“थेग्नै गाह्रो भो विदेशी दबाब”

Indian flagकाठमाडौं, २७ फागुन । चुनावी सरकार गठन गर्ने विषयमा ठूला राजनीतिक दलहरूबीचको वार्ता सार्थक निष्कर्षमा पुग्न नसकिरहेका बेला विदेशी चलखेल झन् बढेर गएको छ । विभिन्न देशका प्रतिनिधिले सहमतिका लागि आग्रह गर्ने बहानामा साना–ठूला सबैजसो दलका नेतासँग भेट गरी प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार गठनमा चर्को दबाब दिँदै आएका छन् ।

चुनावी सरकारको नेतृत्वका लागि प्रधानन्यायाधीश रेग्मीभन्दा अन्य पात्र उपयुक्त हुन नसक्ने भन्दै उनीहरूले नेताहरूसँग बेग्लाबेग्लै भेट गरी दबाब दिँदै आएका हुन् । प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउन दलका नेताहरूलाई दबाब मात्र होइन, आफूहरूले भनेअनुरूप सहमति नभए नेपाललाई दिँदै आएको सम्पूर्ण सहयोग रोक्ने चेतावनीसमेत दिएका छन् ।
प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा चीन, जापान, रुसलगायत मुलुकले खास चासो देखाएका छैनन् । उनीहरूले जुन दल वा व्यक्तिको नेतृत्वमा सरकार बने पनि दलीय सहमतिमा हुनुपर्ने भन्दै आएका छन् । यसअघि सरकार गठनका क्रममा चासो व्यक्त गरेको चीनले यसलाई प्राथमिकतामा नराखे पनि युरोपियन युनियन, अमेरिका, बेलायत, भारतलगायत मुलुकका प्रतिनिधिले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखेका छन् । उनीहरूले प्रधानन्यायाधीशकै विषयमा नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन् ।
कांग्रेसका एक नेताका अनुसार नेपालस्थित सबैजसो कूटनीतिक नियोगका अधिकारीले नेताहरूलाई भेटी प्रधानन्यायाधीश नेतृत्वमा सरकार बनाउने विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन् । ‘विदेशी नियोगका अधिकारीले थेग्नै नसक्नेगरी नेताहरूलाई दबाब दिएका छन्,’ शीर्ष बैठकमा सहभागिता जनाउँदै आएका ती नेताले भने, ‘त्यही दबाब थेग्न नसकेरै एमाओवादीसहित कांग्रेस, एमाले तथा मधेसी मोर्चाका शीर्ष नेताहरू प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन् ।’
आफ्नो एजेन्डाअनुसारै कूटनीतिक नियोगले दलका नेताहरूबीच गरेको भेटलाई एमाओवादीले सकारात्मक रूपमा लिएपछि प्रधानन्यायाधीश नेतृत्वको सरकार बन्न नहुने अडानमा रहेका दल तथा नेताहरूले भने त्यसको विरोध गरेका छन् । नेकपा–माओवादीका नेता देव गुरुङ मुलुकमा विदेशी हस्तक्षेप नांगो रूपमा भएको भन्दै त्यसको विरोध गर्छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि नेपालीले आºनो निर्णय आफैँ गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विदेशीको लहडमा लागेर अन्य नेताले गलत निर्णय गरेकाले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गर्ने निर्णय सच्याउनुपर्ने नेता नेपालको भनाइ छ ।
विश्लेषक सिके लाल विदेशी चलखेल बढेको स्वीकार गर्दै आफू यही सरकारको पक्षमा रहेको बताउँछन् । ‘विदेशी चलखेल जसले निम्त्याएको त्यसैलाई खास कारण सोध्नुपर्छ । म विदेशी चलखेलको पक्षमा छैन,’ उनी भन्छन् ।

दबाब दिएर फर्किए भारतीय नेता

भारतीय दूतावासको भूमिकालाई थप प्रभावकारी बनाउन बिहीबार आएका भारतीय नेताहरू अधिकांश दलका नेताहरूलाई भेटी प्रधानन्यायाधीश नेतृत्वको सरकार गठन गर्ने विषयमा सहमति जुटाउन दबाब दिएर शनिबार फर्किएका छन् । डा. बाबुराम भट्टराईको विकल्पमा प्रधानन्यायाधीशभन्दा उपयुक्त पात्र अरू कोही हुन नसक्ने जिकिर गर्दै उनीहरूले भारतलगायत अन्य मुलुकले नेपालमा प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार गठन भएको हेर्न चाहेको खुलेरै बताएका छन् ।
तीनदिने भ्रमणमा आएका उनीहरूले फर्कनुअघि शनिबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति सुशील कोइराला र प्रधानमन्त्री डा. भट्टराईसँग छुट्टाछुट्टै भेट गरेका थिए । उनीहरूले भेटमा शीर्ष नेतृत्वलाई तत्काल दलीय सहमति गरी चुनावमा जान सुझाव दिएका थिए ।
एमाओवादी अध्यक्ष दाहाललाई भेट गर्न उनकै निवास लाजिम्पाट पुगेका भारतीय नेताहरूको टोलीले दलहरूबीच भइरहेको छलफल र विवादबारे चासो राखेका थिए । जवाफमा दाहालले सहमतिको पहल भइरहेको र केही दिनमा निकास आउने उल्लेख गरेका थिए । ‘चाँडै तपार्इं–हामीले चाहेजस्तै कुरामा सहमति हुन्छ, यसमा तपार्इंहरू ढुक्क हुनुस्,’ दाहालले भनेका थिए । दाहालले यस विषयमा भारतको सकारात्मक भूमिका रहेको भन्दै थप सहयोगको अपेक्षा गरेको बताएका थिए । भारतले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार चाहेको छ । स्रोतका अनुसार प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पनि सबैभन्दा पहिले भारतले नै गरेको थियो ।
चीन होइन, भारत भ्रमण पहिले : दाहाल
भेटमा दाहालले भेटमा भारतको खुलेर प्रशंसा गरेका थिए । उनले चुनावी सरकार बनेलगतै आफू भारत भ्रमणमा आउने वचनसमेत भारतीय नेताहरूलाई दिएका थिए । ‘मलाई चीन भ्रमणको निम्तो आइसकेको छ,’ भारतीय नेताहरूसँगको भेटमा दाहालले भने, ‘तर, त्यसअघि पहिले म भारत भ्रमण गर्छु अनि मात्र चीन जान्छु ।’
भारतसँग कोइराला असन्तुष्ट
कांग्रेस सभापति कोइरालाले भने आफूलाई भेट्न आएका भारतीय नेताहरूसँग लोकतान्त्रिक शक्तिलाई असहयोग गरेको भन्दै घुमाउरो शैलीमा भारतीय नेताहरूप्रति असन्तुष्टि जनाएका थिए । स्रोतका अनुसार भारतीय नेताहरूसँग कोइरालाले खुलेर कुनै कुरा गरेनन् । उनले भारतीय नेताहरूले सोधेका केही प्रश्नको जवाफ मात्र फर्काएका थिए ।
दलका नेताहरूसँग भेट गरी स्वदेश फर्कनुअघि भारतीय नेताहरूले नेपालमा दलहरूबीच राजनीतिक सहमति भएर फेरि संविधानसभाको चुनाव भएको हेर्न चाहेकाले चाँडो सहमति हुनुपर्ने बताएका थिए । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा राजनीतिक दलका नेता वा अन्य कुनै व्यक्तिको नेतृत्वमा सरकार गठन गर्ने निर्णय नेपालका दलहरूले गर्नुपर्ने बताए । ‘नेपालका दलहरूको निर्णयमा हाम्रो समर्थन रहन्छ,’ नेता जोलीले भने, ‘नेपाल एउटा असल छिमेकी भएको नाताले हाम्रो सहयोग रहँदै आएको छ, त्यसैले हाम्रो चाहना भनेको नेपालमा चुनाव भई स्थायित्व कायम होस् भन्ने हो ।’
जनता दल युनाइटेडका महासचिव केसी त्यागीले नेपालमा चाँडै चुनाव गर्न नेपाली जनताले दलहरूलाई दबाब दिनुपर्ने बताएका थिए । नेपालमा जारी शान्तिप्रक्रिया दलहरूले तत्काल निष्कर्षमा पुर्‍याउनुपर्ने उल्लेख गर्दै नेता त्यागीले शान्तिप्रक्रिया पूरा नगरे दलहरू जनताको कोपभाजनको सिकार बन्ने चेतावनीसमेत दिए ।
जोली, त्यागीका साथै सत्तारूढ दल कांग्रेस आईका केन्द्रीय सदस्य प्रकाश चौधरीलगायत नेता काठमाडौं आएका थिए । उनीहरूले राष्ट्रपति डा. रामवरण यादव, एमाले वरिष्ठ नेता नेपाल, नेता केपी शर्मा ओली, कांग्रेस नेता शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताहरूसँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया