पेट्रोलियम अभाव चर्कंदै

petrolकाठमाडौं, १ चैत । पर्याप्त तेल आपूर्ती नभएपछि राजधानीमा पेट्रोलियम अभाव चर्कंदै गएको छ । पेट्रोलियम व्यवसायी मजदुरको आन्दोलनपछि भारतीय आयल निगम (आइओसी) ले आपूर्तीमा कटौती गरेपछि अहिले राजधानीका पेट्रोल पम्पमा उपभोक्ताको लाइन बढ्दै गएको छ ।

व्यवसायीले सरकारलाई पटकपटक आफ्ना माग पूरा गर्न आग्रह गर्दा पनि सुनावाई नभएको भन्दै केही दिनअघि आकस्मिक रूपमा मुलुकभरका पेट्रोलपम्प बन्द गरेका थिए । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनको निर्देशनमा मुलुकभरका पम्पले कारोबार बन्द भएको तथा मजदुरको मृत्युले आन्दोलन चर्केपछि सुरु भएको पेट्रोलियम अभाव आइओसीले बक्यौता बढ्दै गएपछि आपूर्तीमा कटौती गर्दा थप जटिल बन्दै गएको हो । राजधानीमा सहज आपूर्ती नभएपछि अधिकांश पम्प बन्द छन् भने केही सरकारी पम्पमा उपभोक्ताको भिड बाक्लिएको छ । घन्टौँसम्म तेलका लागि लाइन बस्नुपरेपछि उपभोक्ता थप हैरानी बेहोर्न बाध्य भएका छन् । नेपाल आयल निगमले आइओसीलाई तिर्न बाँकी रकम बढ्दै गएकाले आपूर्तीमा समस्या आएको हो ।
आपूर्तीमा देखिएको समस्याकै कारण अझै केही दिन उपभोक्ता तेल अभाव बेहोर्न बाध्य हुने देखिएको छ । अहिले नेपाल आयल निगमले पेट्रोलियम आयत गरेवापत आइओसीलाई दुई अर्व रुपियाँ बक्यौता तिर्न बाँकी छ । केही दिन अघि निगमले आइओसीलाई बक्यौता तिर्ने जनाएपछि आपूर्ती सहज भएको जनाए पनि उपभोक्ताले त्यस्तो अनुभूति गर्न पाएका छैनन् ।
निगमले आइओसीको बक्यौता तिर्न सरकारसँग माग गरे पनि सरकारले रकम उपलब्ध गराउन नसक्ने भएपछि निगम थप अन्योलमा परेको जनाइएको छ । विगतमा सरकारको जमानीमा निगमलाई ऋण दिँदै आएका नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतले समेत अहिले ऋण उपलब्ध गराउन नसक्ने जनाउँदै आएका छन् । आवश्यक ऋण नपाए निगमले तेल आपूर्ती गर्न नसक्ने र अभाव अझ चर्कने निगम अधिकारीको भनाइ छ ।
यद्यपि विदेशी बजारमा कच्चा तेलको मूल्यमा भने केही कम भएको निगमले जनाएको छ । यसले आगामी महिना घाटा कम हुने अनुमान छ । अहिले निगमको मासिक नोक्सानी ७३ करोड २८ लाख रुपियाँ छ । तर, व्यवसायीले कमिसन वृद्धिलगायतको माग उठाउँदै आएकाले समस्या बढ्दै गएको स्रोतको दाबी छ ।

प्रतिक्रिया