निशा र जीवन वर्षका उत्कृष्ट नायक–नायिका

काठमाडौं : नायक/नायिका जीवन लुइँटेल तथा निशा अधिकारी वर्षको उत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन् । फिल्मीखबर साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसर पारेर बिहीबार राजधानीमा आयोजित कार्यक्रममा यी कलाकारलाई वर्ष अभिनेता र वर्ष अभिनेत्रीको सम्मान ०६९ बाट सम्मानित गरिएको हो ।
nishaचलचित्र पत्रकारिता गरेर मिडियासँग सम्बन्धित व्यक्तिका मतका आधारमा यी कलाकारलाई यो अवार्डबाट सम्मानित गरिएको हो । सर्वेक्षणमा नायक लुइँटेलले ५८ दशमलव १७ प्रतिशत र निशाले ७२ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् । लुइँटेल र निशाले आफूहरू वर्षको सर्वोत्कृष्ट हुन पाउँदा निकै खुसी लागेको बताए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले सम्मानित कलाकारलाई बधाई दिँदै फिल्मीखबर साप्ताहिकले दिँदै आएको यस अवार्डलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।
पत्रिकाका प्रधानसम्पादक शान्तिप्रियले अहिलेको फिल्म क्षेत्रमा फिल्म नचलिरहे पनि निरन्तर आफ्नो प्रकाशनलाई सुचारु राख्न भने निकै चुनौति भएको भए पनि अहिलेसम्मकै फिल्मी पत्रकारिताको इतिहासमा आफू पहिलो भएको बताए । भने प्रकाशनका अध्यक्ष प्रदीपकुमार उदयले पत्रिकालाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने सबैलाई आगामी दिन पनि यस्तै साथको अपेक्षा गर्दै धन्यवाद दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, डिसिएनका अध्यक्ष अशोक शर्मालगायतले पत्रिकाको सफलताका लागि शुभकामना दिए ।
कार्यक्रममा अभिनेता भुवन केसी, गजित विष्ट, मुकेश आचार्य, श्याम अर्याल, अभिनेत्री करिश्मा मानन्धर, विनिता बराल, पूजना स्त्री, दीपाश्री निरौला, सविना कार्की, कविता शर्मा, अशिस्मा नकर्मी, निर्देशक मोहन निरौला, दीपेन्द्र के खनाल, हास्यकलाकार दीपकराज गिरी, निर्मल शर्मा, उत्तम केसी, नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, रोयल्टी संकलन समाजका कार्यबाहक अध्यक्ष सुरेश अधिकारीलगायतका चलचित्रकर्मी एवं रंग पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो ।
सोही अवसरमा चलचित्र चिनारीको पनि शुभमूहुर्त गरिएको थियो । लय संग्रौलाले निर्देशन गर्ने चिनारीमा प्रज्ज्वल गिरी, शैलेश बखती, जानुका बोहरा, प्रविन शाह, विद्या कार्की, उत्तम केसी, श्याम प्रसाईंको मुख्य भूमिकामा अभिनय रहने भएको छ । चलचित्रलाई अभिकिशोर संग्रौलाले निर्माण गर्न लागेका हुन् ।
यस्तै नायक श्रीकृष्ण श्रेष्ठ र गायक तथा संगीतकार शम्भुजित बास्कोटा पनि सम्मानित भएका छन् । कलाकारद्वयलाई बिहीबार राजधानीको अरनि विद्यालयले अभिभावक दिवसका अवसर पारेर सम्मान गरेको हो । श्रेष्ठ र बास्कोटालाई दोसल्ला, फूलको गुच्छा र मायाको चिनोले सम्मानित गरिएको हो ।
कार्यक्रममा श्रेष्ठले सम्मानले आगामी दिनमा कलाकारितामा अगाडि बढ्न आफूलाई प्रेरणा मिलेको बताए । त्यस्तै संगीतकार बास्कोटाले विद्यालय नै कलाकारको उद्गम स्थल भएकाले बिद्यार्थीहरूलाई पढाइको साथसाथै खेलकुद, गीत, संगीत र नृत्यमा जोड दिनुपर्ने बताए ।
त्यस अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीतसंगीत तथा नृत्यप्रस्तुत गरे । (सौस)

प्रतिक्रिया