खाद्यको चामल बिक्रीमा सहमति

chamal-jajarkotसोलुखुम्बु, २९ फागुन । नेपाल खाद्य संस्थान, लुक्ला शाखाबाट चामल बिक्री गर्ने राजनीतिक दलबीच सहमति भएको छ । राजनीतिक सहमति नजुटेका कारण दुई वर्षदेखि चामल बिक्री वितरण बन्द भएकोमा यो वर्षे दलहरू चामल बाँड्न सहमत भएका हुन् ।

लुक्ला डिपोमा खाद्य संस्थानको कर्मचारी नभएका कारण उपभोक्ता समितिमार्फत् चामल बिक्री गर्ने खाद्य संस्थानको निर्णयअनुसार एमाओवादी र कांग्रेसले समितिको अध्यक्ष दाबी गरेपछि गत आर्थिक वर्षका लागि छुट्याइएको चार सय ५० क्विन्टल चामल ढुवानी हुन सकेको थिएन । दलले कार्यकर्तालाई चामल बाँड्नका लागि झगडा गर्दा चामल नपाएको लुक्ला डिपोबाट चामल पाउने जुभिङ, चौरीखर्क, नाम्चे र खुम्जुङका बासिन्दाले गुनासो गरे । यो वर्ष भने उपभोक्ता समितिमार्फत नभई कर्मचारी नियुक्ति गरेर चामल बाँड्ने गरी चामल ढुवानी गर्न दलहरू सहमत भएका हुन् ।
सदरमुकाममा तीन दिनसम्म चलेको खाद्य व्यवस्था समितिको बैठकले सहमति जुटाएर तत्कालै चामल ढुवानी गर्ने भएको हो । नेपाल खाद्य संस्थान सल्लेरीका प्रमुख गंगाप्रसाद शाहका अनुसार खाद्य व्यवस्था समितिको बैठकमा ठेकेदारले चामल ढुवानी गर्ने र लुक्ला डिपोले चामल बिक्री गर्नेछ । जसका लागि स्थानीय बासिन्दा सम्मिलित अनुगमन समितिले अनुगमन गर्नेछ ।
संस्थानले प्रति केजी ४२ रुपियाँमा चामल उपलब्ध गराइरहेको भए पनि लुक्ला डिपोबाट प्रशासनिक तथा अन्य खर्चका लागि प्रति केजी तीन रुपियाँ थप गरी ४५ रुपियाँमा चामल बिक्री वितरण हुने संस्थानले जनाएको छ । सोताङ डिपोबाटसमेत हाल प्रतिकेजी ४५ रुपियाँमा चामल बिक्री वितरण भइरहेको छ ।
चालु आर्थिक वर्षमा सोताङ डिपोका लागि एक हजार क्विन्टल, सल्लेरी डिपोका लागि एक हजार आठ सय क्विन्टल र लुक्ला डिपोका लागि पाँच सय क्विन्टल चामल छुट्याइएको छ । सोताङ डिपोको चालु आर्थिक वर्षको चामलमध्ये ढुवानी भई ६ सय क्विन्टल चामल बिक्रीसमेत भइसकेको शाखा प्रमुख शाहले जानकारी दिए । तर, सल्लेरी डिपोको चामल भने गत वर्षकै चामल बिक्री हुन सकेको छैन । बजार मूल्यभन्दा खाद्य संस्थानको चामलको मूल्य बढी हुँदा गत वर्षको बाँकी रहेको चामल डिपोमा मौज्दात रहेको छ ।

प्रतिक्रिया