अनेरास्ववियुबाट निष्कासित विद्यार्थी नेताहरू आन्दोलित

काठमाडौं : एमाले भ्रातृसंगठन अनेरास्ववियुबाट निष्कासित विद्यार्थी नेताहरू आन्दोलित भएका छन् । पार्टीको स्थायी कमिटीले एकतर्फी ढंगबाट अनेरास्ववियुको कमिटी गठन गरेको भन्दै असन्तुष्ट पक्ष आन्दोलित भएका हुन् ।
पार्टीले चुस्त–दुरुस्त बनाउन खोजेको बताए पनि सल्टाउन नसक्दा अनेरास्ववियुमा विवाद बढेको हो । विवाद चुलिँदै गएपछि अनेरास्ववियुका विद्यार्थी नेताहरू दुई गुटमा देखिएका छन् । बुधबार कमिटी पुनर्गठनको माग गर्दै आन्दोलनमा उत्रिएका असन्तुष्ट अधिकांश विद्यार्थी नेता संस्थापन पक्षका छन् । विद्यार्थी इन्चार्ज भानुभक्त ढकालले नेता केपी शर्मा ओली पक्षका अधिकांश विद्यार्थीलाई समेटेर अनेरास्ववियुको २१औँ महाधिवेशन आयोजक कमिटी गठन गरेको असन्तुष्टको आरोप छ । उनीहरूले कमिटीमा आºना पक्षका विद्यार्थीलाई नराखेर एकलौटी गठन गरिएकाले आन्दोलनमा उत्रनुपरेको बताएका छन् । उनीहरूले गठन गरिएको कमिटी सच्याउन माग राख्दै बुधबार बल्खुस्थित पार्टी मुख्यालयमा धर्ना दिएका छन् । पूर्वउपाध्यक्ष नवीना लामा, लक्ष्मण लम्साल, नवराज पौडेल, सुधीर शाह, कोषाध्यक्ष दीपक गौतमलगायत २ सयभन्दा बढी विद्यार्थी नेता धर्नामा बसेका थिए ।
२२ गते पार्टी नेतृत्वलाई कमिटी समावेशी नभई एकतर्फी भएको भन्दै ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको विद्यार्थी नेता राधिका खतिवडाले बताइन् । ‘हामीले कमिटीलाई सच्याउन माग गरेका थियौँ तर हाम्रा कुनै मागको सुनुवाइ भएन,’ खतिवडाले भनिन्, ‘कमिटी पुनर्गठनको माग गर्दै आन्दोलित भएका हौँ ।’ पूर्वाग्रही तरिकाले केही साथीलाई कारबाही गरेको उनको भनाइ थियो ।
एकपक्षीय रूपमा कमिटी गठन गरेर अनेरास्ववियुलाई कमजोर बनाउन खोजेको असन्तुष्ट पक्षको भनाइ छ । पूर्वउपाध्यक्ष लम्सालले विद्यार्थी इन्जार्ज ढकालले अखिलको विवाद साम्य पार्नुभन्दा एकपक्षीय रूपमा कमिटी गठन गरेर झन् संगठनलाई कमजोर बनाएको आरोप लगाए । निर्णय नसच्याएसम्म आन्दोलन नरोकिने उनको भनाइ थियो ।
गत १९ गते स्थायी कमिटीले माधव ढुंगेलको संयोजकत्वमा १ सय ४१ महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । जसमा १ सय १ जना ओली पक्ष र ४० जना संस्थापन पक्षका विद्यार्थी नेता छन् । पार्टीले विद्यार्थी नभएका, कारबाहीमा परेका, विदेश गएका र निष्क्रिय रहेका २ सय १३ जनालाई हटाउँदै महाधिवेशन कमिटी गठन गरेको थियो । पार्टीले कोषाध्यक्ष दीपक गौतम, सचिवालय सदस्य कमल बस्नेतसहित १० जनालाई आºना पक्षकालाई कारबाही गरेको उनीहरूको भनाइ छ ।
नवगठित कमिटीमा पुनर्विचार नगरे असन्तुष्ट पक्षले ७ गतेसम्म धर्ना र त्यसपछि आमरण अनसन बस्ने चेतावनी दिएको छ । अखिलकी पूर्वउपाध्यक्ष लामाले निर्णय विभेदकारी भएको भन्दै सच्याउन माग गर्दै आन्दोलन थालिएको जानकारी गराए ।
संयोजक ढुंगेलले भने छलफलबाट समस्या समाधान गर्नुभन्दा अराजक ढंगबाट ‘केही साथी’ आन्दोलित भएको प्रतिक्रिया दिए । ‘असन्तुष्ट साथीहरूलाई छलफलमा आउनुहोस् भनेर पटकपटक आग्रह गरे,’ ढुंगेलले भने, ‘तर, मानेनन् । अहिले अराजक ढंगबाट आन्दोनल गरेका छन् ।’ उनले आफू केही विद्यार्थी नेतालाई समेट्न तयार रहेको बताए ।
नवगठित कमिटीले स्ववियु चुनाव, विधान सम्मेलन तथा शैक्षिक सम्मेलनका लागि पोखरामा चैतको ७ देखि ९ गतेसम्म केन्द्रीय कमिटीको बैठक डाकेको छ ।
कुमारी मञ्जु कार्की/प्रशिक्षार्थी

प्रतिक्रिया