टुँडिखेलमा सैनिक दिवस

Nepal-Armyमहाशिवरात्रिकै दिन पर्ने सेना दिवस आइतबार नेपाली सेनाले भव्यताका साथ मनाएको छ । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा दिवस मनाएको हो ।
सेनाले ०४७ सालदेखि शिवरात्रिको दिन सेना दिवस मनाउन थालेको हो । समारोहमा सेनाले निशान प्रदान कवाज, महाशिवरात्रि बडाइँ कवाज, सैनिक कला, हवाई फर्मसन तथा ब्यान्ड डिस्प्ले प्रदर्शन गरेको थियो । समारोहमा राष्ट्रपति यादवले नेपाली सेना सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिका विमोचन गरेका थिए । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र नारायणकाजी श्रेष्ठलगायत विभिन्न मन्त्री र उच्चाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा स्थापनाको ५० वर्ष पूरा गरेका श्रीनाथ गण, कालीबक्स गण, बर्दबहादुर गण, सबुज गण र पुरानो गोरखनाथ गणका गणपतिलाई कदरपत्र प्रदान गरिएको थियो । समारोहमा प्रधानसेनापति गौरवशमशेर जबराले सेना दिवसका पेसागत प्रतियोगिताका विजेता इन्द्रध्वज गणलाई प्रधानसेनापति ब्यानर प्रदान गरेका थिए ।

प्रतिक्रिया