कृष्ण सेन भन्थे पढ्ने गर

Om-Gurungम जेल परेको तीन वर्ष भइसकेको थियो । भद्रगोल जेलमा कैदी जीवन बिताइरहेको थिएँ । २०५३ सालदेखि सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन माओवादीेका नेता–कार्यकर्तालाई पनि हामी बसेकै जेलमा ल्याइन थालेको थियो । एक दिन पुलिसले माओवादी कार्यकर्ता समातेर ल्याए । हामी फौजदारी मुद्दामा जेल परेकालाई जस्तो व्यवहार राजनीतिक बन्दीलाई हुँदैनथ्यो । पुलिसले कुट्दैनथे उनीहरूलाई । बोल्दा सभ्य भाषा प्रयोग गर्थे । प्रहरीले ल्याएका माओवादीमध्ये एक जना निकै भद्र देखिन्थे । सुरुमा मैले उनलाई चिनेको थिइनँ । फेरि त्यतिबेला जेलभित्र दुईदेखि तीन जना बसेर गफ गर्न थालेको थाहा पाए थप यातनासहित गोलघरमा बस्नुपथ्र्यो । सरल स्वभावका भद्र व्यक्तिबारे धेरै थाहा नभए पनि उहाँ माओवादी कार्यकर्ता भएको सुइँको चाहिँ पाएको थिएँ । उहाँलाई ल्याइनुअघि देव गुरुङ ६ महिना त्यही जेलमा बन्दी भएका थिए । राजनीतिमा धेरै चासो नभए पनि माओवादीबारे त्यही बेला थाहा पाएको थिएँ ।

जेलमा ल्याइएका व्यक्तिसँग पुलिसको आँखा छलेर कुराकानी गर्नुपथ्र्यो । उहाँ धेरै बोल्नुहुन्नथ्यो । पछि थाहा भयो– कृष्णसेन इच्छुक रहेछन् । पढिरहने स्वभाव थियो उहाँको । म त्यति बेला भद्र जेलभित्रका कैदीमध्ये सबैभन्दा कम उमेरको थिएँ । चिनजानपछि उहाँले सोध्नुभयो– ‘कसरी परेको जेल ?’ मैले आफूलाई कसैले फसाएर ज्यानमारा मुद्दामा पारिदिएको बताएँ । कसरी फसाए, त्यो पनि भनिदिएँ– ‘सोझा व्यक्तिलाई पनि फसाएर जेल ल्याउने रै’छन् ।’ मेरा कुरा सुनेपछि उहाँले पनि समर्थन जनाउनुभयो ।
‘यो पनि एउटा स्कुल हो । जेलभित्रै पनि तिमीले धेरै कुरा सिक्न सक्छौ । जिन्दगी बुझ्न थुनिएको यो कोठा काफी छ । पढ्ने गर । सानो उमेरमा जेल परेछौ । यहाँ बसेर पढ्यौ भने जिन्दगीका धेरै आयाम बुझ्न सक्छौ,’ उहाँ मलाई सम्झाइरहनुहुन्थ्यो पटकपटक । विस्तारै हामी घनिष्ट हुन थाल्यौँ । उहाँको संगत जति गर्‍यो, उति आनन्द लाग्थ्यो । नेताको जस्तो व्यवहार कहिल्यै देखिनँ कृष्ण सेनमा । मेरा लागि अभिभावकजस्तो व्यवहार गर्नुहुन्थ्यो । धेरै समय पढिरहनुहुन्थ्यो अनि लेखिरहनुहुन्थ्यो । मेरो दु:खका कुरा पनि आफ्नो डायरीमा टिपेर रोख्नुभएको थियो ।
माओवादी विद्रोहबारे पनि कहिलेकाहीँ कुरा हुन्थ्यो । एकलौटी लडाइँले संसारमा परिवर्तन ल्याउन नसकिने उहाँको धारणा हुन्थ्यो, ‘विचार परिवर्तनको अभियानमा लाग्नुपर्छ ।’ म उहाँले भन्नुभएका बौद्धिक शब्दहरूको भेउ पाउँदैनथेँ त्यति बेला । सोधिरहन्थेँ– ‘सर, त्यो भनेकोचाहिँ के हो नि †’ उहाँ सम्झाउनुहुन्थ्यो, ‘तिमी अहिल्यै सबै कुरा यति सजिलै बुझ्न सक्दैनौ, त्यसैले पढ्ने गर ।’ हामी सँगै चिया खान्थ्यौँ । उहाँकी श्रीमती पोखराबाट भेट्न आउँदा मसँग पनि भेट गराउनुहुुन्थ्यो ।
मसँग मात्रै होइन, जेलभित्र सबैसँग उत्तिकै घुलमिल हुनुहुन्थ्यो उहाँ । पुलिस अदालत लैजाने भन्दै रातिराति उहाँलाई लिन आउँथ्यो । तीन–चारपटक त हामीले उहाँलाई राति लैजानै दिएनौँ । भन्यौँ, ‘लैजाने नै भए दिउँसो लैजानु अदालत ।’ दुईपटक अदालतको पुर्जी लिएर उहाँलाई लिएर गए । अदालतले छोड्यो भन्थे तर फेरि सिभिलमा आएका पुलिसले पक्रेर ल्याइहाल्थे । यसरी तीन वर्षसम्म उहाँ हामीसँगै जेलमा रहनुभयो ।
अन्तिमपटक अदालतमा मुुद्दाको फैसला छ भनेर पत्रसहित उनलाई पुलिस लिन आएको मलाई राम्ररी याद छ । बिहान १० बजेतिर जेल लिएर गए । हिँड्ने बेला भन्नुभएको थियो– ‘ल बस है, मलाई छोड्छ/छोड्दैन थाहा छैन । पछि भेटौँला †’ हाम्रो अन्तिम कुराकानी त्यही थियो । पछि थाहा पाएँ, सर्वोच्चले छोड्न आदेश गरेपछि फेरि पक्राउ गरेर हत्या गरेछन् । मलाई उहाँको मृत्युको खबरले साँच्चिकै बिह्वल बनायो । अभिभावकको संरक्षण नपाउँदा जीवनको बाटो मोडिएर जेलमा पुग्नुपरेको थियो । अन्तत: त्यही जेलमा पुगेर पाएको एउटा अभिभावक पनि मबाट गुमेझैँ लाग्यो । उहाँको मृत्युमा धेरै रोएँ । म तेह्र वर्ष जेल बसेर ०६३ सालमा छुटेँ । यसबीच जेलमा अरू पनि थुप्रै मान्छे भेटेँ । तर, उहाँजत्तिको राम्रो मान्छे अरू भेटिनँ । अहिले पनि निकै याद आइरहन्छ उहाँको ।
(वार्तामा आधारित)

प्रतिक्रिया