कविताको उज्यालो अनुहार

Madhab-sayapatriगरिमा साहित्यिक मासिक पत्रिका नेपाली भाषा–साहित्यको स्तरीय पत्रिका हो । यसका प्रत्येक अंक पठनीय र संग्रहणीय हुन्छन् । यसले समग्र नेपाली साहित्यको प्रतिनिधित्व गरिरहेको छ भन्दा अत्युत्ति हुँदैन । ३१ वर्षको आफ्नो इतिहासमा यसले निकै आरोह–अवरोह पार गरेको छ । स्थापित एवं उदीयमान सर्जकहरूले गरिमालाई आफ्नो रचना प्रकाशनको राम्रो प्लेटफर्म मानेका छन् । गरिमाले विशेषांकहरू पनि प्रकाशन गर्दै आएको छ । प्रत्येक वर्षको नारी अंक पठनीय हुन्छ । सुरुआतदेखि नै गरिमाले आफ्नो स्तर खस्किन त दिएको थिएन तर अविनाश श्रेष्ठ सम्पादक भएपछि तुलनात्मक रूपमा यसको रूपरंग दुवैमा ‘कायाकल्प’ भएको छ । गरिमाको ‘गरिमा’ बढाउने काममा अविनाश श्रेष्ठको टिम सफल भएको मान्नुपर्छ ।

०६९ भदौ र पुस अंकमा गरिमाले पाठकलाई लामा कथाहरूको स्वाद चखायो भने फागुनको अंकमा नेपाली कविताको समकालीन अनुहार देखाइदिएको छ । ‘नेपाली कविताको समकालीन अनुहार: १’ मार्फत् गरिमाले नेपाली कविताको वर्तमान अवस्थालाई छर्लंगै देखाइदिएको छ । पाठकहरू दोस्रो अनुहार पनि छिट्टै देख्न/पढ्न पाइने आशामा छन् । यस अंकमा नेपालवासी र भारतवासी नेपाली भाषीका कविता प्रकाशित छन् । ११२ कवितामध्ये २६ जना नेपाली कविका ८९ कविता परेका छन् भने ६ जना भारतीय कविका २३ कविता प्रकाशित छन् । १ जना कविका बढीमा ५ कविता र घटीमा २ कवितालाई स्थान दिइएको छ । कसैलाई बढी र कसैलाई कम स्थान दिँदा पक्षपात गरिएको हो कि भन्ने पाठकलाई लाग्न सक्छ ।
समकालीन नेपाली कविता–यात्रामा राम्रै स्थान बनाएका कवि अनुहारहरू– विनोदविक्रम केसी, केशव सिलवाल, चन्द्रवीर तुम्वापो, ज्योति जंगल, निभा शाह, निमेष निखिल, पदम गौतम, प्रशन्न घिमिरे, भीष्म उप्रेती, भूपिन, मनु मञ्जिल, महेश रेग्मी, मोमिला, युमा, रमेश क्षितिज, रमेश श्रेष्ठ, विप्लव ढकाल, श्रवण मुकारुङ, सञ्जीव राई, सरस्वती प्रतीक्षा, सरिता तिवारी, साम्ब ढकाल, सीमा आभास, सुदीप पाख्रिन, स्व. स्वप्निल स्मृति, हेमन यात्री नेपाली कविको लिस्टमा परेका छन् भने उदय थुलुङ, केवलचन्द्र लामा, भूपेन्द्र सुब्बा, रेमिका थापा, वासुदेव पुलामी, सञ्जय वान्तवा भारतीय नेपाली कविका कविता छन् । नारीको उपस्थिति भने ३३ प्रतिशत पनि देखिँदैन । ७ जना नारी कवि र २५ जना पुरुष कवि यो अनुहारमा परेका छन् । समकालीन नेपाली कविताका प्रतिनिधि बाँकी कविहरू अर्को अंकमा समेटिएलान् नै । (हुन त सिर्जनामा जाति, क्षेत्र, लिंग, उमेरले कुनै बन्देज लगाउँदैन ।) यत्तिलाई हेर्दा पनि कवितामा महिलाको उपस्थिति राम्रै भएको मान्नुपर्छ । कविमध्ये सबैभन्दा जेठा महेश रेग्मी ४७ वर्षका र कान्छा चन्द्रवीर तुम्वापो २९ वर्षका देखिन्छन् । कतिपयको जन्म साल र मिति उल्लेख गरिएको छैन । लामा र छोटा दुवैखाले कविता समेटिएका छन् ।
अधिकांश कवितामा मायाप्रेम, देशभक्ति, मानवीय संवेदना, सामाजिक विसंगति, विद्रोहचेत, असन्तुष्टि, देशीय एवं अन्तरदेशीय विचलन, मानवमनको उहापोह, मानवीय मूल्यको विघटन, विज्ञानप्रविधि आदि विषयवस्तु आएका छन् । कविता निकै गहकिला छन् । बिम्बपरक कविताकै बाहुल्य छ । कतिपयमा प्रतीक र विम्बको भद्दा प्रयोगले पाठकलाई कविता बुझ्न निकै कठिन हुने देखिन्छ । पत्रिकामा फरक धार, फरक विचार, फरक सिद्धान्तका सबैले स्थान पाएका छन् । कतिपय कविता नाराजस्ता लाग्छन् भने अधिकांश कविता गरिमाले राम्रा छानेको छ । कविता एवं जीवनजगत्लाई हेर्ने कविको दृष्टिकोणलाई एकएक पेज छुट्टयाइएको छ । कविता लेखिरहेका, कविता लेख्न इच्छा राख्ने, कविताका पाठकलाई एउटै पत्रिकामा फरकफरक स्वाद, आयाम र बान्कीका कविता पस्केर गरिमाले गुणग्राही कार्य गरेको छ । समकालीन नेपाली कवितामा मानक कविता भएको हुनाले कविताप्रेमीहरूले संग्रह गर्नैपर्ने अंक भएको छ, गरिमाको ३६३औँ अंक ।
उमेरका हिसाबले हेर्दा नेपाली कविताको प्रतिनिधि स्वरूप युवाकै अनुहारमा प्रतिविम्बित भएको देखिन्छ । तर, यत्रो संख्यामा कवि र कविता समावेश हुँदा छन्दमा लेखिएको एउटा पनि कविता नराखिनुले गरिमाले छन्दको स्वाद बिर्सेको जस्तो लाग्छ । छन्दप्रेमीहरूलाई खल्लो लाग्न सक्छ । यस अंकमा समावेश समकालीन कवितामाथि समालोचक अमर गिरीले गहकिलो विचार राखेका छन् । गिरीले लगभग २५० (गन्दा २४४) जना समकालीन कविहरूको नाम उल्लेख गर्दा कतिपयको नाम दोहोरिएको भेटिन्छ (यसलाई सामान्य प्राविधिक त्रुटि मान्न सकिन्छ) ।

प्रतिक्रिया