व्यवसायीलाई करदाता शिक्षा

बनेपा : काभ्रेमा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योगी, व्यापारी र व्यवसायीलाई करदाता शिक्षा प्रदान गरिएको छ । करदाता सेवा कार्यालय धुलिखेलले बनेपामा करदाता शिक्षासम्बन्धी कार्यशालाको आयोजना गरी व्यापारी तथा व्यवसायीलाई राज्यलाई तिर्नुपर्ने कर तिरेर इमान्दारी देखाउन आग्रह गरेको छ ।
शिक्षा सेवा कर, स्वास्थ्य कर, मूल्यअभिवृद्धि कर, आय कर, वहाल करलगायतका कर तिर्न विभिन्न व्यवसायीलाई अनुरोध गर्दै सो कार्यालयले सक्रिय जनसंख्याको अनुपातमा करदाता संख्या बढाउनु करदाता शिक्षा कायक्रमको लक्ष्य भएको जनाएको छ । करदाता सेवा कार्यालय धुलिखेलका अधिकृत मोहन त्रिपाठीले विकसित मुलुकको तुलनामा करको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै नेपालमा झन्डै ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक भएको एक अध्ययनले देखाएको बताए ।
उनले करमा दर्ता भएका व्यवसायी करिब ३४ लाख भएको उल्लेख गर्दै झन्डै डेढ लाख मात्रै भ्याटमा दर्ता भएको जानकारी दिए ।
अधिकृत त्रिपाठीले नेपालमा आयकरको अवस्था सन्तोषजनक नभएको उल्लेख गर्दै झन्डै ५० देखि ६० प्रतिशत राजस्वको हिस्सा विकास निर्माणमा लगानी भएको बताए ।
लेखापरीक्षक हरिकृष्ण श्रेष्ठले इन्टरनेटमा कर बुझाउने तरिकाबारे जानकारी गराउँदै व्यवसायीलाई कर पाटी राख्न सुझाव दिए । यस्तै, उद्योग तथा व्यवसायीलाई करदाता शिक्षा तथा अन्तरक्रिया र एकीकृत बजार अनुगमनबारे नुवाकोट सदरमुकाम विदुरमा जानकारी दिइएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ लाजिम्पाटको आयोजनामा सञ्चालन भएको कार्यक्रममा सहभागीहरूलाई कर प्रणालीसम्बन्धी जानकारी दिइएको हो । नुवाकोटका उद्योगी, व्यवसायीहरूलाई करदाता सेवा कार्यालय बालाजु काठमाडाँैका कर अधिकृत रामकुमार श्रेष्ठ र अन्तशुल्क अधिकृत गोविन्द आचार्यले प्रशिक्षण दिए ।
कार्यक्रमबाट आन्तरिक कर, व्यावसायिक शिक्षा र बजार अनुगमनबारे उद्योगी व्यापारीलाई करप्रणाली, करसेवा, करको दायराको विषयमा जानकारी दिइएको उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

प्रतिक्रिया