सुपारीको अवैध निर्यात

वीरगन्ज: पर्साको ग्रामीण नाकाबाट स्थानीय व्यापारीले मासिक करोडौं रुपियाँ मूल्य बराबरको सुपारी अवैध रूपमा निर्यात गरिरहेका छन् ।
भारतमा पान मसाला, गुट्खा र सूर्तिजन्य पदार्थ उत्पादनका लागि सुपारीको माग उच्च भएकाले स्थानीय व्यापारीले तेस्रो मुलुकबाट नेपाल आयात गरी भारततर्फ अवैध निकासी गर्ने गरेका छन् । भारतीय बजारमा सुपारीको मूल्य उच्च भएकाले तस्करहरूले नेपालको भूमि प्रयोग गरेर यसको अवैध कारोवार गर्ने गरेका छन् ।
खुल्ला सिमाना भएका कारण हामीलाई भारत निकासी गर्न अप्ठ्यारो परेको छैन, एक व्यवसायीले भने, ‘दश प्रतिशत बोकेको खर्च दिँदा सुपारी सीमावर्ती भारतीय बजारमा पुर्‍याइदिन्छ । त्यसो गर्दा पक्राउ परे आयातकर्ताले बेहोर्नुपर्ने हुन्छ ।’
‘विगतमा प्रहरीले कडाइ गरेपछि यस्ता अवैध कारोवारमा स्थानीय व्यापारीले महिला तथा बालबालिकालाई प्रयोग गरी ग्रामीण नाकाबाट झोला वा बोरामा बोकेर सुपारीको चोरी तस्करी गर्ने गर्थे’ एक कारोबारीले भने, ‘अहिले ट्रयाक्टरबाट नै निर्वाधरूपमा यस्तो कारोवार भइरहेको छ ।’
वीरगन्जबाट ट्रयाक्टरमा लादेर सीमावर्ती नेपाली बजारको बिल काटेर व्यवसायीले दिउँसो सुपारी नाकामा थुपार्ने र राति प्रहरीको मिलोमतोमा नाका कटाइने पर्सा जानकीटोलाका रामेश्वर यादवले बताए । ‘सुपारीको अवैध आयात नियन्त्रण गर्नेतर्फ भने राजस्व गस्ती, प्रहरी प्रशासन र राजस्व अनुसन्धान कार्यालयलगायतका जिम्मेवार निकाय मौन छन्, अवैध आयात नियन्त्रण गर्ने जिम्मेवार निकायकै संरक्षणमा यस्ता अवैध कारोवारले प्रोत्साहन पाएको हो ’ वीरगन्जका एक सुपारी व्यापारीले सौर्यसँग भने, ‘व्यापारीसँग उनीहरूको मिलेमतो भएकाले नै अवैध रूपमा सुपारीको निकासी हुँदै आएको हो ।’
वीरगन्जबाट सुपारी ओसार्ने व्यक्तिले नाकामा जाँच गर्ने जनपद र सशस्त्र प्रहरीलाई प्रति बोरा रु ७५ सम्म बुझाउँछन् । सुपारीका ठूला व्यापारीले भने प्रहरीलाई महिनावारी दिएर कारोवार गर्ने गरेको स्रोतले जनायो । हालैमा मात्र अञ्चल प्रहरी कार्यालय नारायणीबाट सादा पोसाकमा खटिएका प्रहरीले सीमावर्ती नेपाली बजार जानकी टोलाबाट एक ट्रयाक्टर सुपारी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि प्रहरी चौकी जानकीटोलाको जिम्मा लगाएको थियो । तर, जिम्मा लगाएको केही क्षणमै स्थानीयवासीले ती सुपारी लुटेपछि संस्थागत तस्करी भइरहेको पुष्टि भएको हो ।
त्यसलगत्तै प्रहरीले भिस्वा नाकाबाट पनि ५० क्विन्टल सुपारीसहित ना १ त ५६६३ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको घटनाले पनि सुपारीको अवैध व्यापार हुने गरेको पुष्टि गर्दछ । केही महिनायता नेपालबाट सुपारी र काठ तथा भारतबाट मोटरपार्ट्स, कपडा र खाद्यान्नलगायतका वस्तुहरूको अवैध ओसारपसारमा वृद्धि भएको छ । सुपारीको अवैध निकासीमा स्थानीय ठुल्ठूला व्यापारीको संलग्नता रहेको स्रोतको दाबी छ ।
यथार्थ तथ्यांक उपलब्ध नभए पनि बारा र पर्सामा गरी झन्डै वार्षिक रु दुई अर्ब बराबरको सुपारीको कारोवार हुने गरेको सम्वद्ध व्यावसायीहरू बताउँछन् ।

प्रतिक्रिया