इलामका होटलमा प्रहरी निगरानी

इलाम, २६ फागुन । इलामका होटलमा अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले नियन्त्रणका लागि सक्रियता बढाएको छ । प्रहरीले हालसालै दिउँसै दुई जोडी युवायुवतीलाई आपत्तिजनक अवस्थाबाट पक्राउ गरेपछि यस्ता क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको हो ।

प्रहरीले बिहीबार दिउँसो इलाम सदरमुकामस्थित न्यु पाँचथर होटलबाट भारतीय युवकसहित दुई जोडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो । घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालयमा बिहीबार बसेको होटल एसोसिएसन, आमा समूह, जिल्ला प्रहरी, सामुदायिक प्रहरी, महिला तथा बालबालिका सेल, नगरपालिका कार्यालयका प्रतिनिधिहरूको संयुक्त बैठकले होटलहरूमा प्रहरी सक्रियता बढाउनेलगायतका निर्णय गरेको थियो ।
त्यस्तै, होटल तथा लजमा होटल आचारसंहिता राख्नुपर्ने, ग्राहकको परिचय खुल्ने प्रमाणपत्र वा नागरिकताको प्रतिलिपि प्रमाणस्वरूप राख्नुपर्ने, शंकास्पद व्यक्तिहरू देखिएमा प्रहरीलाई खबर गर्नुपर्ने, सम्भव भएसम्म होटलमा सिसिटिभी जडान गर्नुपर्ने, बेलुका ९ बजेदेखि होटल व्यवसाय बन्द गर्नुपर्नेलगायतका निर्णय गरेको प्रनाउ भीमप्रसाद दाहालले बताए । होटलमा पहिलेदेखि नै आमा समूहले समेत निगरानी गर्दै आएको छ । प्रहरीले सदरमुकामका अन्य होटलमा समेत निगरानी बढाएको छ ।

प्रतिक्रिया