कांग्रेस कार्यालयमा अनिश्चितकालीन ताला

उदयपुर, २९ फागुन । नेपाल विद्यार्थी संघ उदयपुरले आफ्नै मातृ पार्टी नेपाली कांग्रेस उदयपुरको कार्यालयमा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । पार्टीका सभापति हिमाल कार्कीको एकल निर्णय हाबी गरी संगठनलाई अधिनायकवादतर्फ लगेको भन्दै संघले कार्यालयका सभापतिलगायत सबै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

पार्टीको जिल्ला नेतृत्वले एकलौटीरूपमा निर्णय गरी विद्यार्थीको हितविपरीत काम गरेको भन्दै सोको विरोधमा तालाबन्दी गरिएको नेविसंघ उदयपुरका अध्यक्ष राजकुमार राउतले बताए । पार्टी सभापतिले आफ्नै घरको कोठामा लुकेर निर्णय गर्दै आएकाले त्यसको विरोधमा कडारूपले प्रस्तुत भएको अध्यक्ष राउतले बताए ।
तालाबन्दीसँगै विद्यार्थीले पार्टी कार्यालयमा नाराबाजी पनि गरेका थिए । पार्टी एकीकरणको क्रममा विवादित नेविसंघलाई मिलाउन नसक्दा पार्टीले यस्तो समस्या झेल्दै आएको छ । यस्तैगरी, २ वर्षअगाडि पार्टीको जिल्ला अधिवेशनको घोषणा सभालगत्तै सभापति एकलौटी तरिकाले लागेको उनीहरूले आरोप लगाएका छन् ।
विज्ञप्तिसमेत जारी गरी विवाद मिलाउने नाममा केन्द्रीय प्रतिनिधिले समेत आफ्नो जिम्मेवारीको दुरुपयोग गरी एकल निर्णयको पक्षमा लागेको आरोप लगाएको छ । विवाद समाधान गर्ने बहानामा पार्टी सभापतिले केन्द्रीय प्रतिनिधि घरमा बोलाएर सर्वसहमत कमिटी गठन भएको निर्णय केन्द्रमा पठाएको नेविसंघका केन्द्रीय सदस्य राकेश खत्रीले बताए । पार्टी सिद्धान्तले चल्छ, केन्द्रीय सदस्य खत्रीले भने सभापतिले बिपीको सिद्धान्तलाई कुल्चिएर अगाडि बढेका छन् ।

प्रतिक्रिया