खलंगा, खुकुरी र फिरंगी

Bishow-Sigdelउत्तराखण्डको मसुरीमा रहेको एक कलेजको लाइब्रेरी भोको मनले खोतल्दै थिएँ । पुराना ठेलीहरूको बीचमा चेपिएको ‘खलंगा, खुकुरी और फिरंगी’ (१९६२) पाएँ । ‘खलंगा’ र ‘खुकुरी’ शब्दले मलाई तानिहाल्यो । यी न्याना शब्दले मलाई बालककालमा विद्यालयमा पढेको नालापानी किल्लाको कविता याद आयो । पैतालाको रगत शिरसम्म एकैझमटमा पुर्‍याउने त्यो कविता हामी खुब रस लिइलिई वाचन गथ्र्यौं । केबी क्षेत्रीयको ऐतिहासिक उपन्यास ‘खलंगा, खुकुरी और फिरंगी’ एकै बसाईमा पढेपछि आज जाउँला, भोलि जाउँला भन्दै पछि सर्दै गइरहेको बलभद्र कुँवरले वीरता देखाएको नालापानी किल्लाको अवलोकनका लागि साथ दिन समय मिलाउन अनुरोध गर्दै गोर्खा डेमोक्रेटिक फ्रन्टका नगर अध्यक्ष आशु लामालाई फोन गरेँ । उनले सहर्ष स्वीकार गरिन् र भोलिको कार्यक्रम मनभरि लिएर सुतेँ । बिहानको चिसो हावामा हामी स्कुटर लिएर सहस्रधारा रोडतर्फ बढ्दै गयौँ । रिस्पना नदीको तीरमा भारतीय पुरातत्व विभागले संरक्षण गरिराखेको सहिद स्तम्भमा हामी रोकियौँ । विजेताले आफ्नो दिवंगत जनरल र बहादुर शत्रु गोर्खालीका सम्मानमा बनाइदिएको स्तम्भलाई आँखाभरि मैले सजाएँ । जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्मानमा कुँदिएको ताम्रपत्र छातीमा बोकेर साथसाथ उभिएका दुई सेता स्तम्भहरू एक–अर्कासँग बोल्लान् बोल्लान्, हाई हेल्लो गर्लान् गर्लान् जस्तो लाग्यो । ‘वीरले मात्र वीर शत्रुको सम्मान गर्नसक्छ’ आशुले आफ्नो लामो केश अनुहारबाट पन्छाउँदै भनिन् । मैले उनको त्यो मंगोलियन अनुहारमा वीर गोर्खालीको सन्तान हुनुको लालीमा देखेँ ।biso-sigdel-sketch
त्यहाँबाट अगाडि बढेपछि नालापानी चोकबाट हामी बायाँ बढ्यौँ । केही क्षणपछि नालापानी खलंगा प्रवेशद्वार आयो । त्यसपछि स्कुटर सालको जंगलतर्फ उकालो लाग्यो । बिहानको कलिलो घाममा सालका अग्ला रूख परेडका लागि लामवद्ध सिपाहीझैँ देखिएका थिए । ती अग्ला सिपाहीझैँ रूखका छेउछाउका फुच्चाफुच्चा रूख परेड हेर्दा उदेक मानिरहेका बालकझैँ देखिएका थिए । जंगल शान्त थियो । सर्पजस्तै कालोपत्रे सडक चुपचाप सन् १८१४ का दिवंगत वीरहरूका रगतले रंगिएको माटोलाई सुमसुम्याउँदै अगाडि बढिरहेको थियो ।
अचानक स्कुटरको वेग कम गर्दै आशुले भनिन्, ‘यही पोखरीको छेउबाट अंग्रेजले तोप वर्षा गरेका थिए ।’ त्यहाँबाट मैले माथि डाँडामा हेरेँ, जो थाप्लाभरि सालका रूखहरू उभ्याएर हामीलाई हेरिरहेको थियो । केहीअघि बढेपछि बाटोको बायाँपट्टि एक हुल मानिस देखिए । तीमध्ये धेरैको टाउकामा नेपाली ढाकाटोपी सजिएका थिए । आशुले स्कुटर रोकिन् । ती मानिस नोभेम्वर २९ र ३० मा हरेक वर्ष आयोजना गरिने खलंगा मेलाको तयारीका लागि मिटिङ बस्दै थिए ।
‘३० नोभेम्वर १८१४ मा वीर सेनानायक बलभद्र कुँवरले ७०/७५ सैनिकका साथ खलंगा छोडेका थिए । त्यसै दिनको यादमा हामीले यो मेला मनाउन थालेका हौँ ।’, अझै रातापिरा देखिने ११ गोर्खा राइफल्सका पूर्वसैनिक आलेले हामीलाई मेलाको ऐतिहासिकता बताए । ‘इतिहास जोगाउन र छोरानातिलाई आफ्नो इतिहासमा गौरव गर्न सिकाउन केही हदसम्म यो मेलाले मद्दत गर्छ नै,’ परबाट चर्काे आवाजमा भादगाउँले टोपी लगाएका अधवैंशे कराए । म कृतज्ञ भएँ । टाउको हल्लाएर अल्हादित हुनुसिवाय मलाई केही सुझेन ।
बाटोका दुवैपट्टि अग्लाअग्ला धमिराका ढिस्काहरू थिए । तपस्बिझैँ ठडिएका यी ढिस्काहरूभित्र हाम्रा पुर्खाका हाडखोर होलान्, हाम्रा इतिहासका खण्डहर होलान्, यस्तै सोचाइमा म हराएँ । वरिपरिका कालाकाला ढुंगाहरू सेन्ट्रीमा बसेका सीपाहीझैँ हामीलाई चनाखो भई हेर्दै थिएँ । डाँडालाई बायाँ पारेर घुम्दै हामी टुप्पामा पुग्यौँ ।
सालका रूखबीच सानो सम्म चौरजस्तो भागलाई घेरेर सुन्दर स्तम्भ निर्माण गरिएको थियो । तीनकुना भएको स्तम्भको माथि तीनछेउमा तीनवटा चम्चमाउँदा खुकुरीहरू आकाश ताक्दै ठडिएका थिए । २४ अक्टोबर १८१४ मा प्रथमपटक कर्नल माबीले आक्रमण गर्न सुरु गर्दा सायद गोर्खाली सैनिकहरूका बलिया मुठीहरूमा यसैगरी आकाश ताक्दै ठडिएका थिए होलान् चम्चमाउँदा खुकुरीहरू ।
‘जयकाली’ र ‘आयो गोर्खाली’को आवाज घन्काउँदै मुठीभर जवान रहेसम्म पनि अंग्रेजको सात्तो खाएका नेपाली वीर लडाकुको सम्झनामा मैले स्तम्भको प्रदक्षिणा गरेँ । मनभित्र कताकता केके पग्लिएजस्तो लाग्दैथ्यो । बिना पानी मरेका आइमाई, केटाकेटीका लासहरू यताउता छरिएका थिए होलान् । आफ्नो सन्तानजत्तिकै प्यारा सैनिक र आइमाई केटाकेटीको पानीको प्यासले पक्क खुलेको मुख हेर्दै कसरी युद्ध सञ्चालन गरिरहे होलान् बलभद्रले ? बारम्बार यी सोचाइ मनमा आइरहे । केबी क्षेत्रीयको उपन्यास सकिएको एकदिनपछिको यात्रा भएकाले युद्धको विभत्स अन्तिम दृश्य आँखाअगाडि बारम्बार आइरहेको थियो ।
खुकुरी, धनुवाण, भाला, ढुंगा एउटा सानो जिंजल तोप र केही बन्दुकहरूका साथ हिम्मत मनभरि समेटेर लगभग पाँचसय लडाकुहरूले अत्याधुनिक हतियारहरूले सुसज्जित भएको अंग्रेजका ४/५ हजार लडाकुलाई ३५/३६ दिनसम्म रोकेर राख्नु भनेको चानचुने कुरा होइन । त्यसमाथि ३१ अक्टोबरको हमलामा जनरल जिलेस्पी मारिएका थिए । त्यसपछि हतास कर्नल मवीले २५ नोभेम्बरमा मात्रै तेस्रो हमला गर्ने आँट गरे । त्यो पनि दिल्लीबाट अत्याधुनिक तोप र अरू थप सेना आइपुगेपछि । यिनै गौरवगाथालाई मनमा गुन्दै थिएँ । ‘ला…..पश्चिमतिरको रेलिङ त कस्ले भत्काइदिएछ, फलामका डन्डी पनि चोरेर पो लगेछन्,’ दु:ख मान्दै एक्लै बोल्दै थिइन् आशु । ‘मलाई कसैले मेरो घरको आफैँनै रेलिङ उखलेर लगेजस्तो लाग्यो, भारतीय नेपालीहरूले दु:ख गरेर बनाएको चिनो,’ उनी बेथित देखिएकी थिइन् ।
‘अझै उता टायल फुटाएको छ, कस्ताकस्ता मान्छे हुन्छन्’ अब म के भनौँ आशुलाई । संसार नै यस्तै छ । लोभीपापीले नै त भरिएको छ यो पृथ्वी । यस्तो जंगलमा एकान्तमा चोरलाई सजिलो, अन्य बिगार गर्नेलाई पनि सजिलो भइगयो ।
हामीले एकछिन एक अर्काेलाई हेर्‍यौँ । घाम ठीक टाउकामाथि आइपुगेको थियो । ‘यो स्तम्भ बनाउनुअघि यहाँ के थियो ? कुनै खण्डहर थियो ?’ मैले प्रश्न गरेँ ।
‘कहाँ हुनु नि केही थिएन, बस् लिखित इतिहास थियो त्यसैलाई पक्डेर यो स्तम्भ बनाएको ।’
‘के विजेता सभ्यता सबैतिर यस्तै हुन्छ ? खण्डहर पनि उजाड्ने, भग्नावशेष पनि उखेल्ने ?’ म अलिक भावुक हुन पुगेछु ।
सालका रूखका छहारीमा म बसेँ र देहरादुन सहर हेर्न थालेँं । चारैतिर जंगलले घेरिएको देहरादुन आफैँैंमा एक जंगल लाग्थ्यो । देहरादुनपछाडि शिवालिक पर्वतमाला लमतन्न परेर पसारिएको थियो । वरिपरिका डाँडाहरू नेपालका डाँडाकाँडा बिर्साउने थिए ।
‘अब जाउँ क्यारे’, धूलो टक्टक्याउँदै आशु उठिन् । म चुपचाप उठेँ ।
घाममा उस्तैगरि चम्कँदैथिए खुकुरीहरू । मैले यताउति भुइँतिर हेरेँ । आशुका आँखा छली एउटा खस्रो ढुंगा खल्तीमा हालेँ । अहा † यही ढुंगा शत्रुका टाउकामा बज्रिएको थियो होला । म खुसी भएँ एउटा गतिलो चिनो छानेकोमा । (यो भावुकता…भावुकता नै थियो यो ।)
हामी खलंगाबाट तल झर्न थाल्यौँ । मेरा दिमागमा यसका विगत र वर्तमानका किरिङमिरिङ रेखाहरू मिल्दै छुट्टिँदै थिए । अनि मन वर्तमानदेखि अमिलिएर कुनै सुदूर लोकमा भाग्न चाहिरहेको थियो । तर, आँखाअगाडि झल्झली आइरहने खलंगाको स्तम्भले मनलाई तारन्तार सचेत गराइरह्यो । म मनमनै गुन्गुनाउन थालेछु–
…..रातलाई राखेर छेउमा
उसले सुस्ता, कालापनी
अनि नालापानीको पहिलो सूर्यास्त हेर्‍यो

प्रतिक्रिया