छिमेकी बनेर लुटपाट गर्ने पक्राउ

भक्तपुर, चैत । मध्यरातमा समस्या पर्‍यो भन्दै छिमेकी बनेर ढोका खोल्न लगाएर लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले मध्यपुर ठिमी–१६ लोकन्थलीस्थित दुई घरबाट १५ लाख रुपियाँ बराबरको धनमाल लुटेका थिए ।

मध्यपुर ठिमी–१६ लोकन्थलीका दीपक बस्नेत र उर्मिला थापाको घरमा डेरा गरी बस्ने रेणु रौनियारको कोठामा लुटपाट भएको हो । लुटपाटमा संग्लन ६ मध्ये तीनलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सिन्धुली हतपते–९ को २१ वर्षीय सुदीप पहाडी, पाल्पा तानसेन–७ का २६ वर्षर्ीय किरण रुचाल र भोजपुर टक्सार–४ का ५८ वर्षीय मदनकुमार श्रेष्ठलाई प्रहरी पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लुटपाटमा संलग्न अन्य तीन अभियुक्त फरार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख दिलीप चौधरीले जानकारी दिए ।
लुटेराले बस्नेतको घरमा २६ फागुनमा राति छिमेकी बनेर ढोका खोल्न लगाएर लुटपाट गरेका थिए । उनीहरूले रौनियारको घरमा २१ फागुनमा राति छतको ढोका फोरेर लुटपाट गरेका थिए । लुटेराले बस्नेतको घर र रेणुको कोठाबाट सुनको सिक्री, औँठी, मंगलसुत्रलगायतका गहना, चाँदीका सिक्का, कलश, आशन, दियोलगायतका सामान लुटेका थिए ।
दुई घरबाट उनीहरूले करिब १५ लाख रुपियाँबराबरको सामान लुटपाट गरेको र तीमध्ये केही सामान बरामद गरिएको प्रहरीले जनाएको छ । लुटेका सामग्री उनीहरूले ठिमी–६ का शंकराज शाक्यको गहना पसलमा बिक्री गरेकोसमेत प्रहरीले बताएको छ । लुटपाटका गहना बिलविना खरिद गरेका शाक्यलाईसमेत नियन्त्रणमा लिइएको चौधरीले बताए ।

लुटेराको आक्रमणबाट चार घाइते

रोल्पा, १ चैत । अवैध हातहतियार संकलन अभियान चलिरहेकै बेला सशस्त्र हतियारधारी समूहले नुवागाउँस्थित ६ घरमा एकैसाथ लुटपाट गरेका छन् । लुटेराको आक्रमणबाट चार सर्वसाधारण घाइते भएका छन् ।
नुवागाउँ–१ धनडाँडामा मंगलबार राति १६ जनाको संख्यामा आएका नकाबधारी सशस्त्र समूहले हतियार देखाएर नगद तथा जिन्सी लुटेका हुन् । उनीहरूले दुईलाख रुपियाँ बराबरको धनमाल लुटेको प्रहरी चौकी नुवागाउँले जनाएको छ ।
लुटपाटका क्रममा लुटेराले आक्रमण गरेर स्थानीय हरिप्रसाद कुँवर, गणेशबहादुर गिरी, पूर्णकली कँुवर र पूर्णबहादुर कँुवरलाई घाइते बनाएका छन् । घाइतेमध्ये हरिप्रसाद, गणेश र पूर्णकलीको अवस्था गम्भीर छ । उनीहरूको इलाका स्वास्थ्य केन्द्र होलेरीमा उपचार भएको छ ।

प्रतिक्रिया