प्रधानमन्त्रीद्वारा प्रतिवाद

baburam-bhattaraiकाठमाडौं, २६ फागुन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमाथि लागेका आरोपहरूको १२ बँुदामा खण्डन गरेका छन् ।

फागुन पहिलो साता सामाजिक सञ्जाल ट्विटरमार्फत आफूले गरेका १२ राम्रा कामको विवरण सार्वजनिक गरेका प्रधानमन्त्री डा. भट्टराईले शुक्रबार आफूमाथि लागेका १२ आरोपको खण्डन गरेका हुन् । आफूले गरेका कामको चौतर्फी आलोचना भएपछि ‘राम्रा काम’को सूची उनले सार्वजनिक गरेका थिए । उनले शुक्रबार भने १२ आरोपको खण्डन गरेका छन् । प्रधानमन्त्री डा. भट्टराईले स्वकीय सचिव विश्वदीप पाण्डेमार्फत १२ बुँदे खण्डन सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीले १२ बुँदे खण्डनमा उनले आफूलाई बद्नाम गराउन विभिन्न ‘कु–प्रचार’ गरिएको भन्दै कडा प्रतिवाद गरेका छन् । आफूले कतै नभनेको तथा गर्दै नगरेको कामको आरोप लगाएर बद्नाम गराउन जर्मनका तत्कालीन राष्ट्रप्रमुख हिटलरका सञ्चारमन्त्री गोयवल्स शैलीमा विभिन्न प्रचार गरिएको खण्डनमा उल्लेख छ ।
आफ्नो भनाइलाई बंग्याएर देश ‘मर्ज’ हुन्छ भनेर प्रचार गरिएको तथा आफूले कहिल्यै नभनेको देशको ‘साँचो अन्तै रहेछ’ भन्ने कपोलकल्पित प्रचार गरिएको उनको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतलाई जिम्मा लगाउन खोजेको भन्ने प्रचारसमेत कपोलकल्पित रहेको खण्डनमा उल्लेख छ । विमानस्थलको स्तरोन्नति र सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई ब्युताउन खोजेको भन्दै कपोलकल्पित प्रचार गरिएको दाबी गर्दै उनले स्तर वृद्धिका लागि कुनै विदेशी कम्पनीको लगानी भित्र्याउनु र एयरपोर्ट नै जिम्मा लगाउनु फरक रहेको तर्क गरिएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन सहमत भए पनि बाबुरामले नमानेको भन्ने प्रचार गलत भएको पनि खण्डनमा जनाइएको छ । यमी फाउन्डेसनलाई सरकारले एक पैसा नदिएको पनि पाण्डेले स्पष्ट पारेका छन् । त्यस्तै, प्रधानमन्त्री पत्नीबाट बालाजुको उद्यान मासिएको आरोपको पनि खण्डन गरिएको छ ।
पाण्डेले प्रधानमन्त्रीले अघि सारेका कुनै पनि योजना कमिसन खानका लागि नभई राष्ट्रिय हितमा ती योजना अघि सारेको उल्लेख गर्दै त्रिशूली ‘ए’मा कमिसन नखाएको, सेनालाई खुसी पार्न हेलिकोप्टर ल्याउने योजना नबनाएको र बाँदरमुढे घटनाका पीडितलाई शान्ति मन्त्रालयबाट ६० लाख छुट्याइसकेको खण्डनपत्रमार्फत जानकारी गराएका छन् । गत जेठमा संविधानसभा बचाउन म्याद थप्न खोज्दा अदालतको अपहेलनाको मुद्दा खेप्नुपरेको उल्लेख गर्दै उनले संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको र धुवाँधार प्रचार गरिएको भन्दै दु:ख पोखेका छन् ।
नातेदारहरूलाई विभिन्न पदमा नियुक्ति गरियो भनेर कुप्रचार गरेको भन्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)मा नियुक्त पाएकी प्रा. तिमिला यमी पाँच वर्षअघि नै केयुकेएलमा भएको र वरिष्ठताका आधारमा साधारणसभा गर्ने प्रयोजनका लागि केयुकेएलले नै उनलाई कार्यवाहक प्रमुख बनाएको उल्लेख गरेका छन् ।
बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख शान्ति मन्त्रालयमार्फत द्वन्द्वपीडितलाई विशेष राहत प्याकेजको कार्यक्रमअन्तर्गत मन्त्रालयको प्रक्रियामा दिइसक्दा पनि नदिएको भन्दै पार्टी र अध्यक्षसँग अन्तरविरोध पार्ने किसिमबाट प्रचार गरिएको उनको जिकिर छ । त्यस्तै, ‘गड्यौला दिन नसकेर केशव स्थापितलाई हटाइयो’ भन्ने प्रचार गरिएको भन्दै भट्टराईले स्थापितले सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्न नसकेका कारण विधिवत् स्पष्टीकरण सोधेर, छानबिन गरेर चित्तबुझ्दो जवाफ नआएपछि प्रक्रियासम्मत ढंगले उनलाई बिदा गरिएको जिकिर गरिएको छ ।
स्वकीय सचिव पाण्डेले जनतामा धेरै भ्रम परेको होला भनेर आफूले फेसबुकमार्फत खण्डन सार्वजनिक गरिएको सौर्यलाई बताए । ‘प्रधानमन्त्रीविरुद्ध धेरै खालका कुप्रचार तथा नकारात्मक टीका–टिप्पणी भएकाले त्यसबारे स्पष्ट पार्न खण्डन सार्वजनिक गरिएको हो,’ पाण्डेले भने ।

के–के रहेछन् खण्डनका विषय ?
दुवै छिमेकी देशको तीव्र आर्थिक विकासको गतिसँग हामीले पनि विकासको गतिको कदम मिलाउन नसक्ने हो भने छिमेकको विकासको बाढीले हाम्रो देशको अर्थतन्त्र ‘सवमर्ज’ हुनसक्छ भन्ने भनाइलाई बंग्याएर देशको नै ‘मर्ज’ हुन्छ भनेर निरन्तर कु–प्रचार गरियो ।
देशको ‘साँचो अन्तै रहेछ’ भन्ने कपोलकल्पित भनाइ आविष्कार गरी प्रधानमन्त्री बाबुराम भट्टराईको देशभक्तिमाथि प्रश्न उठाउन खोजियो । जबकि प्रमले त्यसो भनेको भन्ने आजसम्म कुनै तथ्यप्रमाण कसैले पेस गर्न सकेको छैन ।
त्रिभुवन विमानस्थलको स्तरोन्नति र सुदृढीकरण गर्ने योजनालाई विमानस्थल भारतलाई ब्युँताउन खोजेको भन्दै कपोलकल्पित प्रचार गरियो । स्तरवृद्धिका लागि कुनै विदेशी कम्पनीको लगानी भित्र्याउनु र एयरपोर्ट नै जिम्मा लगाउनु नितान्त फरक कुरा हुन् भन्ने जान्दाजान्दै गोयवल्स शैलीमा तथ्य लुकाउन र भ्रम छर्न खोजियो ।
‘यमी फाउन्डेसनलाई तीन करोड सरकारले दिएको’ भन्दै मित्थ्या प्रचार गरियो । जबकि यमी फाउन्डेसन भन्ने संस्था नै छैन र मन्त्रिपरिषद्ले त्यो नाम गरेको फाउन्डेसनलाई एक पैसा पनि दिएको छैन ।
प्रधानमन्त्रीपत्नीको अगुवाइमा बालाजुको २२ धारा उद्यान मासियो भनियो । जबकि त्यहाँ विधिसम्मत ढंगले र स्थानीय बासिन्दा सबैको सहमतिमा यो सरकार बन्नुभन्दा अघि नै वैकल्पिक बाटो खोलिएको थियो ।
नातेदारहरूलाई विभिन्न पदमा नियुक्ति गरियो भन्ने प्रचार भयो । अँ केयुकेएलमा प्रा. तिमिला यमीलाई नियुक्ति दिएको भन्नै प्रचार भयो जबकि उहाँ ५ वर्षपहिल्यै केयुकेएलमा हुनुहुन्थ्यो र वरिष्ठताका आधारमा साधारणसभा गर्ने प्रयोजनका लागि केयुकेएलले नै उहाँलाई कार्यवाहक प्रमुख बनाएको थियो ।
सहमतिको प्रधानमन्त्रीका लागि सुशील कोइरालालाई प्रचण्डले माने पनि बाबुराम भट्टराईले स्वीकार नगरी सरकार लम्ब्याउन खोजेको भन्ने प्रचार गरियो । जबकि त्यस्तो कुनै सहमति भएको थिएन र त्यो दुष्प्रचारको हावा आफँ फुस्कियो ।
प्रधानमन्त्रीले गत जेठमा संविधानसभा बचाउन म्याद थप्न खोज्दा अदालतको अपहेलनाको मुद्दा खेप्नुपर्‍यो । तर, संविधानसभा बचाउन खोज्नेलाई नै उल्टो संविधानसभा भंग गराएको भन्दै धुवाँधार प्रचार गरियो ।
त्रिशूली–३ ‘ए’ जलविद्युत् योजनाको क्षमता बढाएर कमिसन खान खोजेको भन्दै दुष्प्रचार गरियो तर क्षमता बढाउँदा सस्तो र सुगम बिजुलीमार्फत मुलुकलाई धेरै फाइदा हुने तथ्यलाई लुकाउन खोजियो ।
मन्त्रालयलाई बाइपास गरेर सेनालाई खुसी पार्न हेलिकोप्टर ल्याउन लागेको भन्ने प्रचार गरियो तर हेलिकोप्टर किन्ने समितिमा रक्षा, अर्थ, नागरिक उड्डयन आदि मन्त्रालय रहेको तथ्य लुकाउन खोजियो ।
बाँदरमुढे घटनाका पीडितलाई सरकारले रु. ६० लाख शान्ति मन्त्रालयमार्फत द्वन्द्वपीडितलाई विशेष राहत प्याकेजको कार्यक्रमअन्तर्गत मन्त्रालयको प्रक्रियामा दिइसक्दा पनि नदिएको भन्दै पार्टी र अध्यक्षसँग अन्तरविरोध पार्ने किसिमबाट प्रचार गरियो ।
‘गड्यौला दिन नसकेर केशव स्थापितलाई हटाइयो’ भन्ने प्रचार गरियो । जबकि स्थापितले सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्न नसकेका कारण विधिवत् स्पष्टीकरण सोधेर, छानबिन गरेर चित्तबुझ्दो जवाफ नआएपछि प्रक्रियासम्मत ढंगले उनलाई बिदा गरिएको थियो ।

प्रतिक्रिया