माथिल्लो तामाकोसीद्वारा प्रभावित क्षेत्रमा चार करोड खर्च

uppar tamakosiदोलखा, १ चैत । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४ करोड ७ लाख ८० हजार खर्च गरिएको छ । आयोजनाले विभिन्न सामाजिक तथा वातावरणीय क्षेत्रमा ६ वर्षमा सो रकम खर्च गरेको हो ।

आयोजनाले सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि आर्थिक वर्ष ०६३ /६४ देखि लगानी गर्न सुरु गरेको हो । सडक निर्माणका क्रममा भएको वातावरणीय क्षती न्यूनीकरण, वृक्षारोपण, वनको क्षतीपूति, बालीनाली र घर टहराको क्षतिपूर्तिसहित शिक्षा, स्वास्थ्यमा समेत आयोजनाले खर्च गरेको छ । आयोजनास्थल भएको गाविस लामाबगरमै सबैभन्दा बढी रकम खर्च गरेको आयोजनाले जनाएको छ । लामाबगरमा २८ कार्यक्रमका लागि ९० लाख २६ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै क्षमता अभिवृद्धि, सचेतना र जिल्लाभर सामाजिक विकास कार्यक्रमका लागि ७२ लाख २७ हजार २ सय खर्च भएको आयोजनाका वातावरण विभाग प्रमुख डा. गणेश न्यौपानेले बताए । गत असार मसान्तसम्ममा आयोजनाले गौरीशंकर गाविसमा १५ योजनाका लागि ३८ लाख २२ हजार, भीमेश्वर नगरपालिकामा ५ योजनाका लागि ३३ लाख ७१ हजार खर्च गरेको छ ।
आयोजनाले भौतिक पूर्वाधार र्निमाणका क्रममा बालीनाली र घरटहराहरूको क्षतिपूर्तिका लागि २६ लाख २९ हजार ७ सय खर्च गरेको छ । आयोजनाले क्षतिपूर्तिको अधिकांश रकम प्रवेश मार्ग निर्माणका क्रममा खर्च गरेको हो । वनको क्षतिपूर्ति, नर्सरी व्यवस्थापन र वृक्षारोपण अन्तर्गतका विकास कार्यक्रमहरूका लागि २२ लाख ५ हजार ८ सय खर्च भएको जनाएको छ । आयोजनाले विद्यालय भवन निर्माण तथा मर्मत स्वास्थ्यचौकी, खानेपानी, सिँचाइ, लघुजलविद्युत आयोजनामा पनि प्रभावित क्षेत्रमा खर्च गरेको छ । गत असार मसान्तसम्म गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी लामाबगर गाविस र सबैभन्दा कम झ्याकु र लापिलाङ गाविसमा खर्च गरेको छ । ती गाविसमा एक–एक योजनाका लागि ५० हजारका दरले खर्च गरेको छ । आयोजना प्रभावित १५ गाविस र भीमेश्वर नगरपालिकामा १ सय १२ योजनाका लागि रकम खर्च गरेको हो ।
आयोजनाले सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरण कायक्रमका लागि कूल ४२ करोड विनियोजन गरेको छ । प्रभावित क्षेत्रमा विद्युुतीकरण, शिक्षा, स्वास्थ्य, वन वातावरण, खानेपानीलगायतका क्षेत्रमा खर्च गर्ने योजना छ । आयोजनाका वातावरण विभाग प्रमुख न्यौपानेले आयोजनाले खर्च गर्ने रकमको उपलब्धि हुने गरी सबै पक्षसग समन्वय गरेर काम गर्ने बताए ।
लाइन काट्दै बक्यौता उठाउदै
दोलखा : नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले लामो समयसम्म बक्यौदा बाँकी रहेपछि ग्राहकका लाइन काट्दै रकम असुली गर्न थालेको छ । ग्राहकलाई लामो समयसम्म बाँकी रहेको बक्यौता भुक्तानीका लागि पटकपटक ताकेता गर्दासमेत बेवास्ता गरेपछि प्राधिकरणले लाइन काटेरै बक्यौदा सुरु गरेको हो । प्राधिकरणले बक्यौता असुलीका लागि लाइनै काट्नेसम्मको निर्देशन दिएपछि दोलखामा पनि यो अभियान सुरु भएको हो । प्राधिकरण दोलखाका प्रमुख गोपालचन्द्र खतिवडाले हालसम्म २७ लाख बक्यौता असुल भइसकेको जानकारी दिए । ‘दोलखाको धेरै जसो बक्यौता उठिसकेको छ’ उनले भने,‘केही ठाउको बक्यौता असुलीका लागि कर्मचारी खटाएका छौँ ।’ प्राधिकरणको लामो समयसम्म बक्यौता राख्ने प्रतिष्ठित व्यक्ति, निजी विद्यालय, सरकारी कार्यालय र सञ्चार गृहसमेत रहेका छन् । तिनीहरूको बक्यौदा असुलीका लागि प्राधिकरणले विद्युत् लाइन नै काट्नु परेको थियो ।
बाँकी बक्यौदा पनि चाँडै असुल हुने उनले विश्वास लिए । बाँकी बक्यौदा ग्रामीण क्षेत्रको रहेको उनले बताए । विद्युत् प्राधिकरण दोलखा शाखा अन्तर्गत दोलखा र रामेछापका ५ गाविसका १८ हजार बढी ग्राहक रहेका छन् । ती गाविसमा मकैबारी, जिरी र किर्ने सव स्टेशनमार्फत विद्युत् वितरण गरेको छ । ग्राहकको सेवाका लागि प्राधिकरणले चरिकोट, खरिढुंगा, मैनापोखरी, जिरी, जफे र किर्नेमा ग्राहक सेवा केन्द्रसमेत राखेको छ । तामाकोसी विद्युत् सहकारी सस्था लिमिटेडले
प्रधिकरणसँग सम्झौता गरी दोलखाको जफे मेलुङ र मालु गाविसका विभिन्न वडाहरूमा वितरण गरिएको विद्युत् लाइन काटेको छ । तामाकोसी विद्युत् सहकारी सस्था लिमिटेडले टिआरइसिले विद्युत् लाइन जोडको सुरुदेखिनै महसुल भुक्तानी नगेरेको र पटकपटक महसुल भुक्तानीको लागि जानकारी गराउँदा पनि बेवास्ता गरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण दोलखा साखाले जनाएको छ ।
श्रोतका अनुसार टिआरइसीले प्राधिकरणलाई १९ लाखभन्दा बढी महसुल भुक्तानी गर्नुपर्नेछ । स्थानीयवासीबाट प्रतियुनिट ८ रुपियाँ लिने टिआरइसीले विद्युत्  प्राधिकरणलाई भने प्रतियुनिट ३ रुपैयाँ ५० पैसादेखि ५ रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था छ ।

प्रतिक्रिया