मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं, २८ फागुन । वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारको परिवारलाई रोजगारदाता कम्पनीले आर्थिक सहयोग गरेको छ । राजधानीको स्काई ओभरसिजबाट सन् २०१० रोजगारीमा गएका दुई कामदारको आफन्तलाई कतारस्थित रोजगारदाता कम्पनी डुल्सकोले ३० लाख रुपियाँ आर्थिक सहयोग गरेको हो ।

कम्पनीका जनरल मेनेजर जोसेफ मेथ्यु र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव विनोद केसीले आइतबार मृतकका श्रीमतीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । अमरदह मोरङका अविन तामाङ र ताप्लेजुङका देवीबहादुर लिम्बूको सन् २०१२ मा कतारमा मृत्यु भएको थियो ।
मृतक कामदारका श्रीमती बेलकुमारी गुरुङ र सविना लिम्बूलाई जनही १५/१५ लाख रुपियाँ आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । सन् २०१० मा रोजगारीका लागि कतार गएका उनीहरू मध्ये तामाङको कुखुराको हाड अड्किएर उपचारका क्रममा र लिम्बूको हृदयघातका कारण मृत्यु भएको कम्पनीका सिनियर एक्जुकेटिभ उधनसिंह तामाङले बताए ।
रकम हस्तान्तरण कार्यक्रममा श्रम सहसचिव विनोद केसीले विदेशमा मृत्यु भएका कामदारका परिवारलाई कम्पनीले दिएको सहयोगले कामदारप्रतिको जिम्मेवारी वोध गराउने बताए । उनले अन्य मेनपावर कम्पनी र रोजगारदाता दुवैले अफ्ठेरोमा परेका तथा रोजगारीका क्रममा विदेशमा मृत्यु हुने कामदारका आफन्तलाई सहयोग गर्न आग्रह समेत गरे । उनले प्रति वर्ष रोजगारीमा जाने क्रम सँगै मर्नेको संख्या पनि बढ्दै
गएको जनाए ।
यस्तै स्काई ओभरसिजका प्रबन्ध निर्देशक तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले विदेशमा रोजगारीको क्रममा कामदारको मृत्यु भएपछि आफन्तको अवस्था थप जटिल हुने भन्दै ती परिवारका लागि राहत स्वरूप सहयोग दिलाइएको जनाए । उनले अन्य सबै रोजगार व्यवसायी र रोजगारदाता कम्पनीले मृतकका आफन्तलाई आर्थिक सहयोग गरे उनीहरूका आफन्तलाई केही राहत मिल्ने विश्वाससमेत व्यक्त गरे ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आव ०६५/६६ देखि चालु आवको माघसम्ममा रोजगारीका लागि गएका दुई हजार ८१ जना कामदारको रोजगारीकै क्रममा विदेशमा मृत्यु भएको छ । रोजगारीका क्रममा मृत्यु हुनेमा दुई हजार ३० जना पुरुष र ५१ महिला कामदार रहेको बोर्डले जनाएको छ ती मृतकका परिवारलाई प्रवद्र्धन बोर्डले २२ करोड ३३ लाख ६४ हजार रुपियाँ राहत वितरण गरेको जनाएको छ ।
विगतमा मृतक कामदारका परिवारलाई १० हजार देखि एक लाखसम्म सहयोग दिने व्यवस्था भए पनि चालु आर्थिक वर्षदेखि एक लाख ५० हजारसम्म दिने व्यवस्था रहेको जनाइएको छ । बोर्डका अनुसार रोजगारीका क्रममा बिदेसिनेको संख्या सँगै मर्ने र क्षतिपूर्ति लिनेको संख्या पनि बढ्दै गएको छ ।
आव ०६५/६६ मा रोजगारीकै क्रममा विदेशमा मृत्यु हुने मध्ये ९० जनाका हववालालाई बोर्डले राहत दिएको थियो भने आव ०६६/६७ मा चार सय १८ जनालाई राहत दिइएको बोर्डले जनाएको छ । यस्तै, आव ०६७/६८ मा यो संख्या पाँच सय ४९ जना र गत आव ०६८/६९ मा ६ सय ४६ जना मृतकका हकवालालाई आर्थिक सहयोग दिइएको छ । यस्तै, चालु आवको माघ मसान्तसम्ममा तीन सय ७८ जना मृतकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिइएको बोर्डले जनाएको छ । रोजगारीकै क्रममा विदेशमा कतिको मृत्यु हुन्छ भन्ने यकिन नभए पनि बोर्डको तथ्यांक अनुसार सबैभन्दा बढी मलेसियामा कार्यरत कामदारको मृत्यु हुने गरेको जनाइएको छ ।
बोर्ड स्थापनादेखि चालु आवको माघसम्ममा मलेसियामा मात्र सात सय तीन जनाको मृत्यु भएको छ । यो मुलुकमा सो अवधीसम्ममा करिब आठ लाख मानिस रोजगारीमा गएका छन् ।
यस्तै, रोजगारीका क्रममा बढी कामदार मर्ने दोस्रो मुलुक साउदी अरब रहेको छ । साउदीमा पाँच सय ७०, कतारमा चार सय ८०, युएइमा एक सय ७०, कुवेतमा ४२, बहराइनमा ३३, ओमनमा १९ दक्षिण कोरियामा २२, लेबनानमा १८, इजरायलमा ६, जापानमा दुई, श्रीलंकामा एक र अन्य मुलुकमा तीन जनाएको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया