व्यापार मेलाको अवधि एक दिन थपियो

fncci-adकाठमाडौं, २९ फागुन । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा दर्शकको चाप बढेपछि एक दिन समय थप गरिएको छ । दर्शकको अधिक चाप र प्रदर्शकको मागलाई ध्यनामा राखी २९ फागुनसम्म हुने भनेको मेला ३० फागुनसम्म थप गरिएको हो ।

मेला आयोजनास्थलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल उद्योग वाणिज्य महासंघले सो जानकारी दिएको हो । महासंघको ब्रान्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याण ताम्राकारले चौतर्फी मागलाई संवोधन गर्दै मेला एक दिनको लागि थपिएको जानकारी गराए । ताम्राकारले अघिल्लो वर्षभन्दा मेला थप व्यवस्थित भएको र आउँदो वर्षमा यसलाई अझ बढी विशिष्टिकृत गर्दै लैजाने बताए ।
महासंघले अर्को वर्ष मेलामा सहभागी देशको संख्या पनि बढाउन रणनीतिक रूपमै अगाडि बढ्ने बताए । मंगलबार चीनको सिचुवान एक्जिबिसन व्युरोका उपनिर्देशकको नेतृत्वमा पाँच सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डलले मेला अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको ताम्राकारले बताए । उनले अर्को वर्षको मेलामा चीनलाई साझेदार मुलुकका रूपमा ल्याउने बताए ।
आजै प्लास्टिक्स, कस्मेटिक्स, लेदर र गार्मेन्ट उत्पादनका विषयमा विटुवी बैठक पनि सम्पन्न भएको महासंघले जनाएको छ । सो बैठकमा नेपाली र बंगलादेशी व्यवसायीको सहभागिता रहेको थियो ।
यो वर्षको मेलाको आकर्षणमा नेपाली हस्तकलाका सामग्री, प्रदर्शनी टेन्ट, भारत तथा बंगलादेशको स्टल विशेष आकर्षणका रूपमा देखापरेको छ । ती स्टलमा दर्शकको बढी चाप देखिएको छ । सोमबारको विशेष आकर्षणका रूपमा कलाकार मिङ्मा शेर्पा रहेका थिए । नेपालका लागि डेनिस राजदूत मोर्टेन जसपर्सेनले पनि मेलाको अवलोकन गरे । भोलिको आकर्षणमा कलाकार एसकुमार रहने महासंघले जनाएको छ ।
नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, अमेरिकालगायतका देशहरूको सहभागिता रहेको मेलामा चार सयवटा स्टलमार्फत विभिन्न ती देशका उत्पादन तथा सेवाको प्रदर्शनी गरिएको छ । मेलामा लत्ता–कपडा, सूचना–प्रविधि, हस्तकला, छालाजन्य, शिक्षा, स्वास्थ, औषधि, व्यावसायिक कृषि उत्पादनहरूको राखिएका छन् । स्टलमा विशेष गरी नेपाल व्यापार रणनीति २०१० अन्तर्गत पहिचान गरिएका तीन क्षेत्रका १९ वटा वस्तुहरूको प्रवद्र्धनमा जोड दिइएको छ ।
मेलामा दुई लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभर करिब १५ करोडको कारोवार हुने अपेक्षा महासंघको छ । मेलाको साझेदार राष्ट्र छिमेकी देश भारत रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यस मेलालाई आफ्नो वार्षिक क्यालेन्डरका रूपमा विकास गरी लैजान लागेको छ । मेलाको मुख्य प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र रहेका छन् ।

प्रतिक्रिया