६ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार

भक्तपुर, १ चैत । क्यान्सर अस्पतालले बितेको एक वर्षमा ६ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गरेको छ ।

मुलुककै दोस्रो ठूलो भक्तपुर क्यान्सर अस्पतालले गत साल फागुनदेखि हालसम्म ६ हजार ४ सय २३ नयाँ क्यान्सरका बिरामीको उपचार गरेको जनाएको छ । अस्पतालका निर्देशक डाक्टर सुदीप श्रेष्ठका अनुसार हाल अस्पतालले दैनिक १ सय पचास बिरामीको उपचार गर्दै आएको छ । अस्पतालले प्रत्येक साता पन्ध्र बिरामीको शल्यक्रिया गर्ने गरिएको उनले बताए । अस्पतालले दैनिक ८० सम्म बिरामीले रेडियोथेरापी सेवा प्रदान गर्दै आएको छ । अस्पतालले आर्थिक रूपमा विपन्न असहाय बिरामीलाई सरकारबाट प्रदान सहयोगअनुरूप ५० हजार रुपियाँसम्मको उपचार नि:शुल्क प्रदान गर्छ ।
स्थानीय निकायको र सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयको सिफारिस लिएर आउने ५ सय ४८ जनालाई सुविधा प्रदान गरिएको अस्पतालले बताएको छ । ०५१ मा स्थापना भएको भक्तपुर क्यान्सर अस्पतालले सुरुमा १५ शय्याको क्यान्सर केयर सेन्टरबाट सेवा सुरु गरेको हो ।
हाल ७५ शय्या रहेको अस्पतालले निकट भविष्यमा शय्या विस्तार गरेर एक सय शय्यामा पुर्‍याउने लक्ष्य लिएको छ । अस्पतालले गत बुधबारदेखि बिरामीले हिमाली दृश्य हेरेर उपचार गराउन सकिने सुविधा थालनी गरेकोसमेत डाक्टर सुदीप श्रेष्ठले बताएका छन् । विशेष डिलक्स क्याबिन नामक वार्ड १२ शय्या क्षमताको रहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया