नेताले दलित कुट्न थाले

Balbahadur-Sunarदैलेख, ४ चैत । दाह्री, कपाल फुलेर सेताम्य । लौरी टेकेर कुप्रिएका रावतकोट–५ का बलबहादुर सुनार मंगलबार जिल्ला प्रहरी परिसरमा सञ्चारकर्मीसँग भन्दै थिए, ‘नेताले कुट्नसम्म कुटे, हजुर ।’

पत्नीका साथ सदरमुकाम आइपुगेका सुनार निकै थकित र निराश मुद्रामा भेटिएका थिए । गत बुधबार दिएको जाहेरीउपर काम–कारबाही बुझ्न सुनार दम्पती सदरमुकाम आएका हुन् । उनलाई छिमेकीसमेत रहेका नेकपा–माओवादीका जिल्ला नेताले १८ फागुनमा साँझ रूख काटेको विषयलाई लिएर कुटेका थिए ।
सुनारका अनुसार सोही ठाउँ निवासी माओवादीका जिल्ला सदस्य मणिराम विष्टले ‘डुम’ भन्दै लात्ती र मुक्काले हिर्काएका थिए । पुर्जी लिएर आफ्नै बारीभित्रको रूख काट्दा यसरी कुटिनुपर्‍यो पत्नी राजुले भनिन्, ‘आखिर हाम्रो गल्ती के थियो र ?’ डुमजस्ता शब्द बोलेर बेलाबेला गालीगलौज र कुटपिट गर्ने गरेकाले माफी दिन नचाहेको राजुले बताइन् ।
घटनापछि विष्ट फरार छन् । प्रहरीले खोजी गरिरहेको जनाएको छ । ‘गल्ती नभए किन भाग्नुपथ्र्यो ? उपचार खर्च दिएर माफी मागेको भए हामी जिल्लामा आउनुपर्थेन,’ राजुले भनिन् । कुटपिट भएको भोलिपल्ट सुनार दम्पती दुल्लु इलाका प्रहरीमा पुगेर निवेदन दिएका थिए । १० दिन बितिसक्दासमेत दुल्लु प्रहरीले बेवास्ता गरेपछि जिल्ला आउनुपरेको उनीहरूको गुनासो छ । ‘मणिराम गाउँमै छन् । प्रहरी त्यहाँ पुगेकै छैन,’ घाइते सुनारले भने, ‘उसलाई नपक्रेसम्म कसरी गाउँ बस्नू ? झन् उसले सताउन बेर छैन ।’ भूमिगत कालमा समेत जग्गा विवादको निहुँमा उनले कुटपिट गरेका थिए ।
कुटपिट र जातीय विभेदको आरोप लागेका विष्टको मोबाइल स्विच अफ छ । माओवादी जिल्ला इन्चार्ज रामलाल विकले गल्ती भए विष्ट सजायको भागीदार हुनुपर्ने बताए । ‘उनीसँग सम्पर्क भएको छैन,’ इन्चार्ज विकले भने, ‘छिटो सम्पर्कमा आएर समस्या हल गर्न घरतिर खबर पठाएका छौँ ।’ उनी एमाओवादी छाडेर नेकपा–माओवादीमा प्रवेश गरेका हुन् ।
जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐनबमोजिम कारबाहीको माग गर्दै पत्नी राजुले गत बिहीबार जिल्ला प्रहरीमा जाहेरी दिएकी छन् ।
भेदभावविरुद्ध जाहेरी
दैलेख, ४ चैत । जिल्ला प्रहरी कार्यालयले जातीय विभेदसम्बन्धी जाहेरी लिएको एक सातापछि दर्ता गरेको छ ।

रावतकोटका माओवादी जिल्लास्तरीय नेता मणिराम विष्टले ६२ वर्षीय बलबहादुर सुनारलाई जातीय दुव्र्यवहार गर्नुका साथै कुटपिट गरेको विरोधमा सुनारपत्नी राजुले गत बिहीबार प्रहरीमा जाहेरी दिएकी थिइन् । सामान्य अनुसन्धानपछि मात्र जाहेरी दर्ता गर्ने प्रहरीको अडान थियो । प्रहरीले जाहेरी दर्ता नगरेको आरोपको समाचार प्रकाशन भएपछि क्षेत्रीय प्रहरी कार्यालयको आदेशमा प्रहरीले जाहेरी दर्ता गरेको हो । विष्टले १८ फागुनमा बलबहादुरलाई रूख काटेको विषयलाई लिएर कुटपिट गरेका थिए । दुल्लु इलाका प्रहरीले निवेदन बेवास्ता गरेपछि सुनार दम्पती सदरमुकाम आएका हुन् । प्रहरीले आरोपी विष्टको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया