महिला कला कार्यशाला प्रारम्भ

काठमाडौ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले १०३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर परेर सोमबारबाट ‘महिला कला’ नामक कार्यशाला सुरु गरेको छ ।
आगामी १ चैतसम्म ललितकलाको प्रांगणमा सञ्चालन हुने सो कार्यशालामा देशका विभिन्न स्थानबाट ४० महिला कलाकारले सहभागिता जनाएका छन् । सहभागी कलाकारले आधुनिक, हस्तकला, परम्परागत, मिथिलालगायत कलाका विधामा कार्यस्थलमै विभिन्न सिर्जना गर्नेछन् ।
प्रतिष्ठानका उपकुलपति ठाकुरप्रसाद मैनालीले कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानले देशका विभिन्न स्थानमा रहेका कलाकारलाई व्यावसायिक बनाएर उनीहरूले सिर्जना गरेका कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले बनाएको बताए ।
कार्यक्रममा कलाकार उर्मिला गर्गले स्थानीय स्तरमा महिला समुदायले सिर्जना गर्ने कलाकौशलले महिला सशक्तीकरण तथा राष्ट्रिय आय अभिवृद्धिमा सहयोग पुगेको उल्लेख गरिन् ।
प्रतिष्ठानकी शारदा चित्रकारले नारी दिवसको उपलक्ष्यमा मुलुकका फरकफरक क्षेत्रका छरिएर रहेका महिलालाई एकत्रित गरी उनीहरूलाई कला सिर्जनाको वातावरण बनाउन कार्यशाला चलाएको बताइन् । (सौस)

प्रतिक्रिया