एमाले चुनावको तयारीमा

JN-Khanal-@काठमाडौ, ४ चैत । प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रिपरिषद् गठन भएलगत्तै एमाले चुनावको तयारीमा जुटेको छ । चुनावलाई लक्ष्य गरी यसै साता स्थायी समितिको बैठक बस्ने तयारी गरेको एमालेले शनिबार राजधानीमा अधिकांश जिल्ला सम्पर्क कमिटीको भेला गरी चुनावी तयारी थालेको हो ।

चुनावी सरकार गठनलगत्तै अब पार्टी सम्पूर्ण रूपमा चुनावको तयारीमा लाग्ने बताउँदै नेताहरूले कार्यकर्तालाई जिल्ला फर्केर सक्रिय हुन निर्देशन दिएका छन् । राजधानीमा शनिबार भएका एमालेका सम्पर्क कमिटीहरूका भेलामा आगामी चुनावको तयारीकै विषयमा छलफल चलेको थियो ।
दोलखा काठमाडौं सम्पर्क कमिटीले नयाँबानेश्वरमा गरेको कार्यक्रममा अध्यक्ष झलनाथ खनालले अबको चुनावमा एमालेलाई पहिलो दल बनाउन जिल्लाका घरघर गएर खट्न कार्यकर्तालाई निर्देशन दिए । एमाओवादी उग्रवामपन्थी अराजकता पक्षधर भएको, कांग्रेसले अग्रगमनको नेतृत्व गर्न नसक्ने र मधेसी दलहरू क्षेत्रीय संकीर्णताबाट माथि उठ्न नसक्ने उल्लेख गर्दै अध्यक्ष खनालले आमूल परिवर्तनसहितको लोकतन्त्र संस्थागत गर्न एमालेलाई पहिलो पार्टी बनाउने संकल्प लिएर गाउँ फर्कन निर्देशन दिए ।
‘एमाओवादीको उग्रवामपन्थी अराजकताले संविधानसभालाई असफल बनायो, कांग्रेस आमूल परिवर्तन सुन्नसम्म चाहँदैन र मधेसी दलहरू क्षेत्रीय संकीर्णताबाट माथि उठ्न सक्दैनन्,’ खनालले भने, ‘आमूल परिवर्तन, लोकतन्त्र र समृद्धिको एक्लो पहरेदार एमाले हो अब एमालेलाई पहिलो पार्टी बनाउने संकल्प बोकेर देशभर अभियान चलाउनुपर्छ । तपाईंहरू दोलखामा घरघर पुगेर अभियान चलाउनुस् ।’
उनले संविधानसभाको अवसान गराएर खलबल्याइएको शक्तिसन्तुलनलाई फेरि लिकमा ल्याउन र चुनाव सुनिश्चित गर्न प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेको बताएका थिए ।
एमालेले शनिबार नै कास्की, गुल्मीलगायत सम्पर्क कमिटीहरूको पनि भेला सम्पन्न गरेको छ । यसअघि शुक्रबार एमालेका उपलब्ध केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफल पार्टी केन्द्रीय कार्यालय बल्खुमा भएको थियो । नेता केपी शर्मा ओलीको अग्रसरतामा भएको छलफलमा चुनावको तयारीका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया