बेड नम्बर ५

Jayadev-gautam‘बेड नम्बर पाँचको को हुनुहन्छ ?’ अचानक यो आवाज सुनेर हामी त्यहाँ कुरुवा बसिरहेका तीनजना झसंग भएका थियौँ । हाम्रा वरिपरि कुनै बेन्च थिएन, भएका बेन्चहरूमा पनि अरू बिरामीका कुरुवाहरूले पहिले नै कब्जा जमाइसकेका थिए । हामी कुर्सीमा टेक लगाएर उँघिरहेका थियौँ । शनिबार रात्रिको एघार बज्नलाग्दो प्रहर थियो । अचानक बिहानैदेखि सुरु भएको आकासे झरी थामिएको थिएन । यस्तैमा वीर अस्पतालको नयाँ आइसियु कक्षको प्रवेशद्वार खुलेको थियो र वातावरणमा नारी स्वर गुञ्जेर हामीलाई झसंग पारेको थियो ।
बिरामी –जसका निम्ति हामी कुरुवा बसेका थियौँ– १८ वर्षीय किशोर युगीन थापा थियो, उसलाई त्यहाँ आइसियुको बेड नम्बर पाँचमा कृत्रिम श्वास र अनेकभाँति औषधि दिँदै भेन्टिलेटरमा राखिएको थियो । एकदिन पहिले मात्र दिउँसो अचानक बेहोस भएपछि उसलाई गठ्ठाघरस्थित निवासबाट नागरिक अस्पताल र त्यहाँबाट वीर अस्पताल पुर्‍याइएको थियो । चिकित्सकहरूले भनेका थिए, उसको मस्तिष्कले काम गर्न बन्द गरिसकेको छ तर नाडी र मुटुको चाल भने छ । त्यसो भनेर उसको प्राण फर्काउन उनीहरू अन्तिम प्रयास गर्दै थिए ।
अनायास ‘बेड नम्बर पाँचको कुरुवा’ भनेर सम्बोधित हुँदा आफँैलाई कस्तोकस्तो बोध भयो । निस्सासिएजस्तो अनुभूति भयो । सोचेँ, ‘हरे † कस्तो ठाउँ हो यो, जहाँ मान्छेको आफ्नो परिचय हराउँछ र ऊ फगत नम्बरमा रूपान्तरित हुन पुग्छ ? आखिर युगीन थापा भन्ने पहिचान बोकेको मानिस कसरी ‘बेड नम्बर पाँच’ बन्न सक्छ ? के यो एउटा संसारलाई च्यात्त त्याग गरेर अर्को कुनै अज्ञात लोकतिर पठाउने चिकित्सकीय प्रस्थान बिन्दु थियो र ? आइसियु कक्षभित्र छिरेर बाहिर निस्कने र आइसियु प्रवेशद्वार वरिपरि रुँघिरहेका सबैजना किन यतिविधि धीर–गम्भीर देखिइरहेका, हँ ? किन मान्छेहरू वातावरण नै नरमाइलो र नियास्रो बनाइदिन्छन् ?’
तर्कनाका तरेलीले तारन्तार तनमनलाई तानिरहन्छन् ।
ल्याब परीक्षणका लागि बिरामीको ब्लड स्याम्पल रहेछ र थप केही औषधिको माग रहेछ । हामीले मौन ती सबै काम अन्जाम दियौँ । राति ११ बजेदेखि बिहान ६ बजेसम्म आइसियुको ढोका भित्रैबाट बन्द हुँदोरहेछ । अनि बिरामी कुर्न बसेकाहरू कुर्सी र बेन्च जे भेटियो त्यसैमा बस्ने–सुत्ने हुँदोहरेछ । कोही–कोही भुइँमै पनि ओछ्यान लगाएर सुत्ने गर्दा रहेछन् । अझ यति मात्र कहाँ हो र ? वीरको त्यो आइसियु कक्षबाहिर त भुस्याहा कुकुर पनि बिरामी कुरुवा मान्छेहरूसितै सुत्न आइपुग्दा रहेछन् †
०००
फेरि एकपटक भोलि भयो तर सबै प्रयास खेर गए । आइतबार ३ फागुन मध्याह्नतिर चिकित्सकले बिरामीका पिता राजेन्द्र थापालाई आइसियु कक्षभित्र बोलाए । केही साउती भयो अनि उनीहरूले एउटा प्रमाणपत्रमा हस्ताक्षर गर्दै भने, ‘अब युगीन थापा यो दुनियाँमा रहेन । उसलाई ‘कार्डियाक अरेस्ट’ भएको हो ।’ अर्थात्, बोलीचालीको भाषामा हार्ट–अट्याक । युगीन सम्भवत: अस्पताल पुर्‍याइएकै दिन ‘कहिल्यै फर्केर नआइने दुनियाँ’ तिर प्रस्थान भइसकेको थियो । केवल भेन्टिलेटरले गर्दा मात्र ऊ ‘जीवित जस्तो’ लागेको थियो ।
खरानीमा परिणत हुनुअघि ब्रह्मनालमा पहिलो र अन्तिमपटक सुतेकै बेला युगीनले आँखा दान गर्‍यो । नेपालको एकमात्र आँखा–बैंकको रूपमा रहेको तिलगंगा इन्स्टिच्युट अफ ओप्थालोमोलोजीका प्रतिनिधि आर्यघाटमै आइपुगेका थिए । उनीहरूले उसका दुवै आँखाका ‘कोर्निया’ झिकेर सुरक्षित लगे । आफूले दुनियाँ छिट्टै छाडे पनि युगीनले आँखादान गरेर परमार्थ सेवा गरेर गयो । उसले दान गरेका ‘कोर्निया’ बाट दुईजना नेत्रहीनले फेरि उज्यालो संसार हेन पाउने छन् ।
पिता राजेन्द्रका अनुसार, युगीन मृत्युपश्चात् आफ्नो शरीरका काम लाग्ने सबै भाग चिकित्सा क्षेत्रलाई दान गर्न चाहन्थ्यो । ‘मस्कुलर डिस्ट्रफी’ ले ग्रस्त भए पनि यस्तो महान् भाव बोकेको युगीनको त्यो चाहनालाई सबैले सलाम गर्नै पर्छ ।
०००
युगीन जन्मिँदा सामान्य थियो । अन्य आम शिशुहरूजस्तै । तर, उसले थाहा नपाइकन आफूभित्र त्यही ‘मस्कुलर डिस्ट्रफी’ रोग पनि बोकेर आएको रहेछ, जुन ऊ करिब आठ वर्षको भएपछि मात्र राम्ररी थाहा हुन सक्यो । उसको शरीर र हातगोडा अलि पोटिला देखिन्थे तर सानैमा पनि उसलाई चिसोले छिटै असर गथ्र्यो । त्यसकारण उसलाई चिसोबाट सधैं जोगाउनु पथ्र्यो । पछि, ‘मस्कुलर डिस्ट्रफी’ ले पूर्णरूपमा गाँजिसकेपछि बेलाबखत श्वास–प्रश्वास प्रणालीमा पनि केही असहजपना आएको थियो । यसको अर्थ, यो रोगले समातेकाहरूलाई चिसो र श्वाससम्बन्धी समस्याले कुनै पनि बेला थप सास्ती दिन सक्ने अवस्था सधैँ रहँदो रहेछ ।
केही समय उसले स्कुलमा पढ्यो तर क्रमश: रोगले थला पार्दै लगेपछि ऊ घरमा सीमित हुन पुग्यो । र, पछिल्ला अनेक वर्ष ऊ ह्विलचेअर आश्रित भएरै रह्यो । उसलाई आमा–बुबा, भाइ र आफन्त–परिवारबाहेक एकजना फिजियोथेरापी गुरु गोकुल दाहालले निकै सहयोग गरे । गोकुलले लगातार दस वर्ष उसलाई बिहान एक घन्टा फिजियोथेरापी गराउँदै आएका थिए । तर, सायद ‘मस्कुलर डिस्ट्रफी’ को रोगी हुनुको अर्थ बेग्लै हुँदो हो ।
०००
‘मस्कुलर डिस्ट्रफी’ त्यस्तो रोग हो जसमा मांसपेशीले काम गर्दैन । सुरुमा सामान्य देखिए पनि मांसपेशी क्रमश: कमजोर हुँदै जाने र अन्तत: कामै गर्न नसक्ने हुन्छ । शारीरिक ‘मोबिलिटी’ हराएर जान्छ । यस रोगको कुनै उपचार अहिलेसम्म उपलब्ध हुने सकेको छैन । अमेरिकासमेत विश्वका प्रबुद्ध चिकित्सकहरू यस रोगको उपचार खोज्दै अनुसन्धानमा लागिरहेका छन् । इन्टरनेट र वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार, विश्वव्यापी रूपमा जन्मिने प्रत्येक तीनदेखि साढे तीन हजार पुलिङ्गी शिशुमध्ये एकजनामा यो रोग देखा पर्ने गरेको अनुपात छ । एउटै परिवारका दुई वा तीनजनासम्ममा पनि यो रोग देखा पर्न सक्छ ।
नेपालमा रेकर्डेड केस हेर्दा ‘मस्कुलर डिस्ट्रफी’ रोगीको संख्या पाँचसयभन्दा केही बढी छ । यससम्बन्धमा ललितपुर कोपुन्डोलमा संस्था छ, ‘मस्कुलर डिस्ट्रफी फाउन्डेसन’ । यो संस्थाले पचासभन्दा बढी ‘मस्कुलर डिस्ट्रफी’ रोगीलाई नियमित फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ । सरकारले ‘मस्कुलर डिस्ट्रफी पुनस्र्थापना केन्द्र’ भवन स्थापना गर्न काठमाडौंको इन्द्रायणी गाविसमा जग्गा उपलब्ध गराइसकेको छ र त्यहाँ भवन बनाउने काम सुरु हुने प्रक्रियामा छ ।
भक्तपुरको सुकुलढोकामा पनि हिमालयश्वर कुमार मूलको निजी पहलमा उनकै घरमा आठ–दसजना ‘मस्कुलर डिस्ट्रफी’ रोगी राखेर आफैले हेरचाह गरिरहेका छन् । त्यहाँ उनी नियमित फिजियोथेरापी, शिक्षण गतिविधि र सीमित भ्रमण कार्यक्रम पनि उपलब्ध गराउँछन् ।
‘मस्कुलर डिस्ट्रफी’ रोग पुरुष शिशुलाई मात्र लाग्ने गरेको छ । यद्यपि यो रोगका जीवाणु बोक्ने अथवा क्यारियरको भूमिका निर्वाह गर्ने कामचाहिँ महिलाले गर्छन् । यसको अर्थ, महिलालाई ‘मस्कुलर डिस्ट्रफी’ रोगले नसमाते पनि महिलामार्फत नै यो रोग नयाँ शिशुमा अवतरित हुन्छ । पुस्ता दर पुस्तामा नभए यो रोग पुस्तान्तरमा पनि देखा पर्न सक्छ ।
त्यसो त ‘मस्कुलर डिस्ट्रफी’ समग्रमा चालीसभन्दा बढी प्रकारको हुन्छ तर सबैभन्दा कमनचाहिँ क्रमश: डुचेन र बेकर मस्कुलर डिस्ट्रफीहरू (डिएमडी र बिएमडी) हुन् । डुचेनमा ‘मस्कुलर डिस्ट्रफी’ सानै उमेरदेखि देखा पर्दै जान्छ भने बेकर मस्कुलर डिस्ट्रफीमा २५–३० वर्षको उमेरमा यो देखिन सक्छ । युगीन ‘डुचेन मस्कुलर डिस्ट्रफी’ को रोगी थियो । यो रोगले ग्रस्त भएकाको उमेर १६–२२ वर्ष मात्रको हुन्छ । किशोर वयको अन्तिम प्रहरमा यो रोगले अत्यन्तै डरलाग्दो गरी च्याप्दै लान्छ ।
०००
समयले जीवनका घाउहरू पुर्दै लान्छ । जिन्दगी बाँच्नेक्रममा साथ छुटेकाहरू सम्झनाको कुइनेटोमा बस्न पुग्छन् । शनै:शनै: यादहरू धमिलिँदै जान्छन् र जीवन नयाँ किसिमले गतिवान बन्छ । केही स्मृतिहरू बाँकी रहन्छन्, आफूलाई भुलाउन सघाउने अदृश्य एवं निराकार सहारा बनेर ।
म फेरि युगीनको सम्झनामा ह्दय डुलाउँछु । उसले टाढा कतै बसेर मलाई नै सोधिरहेझैं लाग्छ, ‘फुपाजू, मृत्युलाई मैले कहिल्यै देखिनँ, चिनिनँ पनि । (सायद कसैले देख्दैन र चिन्दैन पनि) । तर, लाग्छ त्यो निकै सुन्दरी हुन्छे होली किनभने जोजसले उसलाई एकपटक मात्रै पनि भेट्छ, उसले जिन्दगी बाँच्नै छाडिदिन्छ…। …म जस्तै…।’

 

प्रतिक्रिया