवी यमीको नाम अगाडि सारेका थिए ।
शाही शासनकालमा विवादास्पद ढंगले तत्कालीन राजा ज्ञानेन्द्रले मुख्यसचिव नियुक्त गरेका कार्कीलाई एमाओवादी अध्यक्ष दाहालले नै अख्तियार प्रमुख बनाउने प्रस्ताव राखेपछि एमाले र कांग्रेसले यो विवादास्पद हुनसक्ने तर्क राखेका थिए । तर, दाहालले कार्कीलाई नै अख्तियार प्रमुख बनाउने अड्डी लिएपछि अन्य दलले पनि समर्थन जनाएको उच्च स्रोतले जनाएको छ ।
‘कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव एमाओवादी अध्यक्ष पुष्पकमल दाहालजीले राख्नुभएको हो, हामीले असहमति राख्दा अरू नाममा पनि उहाँहरूले असहमति राख्ने अवस्था देखिएपछि स्वीकार गर्‍यौँ,’ शनिबारको बैठकमा सहभागी एक एमाले नेताले सौर्यसँग भने, ‘एमाओवादी जस्तो पार्टीले नै त्यस्तो बदनाम नाममा अड्डी लिएर प्रस्ताव राखेपछि स्वीकार गर्न बाध्य भयौँ ।’ कार्कीका नाममा विवाद देखिए पनि उनलाई नियुक्त गर्ने राजनीतिक प्रक्रिया अघि बढिसकेको ती नेताले बताए । कार्कीको नियुक्ति प्रक्रिया अघि नबढाउन एमाले र कांग्रेसका केही नेताहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेको स्रोतको दाबी छ ।
राजपरिषद् स्थायी समितिका पूर्वसभापति भूपालमानसिंह कार्कीका छोरा लोकमानसिंह स्वर्गीय राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट सिधै सरकारको सहसचिवमा नियुक्त भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले ०६१ माघ १९ गते ‘कु’ गरेपछि उनलाई रोलक्रम मिचेर मुख्यसचिव नियुक्त गरेका थिए । शाही शासनविरुद्ध दलहरूको आन्दोलनमा सहभागी नहुन उनले वक्तव्य जारी गर्नुका साथै कर्मचारीलाई भेला गरेर चेतावनी दिएका थिए । जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कार्कीलाई मुख्यसचिवबाट हटाएको थियो । पछिल्लो समय एमाओवादी अध्यक्ष दाहालसँग उनको गहिरो सम्बन्ध रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया