नरभक्षणको योजना बनाउने पुलिस फन्दामा

Gilberto_valleन्युयोर्क पुलिसका एक अफिसर मान्छेको मासु पकाएर खाने योजना बनाएको अभियोगमा दोषी ठहरिएका छन् । मिडियाहरूले ‘नरभक्षी पुलिस’ को संज्ञा दिएका गिल्बर्टो वेलेले आफ्नी पत्नी र अन्य केही महिलाको हत्या गरी उनीहरूको मासु पकाएर खाने योजना बनाएको खुलासा भएको हो । गत वर्ष पत्नीले दिएको जानकारीका आधारमा एफबीआईले उनलाई पक्राउ गरेको थियो । २८ वर्षीय वेलेलाई जुनमा सजाय सुनाइने र उनलाई आजीवन कारावास हुने अनुमान गरिएको छ ।
यद्यपि वेलेका वकिलले भने उनले इन्टरनेटमा केही अचम्मका वेबसाइट देखेपछि त्यहाँ उल्लिखित केही कुराको नक्कल मात्र गरेको दाबी गरेका छन् । र, यसबारे उच्च अदालतमा अपिल गरिने बताए । आवेदक हासा वेक्समेनले भने वेले इन्टरनेटको फ्यान्टासी दुनियाँबाट वास्तविकतामा पनि त्यस्तै गर्ने मानसिकतामा पुगेको र उनले सिकार गर्ने उद्देश्यले केही महिलासँग सम्पर्क पनि बढाइरहेको दाबी म्यानहटन डिस्ट्रिक्ट कोर्टसमक्ष गरे ।
वेलेले इन्टरनेटमा महिला बहकाउने र बेहोस पार्ने उपायहरू तथा ‘मानव मासु’ बारे सर्च गर्ने गरेको भेटिएको छ। अदालती बहसका क्रममा वेलेकी पूर्वपत्नी २७ वर्षीया क्याथलिन मेगनले पनि उनका विरुद्धमा गवाही दिएकी थिइन् । वेलेले आफूजस्तै सोच राख्ने थुप्रै व्यक्तिलाई आफ्नो योजनाबारे उल्लेख गरेर ल्यापटपमा इमेल तयार पारेको आफूले देखेको क्याथलिनले बताइन् । भनिन्– ‘मेरा हात खुट्टा बाँधेर नाडी काट्ने र मेरो बगिरहेको रगत हेरेर मजा लुट्ने चाहना पनि उनले त्यो योजनामा व्यक्त गरेको देखेकी थिएँ ।’ (एजेन्सी)

प्रतिक्रिया