१२ करोड फसेपछि साझालाई पुस्तक नदिने तयारी

काठमाडौं, २५ फागुन । सम्झौताअनुसार ४ करोड भुक्तानी नगरेको भन्दै जनक शिक्षा सामग्री केन्द्रले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बिक्री गर्न साझा प्रकाशनलाई विद्यालयस्तरको पाठ्यपुस्तक नदिने भएको छ । बरु आफँै पुस्तक बेच्ने मनस्थितिमा जनक शिक्षा पुगेको छ ।

जनक शिक्षाका मध्य तथा सुदूरपश्चिम प्रमुख रवीन्द्रकुमार शर्माले साझाले अहिलेसम्म तत्काल भुक्तानी गर्नुपर्ने रकम नदिएकाले पुस्तक नदिने निष्कर्षमा पुगेको बताए । भुक्तानी नगरेसम्म साझालाई पुस्तक नदिन केन्द्रबाट निर्देशन आएको उनले बताए । ‘तत्काल दिने भनेको रकम अहिलेसम्म भुक्तानी गरेको छैन, अब साझालाई के आधारमा नयाँ पुस्तक दिने ?’ शर्माले सौर्यसँग भने ।
साझाले व्यापारीबाट पुस्तकको पैसा लिए पनि जनक शिक्षालाई पूरै भुक्तानी गर्ने गरेको छैन । यस वर्ष कर्णालीको पुस्तकको २ करोड २४ लाख रकममध्ये १ करोड २० लाख मात्रै भुक्तानी गरेको छ । गत वर्षको १ करोड ५१ लाख पनि बाँकी नै छ ।
रकम भुक्तानी नगरेका कारण जनक शिक्षाले फागुन अन्तिम साताबाट वितरण गर्नुपर्ने पुस्तक साझालाई दिने कुनै तयारी गरेको छैन । मध्यपश्चिम क्षेत्रका जिल्लाका लागि २३ लाख २५ हजार थान पुस्तक अहिले जनक शिक्षाको गोदाममा थन्किएका छन् । ‘साझाले रकम भुक्तानी गर्दैन भने पुस्तक दिँदैनौँ, माथिबाट त्यही आदेश छ । बरु एजेन्टमार्फत आफैँ किताब बेच्छौँ,’ शर्माले भने ।
व्यापारीले पनि विरोध गरिरहेकाले अबदेखि साझालाई नदिएर आफँै पुस्तक बेच्ने तयारीमा रहेको क्षेत्रीय प्रमुख शर्माले बताए । ‘डिस्ट्रिब्युटरले पनि बीचमा कमिसन खान मात्र किन साझालाई पुस्तक दिएको भनेर पनि विरोध गरिरहेका छन् । हामी सिधै ट्रक ल्याउँछौँ र पैसा दिएर पुस्तक उठाउँछौ भनेका छन्, अब त्यसै गर्नुपर्छ,’ उनले भने ।
यसअघि पनि रकम भुक्तानी नगरेकै कारण जनक शिक्षाले कर्णाली अञ्चलका लागि साझालाई पुस्तक नदिने तयारी गरेको थियो । त्यतिबेला शिक्षामन्त्री दीनानाथ शर्माको रोहवरमा माघ २३ गतेसम्म साझाले ४ करोड दिने सहमति भएपछि पुस्तक दिएको थियो ।
वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका लागि चैत पहिलो साताबाट वितरण नगरे विद्यार्थीको हातमा समयमा पुस्तक पुग्ने छैन । कर्णाली अञ्चलका जुम्ला र मुगुमा अझै पुस्तक पुग्न सकेको छैन ।
साझाले ४ वर्षदेखिको १२ करोड ४८ लाख ९६ हजार ३५ रुपियाँ जनक शिक्षालाई भुक्तानी दिनुपर्ने छ । जनक शिक्षाका महाप्रबन्धक अनिल झाले साझाको व्यवहारले आफूहरू समस्यामा परेको बताए । अब आफैँ पुस्तक बेच्ने तयारीमा रहेको उनले बताए । ‘साझाले अहिलेसम्म पैसा दिएको छैन, पैसा नपाए हामी पुस्तक दिँदैनौँ,’ उनले भने ।
साझा प्रकाशनका प्रबन्धक रुद्र न्यौपानेले सहमतिअनुसार जनक शिक्षालाई चाँडै भुक्तानी गरिने बताए । जनक शिक्षालाई तिर्न साझाले नेपाल सहकारीबाट ऋण लिने तयारी गरेको स्रोतले जनाएको छ । ‘हामी एक/दुई दिनभित्र रकम तिरेर आगामी शैक्षिक सत्रको पुस्तक उठाउने तयारीमा छौँ,’ न्यौपानेले भने ।

प्रतिक्रिया