प्रश्नपत्रको त्रुटि सच्चाउन नोटिस बोर्ड

काडमाडौं, ३० फागुन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबारदेखि सञ्चालन हुने एसएलसी परीक्षाको कुनै प्रश्नपत्रमा त्रुटि भए तत्काल सुधार गर्नका लागि ‘नोटिस बोर्ड’ सञ्चालन गर्ने भएको छ । प्रश्नपत्रमा हुने त्रुटिले परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने भएकाले यस वर्षदेखि नोटिस बोर्ड सञ्चालन गरिने भएको हो ।

परीक्षा नियन्त्रक खगराज बरालले धेरै प्रश्नपत्र बनाउँदा हुनसक्ने त्रुटि सच्याउन नोटिस बोर्ड सञ्चालन गर्न थालिएको जानकारी गराए । पनिकाले एसएलसीका लागि अनिवार्य र ऐच्छिक गरी यस वर्ष ८६ विषयको प्रश्नपत्र बनाएको छ । उनले त्रृटि भएका प्रश्नपत्र तत्काल सच्चाउनका लागि बोर्ड सञ्चालन गरिएको बताए ।
‘धेरै प्रश्नपत्र बनाउँदा त्रृटि हुने गर्दछन्,’ उनले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘प्रश्नपत्रको त्रुटिले गर्दा परीक्षा सञ्चालनमा समस्या नआओस् भन्नका लागि नोटिस बोर्डको व्यवस्था गरेका हौँ ।’ नोटिस बोर्डमा प्रश्नपत्रमा भएको त्रुटि सच्याइएको हुन्छ । परीक्षाको प्रत्येक दिन विज्ञको सहभागितामा कार्यालयमा प्रश्नपत्र खोलिने र त्यस्तो त्रुटि भए नोटिस बोर्डमा राखिने उनले जानकारी दिए ।
नोटिस बोर्डमा साढे आठ बजेभित्र सच्चाइएको प्रश्न राखिनेछ । प्रत्येक केन्द्राध्यक्षले कुनै पनि विषयको प्रश्नमा त्रुटि भए नोटिस बोर्डबाट सुनेर जानकारी लिनेछन् । पनिकाले सच्चाएको प्रश्नबारे १६१८०१६६३११४६ नम्बर डायल गरेर केन्द्राध्यक्षले जानकारी पाउनेछन् । बोर्डको सूचना अपलोड गरेर पनि सुन्न सकिने नियन्त्रक बरालले जानकारी गराए । पनिकाले अहिले परीक्षा सञ्चालन अवधिभर नोटिस बोर्डमा बन्द हडताल नगर्न आग्रह गरेको छ ।
शिक्षामन्त्री दीनानाथ शर्माले यस वर्षको परीक्षा मर्यादित बनाउने बताए । विगतमा भएको कमिकमजोरीलाई सच्याउँदै यसवर्ष मर्यादित बनाइने उनको भनाइ छ । मन्त्री शर्माले परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ बमोजिम अमर्यादित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष, निरीक्षक, गार्ड र परीक्षार्थीलाई कारबाही गरिने चेतावनी दिए ।
‘परीक्षामा अमर्यादित गर्ने जो कोही पनि कारबाहीको भागीदार हुन्छ,’ मन्त्री शर्माले भने, ‘आवश्यक परे जस्तोसुकै पनि कदम चाल्नेछौँ ।’ उनले गत वर्ष परीक्षा मर्यादित बनाएकाले थोरै उत्तीर्ण भए पनि तुलनात्मक हिसाबले गुणस्तरीय जनशक्ति उत्पादन हुने भनाइ राखे । ‘यस वर्ष झनै मर्यादित बनाएर गुणस्तरीय दक्ष जनशक्ति उत्पादन गछौँ,’ शर्माले भने ।
बिहीबारदेखि सञ्चालन हुने परीक्षाका क्रममा १४ अञ्चलमा १४ जना सहसचिवले अनुगमन गर्नेछन् । अनुगमनका लागि मन्त्रालयका १४ जना सहसचिवलाई खटाइसकेको मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले जानकारी गराए ।
बिहान आठ बजेदेखि सञ्चालन हुने परीक्षामा पाँच लाख ४७ हजार एक सय ६५ विद्यार्थी सहभागी हुँदै छन् । परीक्षामा नियमित तर्फ चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फ एक लाख १७ हजार ६८ विद्यार्थीका लागि एक हजार सात सय ८६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने भएको छ ।
यस वर्षदेखि दोहोरो रजिस्ट्रेसन भरेका परीक्षार्थीको परीक्षा रद्द हुने पनिकाले जनाएको छ । परीक्षामा तीन सय ४४ जनाले दोहोरो रजिस्ट्रेसन भरेको पाइएको छ । दोहोरो रजिस्ट्रेसन भर्नेहरूको सबै परीक्षा रद्द हुने नियन्त्रक बरालले जानकारी दिए ।

प्रतिक्रिया