पत्नीवियोगको असह्य वेदनामा छु

patni‘संसारमा आज जे देख्छौँ, त्योभोलि हुँदैन र देखिँदैन किनकि यो संसार नाशवान छ’, गीताको यो भनाइसँग बुद्धवाणीले पनि तादात्म्य राख्छ– ‘मृत्यु सत्य हो, जन्मँदै ल्याएको ।’ तर, कति गाह्रो छ यो सत्य स्वीकार गर्न । ईश्वर पनि कति चतुर † एउटा मान्छेलाई अर्कोको मनभित्रको कुरा थाहा पाउन नसक्ने बनाइदियो । सायद, मृत्युसत्य स्वीकार गर्न सहज होस् भनेर होला । मेरो मनमा के चलिरहेको छ अर्कोलाई के थाहा ! गर्न सकिने अनुमान मात्रै हो । यदि मसँग त्यो क्षमता हुँदो हो त मेरी स्नेहलतालाई कति पीडा भएको थियो, आफैँ थाहा पाउने थिएँ । माघको २७ गते बिहान साढे ५ बजे दु:खद खबर आउनुपूर्व नै दौडिएर ऊ भए ठाउँपुग्दो हुँ । तर, ऊ एक्लै भित्रभित्रै खिइरही, पीडामा रन्थनिइरही अनि चिरनिद्रामा गई । मैले केही थाहा पाइनँ । अहिले सम्झिन्छु, नाटकजस्तै यो जीवन ।

prachanda-mallaओहो , कति डरलाग्दो हुन्छ माया । मायाको चरम सीमा, सायद पत्नीसँगको वियोगको यो क्षणमा म अझ तिखो गरी महसुुस गरिरहेको छु । मैले पहिलोपटक ‘लैला–मजनु’ नाटक हेरेको थिएँ । मजनुको शरीरमा खटिरा आउँछ । वैद्यसँग मजनुले भन्छ, ‘वैद्यराज मेरो शरीरभरि लैला–लैला छ । मेरो कणकणमा लैला व्याप्त छ । कुनै यस्तो ठाउँ छैन, जहाँ लैला भेट्नुहुन्न । त्यसैले वैद्यराज छुरा नचलाउनुस् । कतै लैला पनि चिरिइन् भने । मेरो घाउ चिर्दा लैला काटिन्छिन् ।’ ओहो , कति माथि थियो त्यो माया † आज म लैलामजनुको प्रेमिल नाटक आफ्नै वियोगान्त जीवनसँग तुलना गरिरहेको छु ।

सतीदेवीको मृत शरीरसमेत बोकेर भौँतारिइरहे महादेव । हेर्नुस् त कति उच्च छ त्यो माया । हाम्रो पनि प्रेमविवाह थियो । बिहेको ४७ वर्षपछि माघ २७ गते मेरी पत्नीको देहान्त भयो । यो वियोग खेप्न निकै कठिन परिरहेको छ । चुरोटको धूवाँजस्तै यो पीडा पनि आकाशगंगामा कतै विलीन भइदिने भए † (चुरोट तानिरहेका उनका आँखाको चेपबाट आँसु सुसाइरहेको देखिँदै छ ।) तर, मैले स्मृतिका पलहरू जीवन्त बनाउँदै पीडा खेप्नुको विकल्प छैन ।
यो यात्रामा कयौं नाटक लेखेँ, अभिनय अनि निर्देशन गरेँ । अभिनयमा पनि मृत्युको वेदना सहेको छु । तर, त्यो फगत रंगमंचका लागि मात्र थियो । त्यो क्षणिक वेदनासँग अहिलेको वेदना साट्न पाए † मेरी स्नेहलता रंगमंचमा पर्दा खसेसँगै जुरुक्क उठेर भन्ने थिइन्, ‘रंगमंचको अभिनयलाई प्रधानता दिएर चिन्ताले यसरी आफूलाई खोक्रो बनाउने हो त ?’ म यथार्थमा छु अहिले । कति भिन्नता छ यथार्थ र अभिनयमा † यद्यपि जीवन एउटा साक्षात् रंगमंच हो, यसमा हामी वास्तविकताको अभिनय गरिरहेका छौँ ।

म केटाकेटीमा राम्रो गीत गाउँथे । सर्लाहीमा नहर बनाउन सरकारको साइट राखिएको थियो । बुबासँगै उतै थिएँ म पनि । बुबाका हाकिमहरू मलाई पैसा दिएर गाउन लगाउँथे । म लाजले भुतुक्कै हुन्थेँ । त्यतिबेला चलचित्रको खुब सोख थियो । सायद त्यही सोख अन्तत: नाट्यप्रेममा रूपान्तरण भयो । २००९ सादलेखि रंगमंचको संसारमा प्रवेश गरेको हुँ । काठमाडौं आइसकेका थियौँ त्यतिबेला । गाईजात्रा, इन्द्रजात्राका नाटक हेर्न खुब रुचि लाग्थ्यो । तर, मेरो परिवारमा अभिनय गर्ने कोही थिएनन् । दाजुहरू विदेश गएर पढेका । म भने दिनभर नाटक हेर्थें अनि घरको कोठामा ठूलो स्वरले नाटकमा भनेका कुरा दोहोर्‍याएर अभिनय गरिरहन्थेँ । पढ्न मनै लाग्न छोड्यो । स्कुल हिँडेको मान्छे नाटक हेर्न पुग्थेँ । बिहान ७ बजे निस्किएर साँझ आठ बजे घर फर्किन्थेँ ।
नाटकबाट कमाइ गर्ने अवस्था थिएन त्यतिबेला । त्यसैले मेरो चाला बुबालाई चित्त बुझेनछ– ‘नाटक गरेर कसरी परिवार पाल्छस् ? नाटक सिकेर नोकरी पनि पाइँदैन †’ तर, मैले आफ्नो धुन छोड्दै छोडिनँ । टेर्न छोडेपछि बुबाले पनि भन्न छोड्नुभो । एक दिन साहिँला दाजुले भन्नुभो– ‘नौटंकी गर्दै हिँड्छस् ? लौ लुगा फेरेर तयार हो ।’ मेरो ढुकढुकी बढ्यो– ‘लौ दाजुले हेडमास्टरकहाँ पुर्‍याउने भए, आज रामधुलाई भेटिनो भो †’ भनेको मान्नु त परी नै गो, खुरुखुरु दाइको पछि लागेँ । तर, उहाँले हेडमास्टरको घरतिर लैजानुभएन । ज्ञानेश्वर पुर्‍याउनुभयो, बालकृष्ण समको घरमा । उहाँ बरन्डामा बसेर दाह्री काट्दै हुनुहुँदो रहेछ । दाजुले ‘दर्शन–हजुर’ भन्नुभयो ।
‘ओहो † सुरेन्द्रजी, आज कहाँबाट के कामले आइपुग्नु भो त ?’
‘म आज एउटा जन्तु लिएर हजुरकहाँ आएको !’
बालकृष्ण समले यताउता हेर्नुभयो– ‘खोइ देख्दिनँ त कहाँ छ जन्तु !’
मतिर देखाउँदै दाजुले भन्नुभयो– ‘हजुर यही हो जन्तु ।’
सम मज्जाले हाँस्नुभयो । ‘अनि, किन ल्याउनुभएको त उहाँलाई यहाँ ?’
‘यो नौटंकी गर्दै हिँड्छ, पढ्न पनि जाँदैन । नाटक हेरेर अभिनयको नक्कल गर्छ । त्यसैले हजुरको छत्रछायामा ल्याइदिएको ।’
समले भद्र भएर भन्नुभयो– ‘हुन्छ नि त †’ उहाँले मेरो नाम सोध्नुभयो अनि भोलिपल्ट पाँच बजे आउन भन्नुभयो । मैले टाउको हल्लाएँ । उहाँको नाम सुनेको थिएँ, साक्षात्कार यो नै पहिलो थियो ।
भोलिपल्ट गएँ, उहाँले मलाई परिवारसँग परिचय गराइदिनुभयो । मेरो नाटक सिक्ने यात्रा उहाँकै घरबाट सुरु भयो । नियमित जान्थेँ । उहाँको घरमा नाटक सिकाउने ठूलो कोठा थियो । कलाकारहरू समकै घरमा बस्थे । समका छोराछोरी सबैको प्यारो हुन थालेँ म । समले मलाई कहिल्यै ‘तिमी’ सम्बोधन गर्नुभएन । उहाँ पत्नी, छोराछोरी सबैलाई सधैँ ‘तपाईं’ भन्नुहुन्थ्यो । समका बुबा पनि नाटक सिकाउनुहुन्थ्यो । त्यहाँ मैले नाट्यकला, निर्देशन, अभिनय सिक्ने मौका पाएँ ।
समसँगको संगतले मलाई नाट्यक्षेत्रमा अनुशासित बनाउँदै लग्यो । फलस्वरूप २०११ सालमा ‘अमरसिंह’ नाटकमा अभिनय गर्ने मौका पाएँ । उहाँको परिवारमा छोरा, जेठी छोरी, ज्वाइँ सबै अभिनय गर्नुहुन्थ्यो । उहाँकी पत्नी र कान्छी छोरी वेशभूषा र शृंगारको काम गर्नुहुन्थ्यो । मैले ‘अमरसिंह’ मा सिपाहीको भूमिका पाएँ । त्यही दिन प्रचण्डमान मल्लबाट प्रचण्ड मल्लमा परिणत भएँ । समकी पत्नी मन्दाकिनी, सम मलाई चुरोट दिनुहुन्थ्यो । हामीले त्यो नाटक सिहंदरबारको नाचघरमा मंचन गर्‍यौँ । निकै उत्कृष्ट थियो, सिहंदरबार नाचघर । २०२३ साल असोजमा सिंहदरबारमा आगो लाग्दा नाचघर पनि जल्यो ।
‘अमरसिंह’ राष्ट्रभक्तिले ओतप्रोत गहकिलो नाटक थियो । त्यो नाटक मंचनपछि हामीलाई इन्डियाका विभिन्न ठाउँबाट पनि बोलाए । तर, दार्जिलिङ र खर्साङमा मात्रै देखायौँ । त्यसपछि समले नेपाली कलामण्डल गठन गर्नुभयो । समजी त्यतिबेला तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनुहुन्थ्यो । म भने पुरातत्त्व विभागमा अफिसर इन्चार्जको काम गर्थें । त्यो थाहा पाएपछि उहाँले मलाई दुई सय रुपियाँ तलबमा प्रज्ञाप्रतिष्ठान बोलाउनुभयो । नाटक सिकाउने काम दिनुभयो ।

बालकृष्ण समसँग २००९ सालदेखि उहाँको मृत्युपर्यन्त नाट्यकलाबारे सिकिरहेँ । उहाँ आफूले तयारी गरेको नाटकको अभिनय देखाउन पनि मलाई बोलाउनुहुन्थ्यो । मलाई अगाडि राखेर अभिनय गर्न थाल्नुहुन्थ्यो, ठ्याक्कै रंगमंचकै जस्तो । हाउभाउ, फिलिङ सबै आउँथ्यो उहाँको रिहर्सलमा । बीचमा केही बिग्रियो भने मैले ‘हजुर’ भनेपछि उहाँ थाहा पाइहाल्नुहुन्थ्यो, संवाद बिग्रिएछ । ‘लौ कस्तो राम्रो, पकड्नुभयो’ भन्दै एकै छिन सम्झनुहुन्थ्यो अनि फेरि उही फिलिङ्समा अभिनय गरिहाल्नुहुन्थ्यो । मलाई पनि आफ्नो कलाबाट सिक्न प्रेरित गरिरहनुहुन्थ्यो । शैली सभ्य हुन्थ्यो । भन्नुहुन्थ्यो– ‘तपाईं पनि आफ्नो निम्ति ध्यान दिनुस् है ।’
उहाँले नाटक सिकाउँदा कहिल्यै गाली गर्नुभएन । बरु, ‘यसो गर्नपाए कसो होला ?’ भनेर सुझाउनुहुथ्यो । सय बढी नाटकमा खेलेँ । उहाँकै प्रेरणाबाट मैले रंगमंचसम्बन्धी दशवटा पुस्तक प्रकाशन गर्न सकेको हुँ । २०१७ सालमा ‘क्रान्तिकारी कृष्ण’ देखि सुरु भएको निर्देशनयात्रामा २ सय ५० भन्दा बढी नाटक निर्देशन गरिसकेँ । अहिले कोठा सम्मान र कदरपत्रले भरिएको छ । साथमा समजीको तस्बिर छ । मेरा सबै सम्मान नाट्यसम्राट समजीलाई समर्पित गरेको छु ।
एकपटक हृदयचन्द्र सिंह प्रधानको ‘कीर्तिपुरको युद्धमा’ नामक एकांकी नाटक निर्देशन गरेको थिएँ । नाचघरमा सो थियो । समजी टिकट किनेर मेरो नाटक हेर्न आउनुभएछ । उहाँ अग्रपंक्तिमा बसिरहनुभएको रहेछ । म भित्र बसेर कलाकारलाई उत्साहित बनाइरहेको थिएँ । नाटक सकिएपछि दर्शकदीर्घाबाट परर्र ताली बज्यो । समजी मंचमा आउनुभयो । अनि मसँग हात मिलाउँदै भन्नुभयो– ‘प्रचण्डजी, मैलेभन्दा तपाईंले गरेको निर्देशन उत्कृष्ट लाग्यो मलाई ।’ मेरो वाक्य नै फुटेन । हर्षले विभोर हुँदै त्यो पुरस्कारलाई हृदयभित्र सम्हालेर राखेँ । उहाँले हामीसँग तस्बिर पनि लिनुभयो । २०२९ सालको त्यो उत्साह आज पनि ममा उत्तिकै जीवित छ ।

कलाकार नाटकमा धेरैपटक जन्मछ, धेरैपटक मर्छ । आफूभित्र अरू नै कुनै पात्र परिदिन्छ । फरकफरक रूपमा जीवन फेरिरहन्छ । तर, वास्तविक जीवन कति फरक हुन्छ † एक व्यक्ति ‘च्याँहाँ’ आवाजसँगै धर्ती टेक्छ, युवा हुन्छ, प्रौढ हुँदै चिताको अन्तिम यात्रा तय गर्छ । यो जीवनको यथार्थ हो । २०३८ सालमा आदरणीय गुरुको अन्तिम यात्रासँग साक्षात्कृत भएँ म, एक महिनाअघि पत्नीको । प्रिय व्यक्तिका विछोडले दिलाउने असह्य पीडाबीच कल्पन मन लाग्छ– जीवनको यथार्थ पनि रंगमंचजस्तै भइदिए मेरा प्रियहरू एकैछिनको मृत्यु अभिनयपछि फेरि बौरिएर आउने थिए !

प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया