जताततै प्राकृतिक प्रकोपको जोखिम

Houseकाठमाडौं, २७ फागुन । प्राकृतिक प्रकोपका दृष्टिले नेपाल विश्वमै उच्च जोखिमयुक्त मुलुकको सूचीमा छ । कमजोर भौगोलिक बनोट तथा जटिल भूगर्भीय संरचनाका कारण नेपाल प्रकोपको उच्च जोखिममा परेको हो ।

एक अध्ययनअनुसार दक्षिण एसियामा प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको दर नेपालमा सर्वाधिक छ । नेपालको ६० प्रतिशत भूभाग सधँै प्रकोपको जोखिममा छ । बाढी, पहिरो, भूकम्प, आगलागी, अतिवृष्टि, अनावृष्टिजस्ता प्रकोपका घटनाबाट नेपाल संकटको अवस्थामा छ । १ सय ९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमका दृष्टिले ११ औँ, पानीजन्य प्रकोपको जोखिमका दृष्टिले ३० औँ र जलवायु परिवर्तनको जोखिमका दृष्टिले १४ औँ स्थानमा छ । वातावरण विनाश, जलवायु परिवर्तन, अव्यवस्थित बसोबास, तीव्र सहरीकरण, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको अनुचित दोहन, विपद्सम्बन्धी जनचेतनाको कमीका साथै कमजोर आर्थिक अवस्था जोखिमका कारकका रूपमा रहेको विज्ञहरू बताउँछन् ।
नेपालजस्तो प्रकोपको जोखिमयुक्त मुलुकका लागि विपद् व्यवस्थापन महत्त्वपूर्ण हुने सरोकारवाला बताउँछन् । जोखिम व्यवस्थापन परियोजना सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय संस्था अक्सफामका अनुसार जोखिम न्यूनीकरणतर्फ पर्याप्त ध्यान नजाँदा १० वर्षअघिको तुलनामा काठमाडौँमा भूकम्पीय जोखिम २५ गुणाले बढेको छ ।
दीर्घकालीन प्रकोप व्यवस्थापनका लागि यसलाई नागरिकको आधारभूत मानवअधिकारका रूपमा स्थापित गर्नुपर्ने माग सरोकारवालाले गर्दै आएका छन् । यसका लागि जोखिम न्यूनीकरण र संकटकालीन अवस्थामा पनि नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न कानुनी व्यवस्था जरुरी रहेको उनीहरूको भनाइ छ । सरकारले ०६६ सालमा विपत् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
भूकम्पबाट हुन सक्ने जनधनको क्षतिका दृष्टिले नेपाल बढी जोखिमपूर्ण राष्ट्रमा पर्छ । भूकम्पीय जोखिमको दृष्टिले नेपाल ११ औँ स्थानमा छ । त्यसमा पनि काठमाडौं मानवीय क्षतिका दृष्टिले विश्वमै पहिलो स्थानमा पर्छ । २ माघ १९९० मा गएको भूकम्प अहिलेसम्मकै विनाशकारी भूकम्प मानिन्छ । त्यसबेला करिब ९ हजारको ज्यान गएको थियो भने हजारौँ घर तथा अन्य भौतिक संरचना ध्वस्त भएका थिए । अक्सफाम नेपालको अध्ययनअनुसार सम्पूर्ण भूभाग भूकम्प जाने सम्भावित क्षेत्रमा पर्छ । उत्तरी तथा दक्षिणी भूभागभन्दा मध्यभाग बढी जोखिममा रहेको अध्ययनले देखाएको छ ।
गृह मन्त्रालय र जाइकाले संयुक्त रूपमा केही वर्षअघि गरेको अध्ययनले पनि १९९० मा जस्तो ८.४ रेक्टर स्केलबराबरको भूकम्प गए काठमाडौंमा मात्र ४० हजारको मृत्यु हुने, ९५ हजार घाइते हुने र ६० प्रतिशतभन्दा बढी घर ध्वस्त हुने सम्भावना देखाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको अध्ययनअनुसार काठमाडौंका ९० प्रतिशत भवन भूकम्पप्रतिरोधी छैनन् । त्यस्तै उपत्यकाबाहिरका पनि अधिकांश घर भूकम्प प्रतिरोधी छैनन् । कमजोर भौतिक संरचनाले भूकम्पीय जोखिम बढाइरहेका छन् । भवन निर्माण संहिता पालना हुन नसक्दा भूकम्पीय जोखिम बढ्दै गएको छ ।
कुल विद्यार्थीमध्ये १ लाख ५० हजारमा कुनै न कुनै प्रकारको अपांगता रहेको तथ्यांक छ । यस्ता विद्यार्थी उच्च भूकम्पीय जोखिममा हुन्छन् । शिक्षा विभागका वरिष्ठ इन्जिनियर नारायण खनालका अनुसार एक तिहाइ विद्यालय भूकम्पीय दृष्टिले सुरक्षित छन् । तर, भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष आमोदमणि दीक्षित अधिकांश विद्यालय भवन सामान्य भूकम्प आए पनि थेग्न नसक्ने अवस्थामा रहेको बताउँछन् । सन् २००९ मा चीनमा गएको भूकम्पमा हजारौँ विद्यार्थीले ज्यान गुमाएका थिए भने २००५ मा पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेमध्ये आधाभन्दा बढी संख्या विद्यार्थीको थियो ।

प्रतिक्रिया