शनिबार विहानसम्म देशले निकास पाउँछ

JN-Khanal-@विराटनगर, २५ फागुन । एमाले अध्यक्ष झलनाथ खनालले मुलुकले भोलि शनिबार विहानसम्ममा निकास पाईसक्ने दाबी गरेका छन् ।
मुख्य चार राजनीतिक शक्ति सहमतिको शीर्ष विन्दुमा पुगिसकेको दाबी गरेको खनालले भोलि विहान सम्ममा देशले नयाँ प्रधानमन्त्री पाईसक्ने दावी गरे । ‘मुलुक चुनावी माहौलमा गई सकेको छ,’ उनले भने, ‘चुनावी माहौलले गर्दा सर्वसत्तावादीहरु सेलाएका छन् ।’ प्रेस चौतारी नेपालको सातौं राष्ट्रिय अधिवेशनलाई आज विराटनगरस्थित वीरेन्द्र सभा गृहमा सम्बोधन गर्दै अध्यक्ष खनालले सहमतिको मस्यौदा तयार परिसकेकाले देशले निकास पाउने बताए ।
‘देश संविधानमय भई सक्यो जनताले सुर्ता गर्न पर्दैन,’ उनले भने, ‘बाधा अड्काउ फुकाउनेबारे अन्तिम छलफल भईरहेकाले निकासको विकल्प छैन ।’
खनालले लोकतन्त्रको अभिन्न अंग निर्वाचन भएकाले कुनै दलको नेतृत्वमा सहमति नजुटे पछि निर्वाचन गराउनकै लागि अन्तिम र साझा विकल्पका रुपमा प्रधानन्यायाधीशलाई स्वीकार गरिएको बताए ।
संविधानसभा विघठन पछि शक्तिपृथकीकरण ध्वस्त भएकाले त्यसलाई सही बाटोमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको उनले बताए ।
कानून व्यवसायीहरुलाई इंगित गर्दै अध्यक्ष खनालले भने, ‘वकिल सा’वहरु शक्तिपृथकीकरण खल्बलिन्छ भनेर चिन्ता गरिरहनु भएको छ त्यसमा धेरै चिन्ता नगर्नुस् देश बचाउने जिम्मा हाम्रो पनि हो ।’
अघिल्लो संविधान सभा एमाओवादीको कारणले अवसान भएको बताउँदै खनालले अब देश र जनताको हित र राम्रो संविधान निर्माण गरिने बताए ।
उनले अबको चुनावमा एमाले पहिलो शक्तिको रुपमा उदाउने दावी गरे ।
महासचिव ईश्वर पोखरेलले संविधान नबन्नु र राज्य बैधानिक सरकारविहिन हुनुमा एमाओवादी दोषी रहेको बताए । उनले एमाओवादीकै कारणा देश समस्यामा परेको आरोप लगाए ।

प्रतिक्रिया