विरोधको औचित्य छैन : कोइराला

विराटनगर, २ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको अन्तरिम चुनावी मन्त्रिपरिषद्को विरोध गर्नुको औचित्य नभएको बताएका छन् । लोकतन्त्र बचाउन रेग्मीको नेतृत्वमा चुनावमा जानुको विकल्प मुलुकसँग नभएको कोइरालाको दाबी छ ।

प्रमुख चार दल र मधेसी मोर्चाबीचको सहमतिअनुसार गठन भएको मन्त्रिपरिषद्को नेकपा–माओवादीलगायत २२ दलले विरोध गर्नुको औचित्य नभएको भन्दै उनले ती दलहरूलाई आन्दोलन स्थगित गर्न आग्रह गरे । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति कोइरालाले आन्दोलनरत दलसँग वार्ता गरी सहमति कायम गरिने बताए । कुनै पनि कुराको विरोध गर्नु लोकतन्त्रको मूल्य र मान्यता नै भएको भन्दै कोइरालाले तर वार्ता र सहमतिका माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकारको विरोधभन्दा पनि समर्थन गरेर चाँडो निर्वाचन हुने वातावरण निर्माण गर्न पनि आन्दोलनरत दललाई आग्रह गरे । सभापति कोइरालाले सबै राजनीतिक दललाई निर्वाचनमा आउन आग्रह गर्दै निर्वाचनको वातावरण बनाउनु सरकार र राजनीतिक दलको कर्तव्य भएको धारणा राखे ।

प्रतिक्रिया