शनिबार बिहानसम्ममा निकास : खनाल

Jhalanath-Khanal-Tiharविराटनगर, २६ फागुन । एमाले अध्यक्ष झलनाथ खनालले शनिबार बिहानसम्ममा मुलुकले निकास पाउने दाबी गरेका छन् । राजनीतिक दलहरू सहमतिको बिन्दुमा पुगिसकेकाले सहमति कायम हुने दाबी उनले गरेका हुन् ।

मुलुक चुनावी माहोलमा गइसकेको उल्लेख गर्दै उनले यसबाट सर्वसत्तावादीहरू सेलाएको बताए । प्रेस चौतारी नेपालको सातौँ राष्ट्रिय अधिवेशनको शुक्रबार विराटनगरस्थित वीरेन्द्र सभागृहमा उद्घाटनपछि अध्यक्ष खनालले सहमतिको मस्यौदा तयार परिसकेकाले देशले निकास पाउने बताए । ‘देश चुनावमय भइसक्यो, जनताले सुर्ता गर्नु पर्दैन । बाधा अड्काउ फुकाउबारे अन्तिम छलफल भइरहेकाले निकास निस्किने निश्चित छ,’ उनले भने ।
निर्वाचन लोकतन्त्रको अभिन्न अंग भएकाले कुनै दलको नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन गराउनकै लागि अन्तिम र साझा विकल्पका रूपमा प्रधानन्यायाधीशको नेतृत्वलाई स्वीकार गरिएको जानकारी उनले दिए । संविधानसभा विघटनपछि शक्तिपृथकीकरण ध्वस्त भएकाले त्यसलाई सही बाटोमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको खनालले बताए । कानुन व्यवसायीहरूतर्फ इंगित गर्दै खनालले भने, ‘वकिल साबहरू शक्तिपृथकीकरण खल्बलिन्छ भनेर चिन्ता गरिरहनुभएको छ तपाईँहरु त्यसमा ठुक्क रहनुहोस् देश बचाउने जिम्मा हाम्रो पनि हो ।’ संविधानसभा एमाओवादीको कारण अवशान भएको बताउँदै खनालले अब देश र जनताको हित हुने खालको संविधान निर्माण गर्न निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउन आह्वान गरे ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले संविधान नबन्नु र राज्य वैधानिक सरकारविहीन हुनुमा एमाओवादी दोषी रहेको आरोप लगाए । उनले एमाओवादीकै कारण देश डुबेको पनि बताए ।

प्रतिक्रिया