सवारी दुर्घटनामा चारको मृत्यु

काठमाडौं, २९ फागुन । कालीकोट जिल्लामा आज विहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दाह–१, बिहानी भत्रे स्थानमा ना.२ त ९८२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मोरङ्ग जिल्ला बयरवन–९ का चालक २४ वर्षीय मिलन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका सहचालक काभ्रे जिल्ला निवासी २१ वर्षीय रवि तिमल्सीनाको पनि घट्नास्थलमै मृत्यु भएको थियो ।
यता, रुपन्देहीमा डाइनेष्टिक सिमेन्ट उद्योगको ट्रिपरबाट हामफाल्दा पाल्पा जिल्ला दोभान–४, श्रीडाँडाका २८ वर्षीय कुलबहादुर चिडिमगरको मृत्यु भएको छ ।
मैनीहवा–१, सेमरास्थित सडकमा लु.१ ख ४२१५ नम्बरको ट्रिपरबाट चुनढुंगा अनलोड गर्ने क्रममा ट्रिपर व्याक हुँदा चालक चिडिमगर हाम फालेका थिए । उनको घट्नास्थलमै मृत्यु भएको थियो ।
उता, नवलपरासीमा रोकीराखेको ट्रकमा ट्याक्सी ठोक्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
गैंडाकोट–४ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा बा.२ ख १९५९ नम्बरको रोकी राखेको ट्रकमा ना.१ ज २२२२ नम्बरको ट्याक्सी आज विहान ठक्कर खाएको थियो । दुर्घटनामा ट्याक्सीका चालक चितवन जिल्ला भरतपुर नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया