आम्मै, कत्रो गितार

Sangeeta-Pradhanमैले आमाबाट संगीत सिकेँ । आमाले वाचन गर्ने गीता, महाभारतका श्लोकले मलाई बाल्यकालदेखि नै संगीतप्रति मोह जगायो । हुन त संगीत प्रत्येक मान्छेको रोमरोममा बसेको हुन्छ । आमाको गर्भबाट पहिलोपटक पृथ्वीमा झरेको शिशुको रुवाइ पनि संगीत हो । हरेक व्यक्ति हाँस्दा–बोल्दा पनि सांगीतिक तरंग उत्पन्न भइरहेका हुन्छन् ।

तर, दृष्ट रूपमा भन्दा गीत, वाद्य र नृत्यको सम्मिश्रण संगीत हो । हामीले जन्मिँदै संगीत लिएर आएका छौँ । हामीभित्रैको ऊर्जा हो संगीत । म आमासँगै ‘गीता’ स्वर हालेर पढ्थेँ । तर, त्यसमा सुरसहितको संगीत थिएन । संगीत शब्दबिना पनि पूर्ण हुन्छ । तर, संगीतबिनाको गीत फगत शब्द मात्र हुन पुग्छ । शब्दले संगीत पाएन भने त्यो अपूर्ण हुन्छ । संगीतमा गणित छ, विज्ञान छ, मनोविज्ञान पनि छ, साहित्य त आधार नै भयो । तब मात्रै सिर्जना हुन्छ ।
यिनै कारण, मेरी आमाले बाल्यकालदेखि नै मलाई संगीतको शास्त्रीय शिक्षा दिने चाहना राख्नुभयो । उहाँ आफूले चाहेर पनि हासिल गर्न नसकेको संगीतको गणितीय सीप ममा विकास भएको देख्न चाहनुुहुन्थ्यो । मलाई संगीत सिकाउने आमाको चाहनाको मुर्त रूप नै आजकी म हुँ ।
आइएसम्मको पढाइ नेपालमै सकाएँ । सन् १९७७ मा स्नातक तहमा संगीत पढ्न विश्वभारत युनिभर्सिटी गएकी थिएँ । त्यतिबेला नेपालमा संगीत पनि व्यावसायिक बन्न सक्छ भन्ने धारणा विकिसत भएको थिएन । छोरीलाई नाच्न/गाउन सिकाए बिग्रन्छन् भन्ने मान्यता थियो । ललितकलामा जन्मजात सीपको अत्यावश्यकीय महत्त्व हुन्छ ।
मैले गाउने क्षमता जन्मँदै ल्याएकी हुँ । त्यो क्षमतालाई थप परिपक्व बनाउनमा चाहिँ आमाको प्रेरणादायी भूमिका महत्त्वपूर्ण रह्यो । मैले रियाज गर्दा आमाले म भएकै ठाउँमा खाना ल्याइदिनुहुन्थ्यो । अझ स्वरलाई चुस्त बनाउन आमाबाट प्रेरणा पाइरहेँ । तर, मेरा काकाहरूचाहिँ ‘छोरीलाई म्युजिक किन पढाउने ? बरु नेपाली, अंग्रेजी पढाए भोलिपर्सि पढाएर त खान्छे’ भन्नुहुन्थ्यो । संगीतमा लाग्नु समयको बर्बादी मात्रै हो भन्ने उहाँहरूको धारणा थियो । परिवारमा मेरो भावना बुझ्ने आमा एक्ली आमा मात्रै हुनुहुन्थ्यो ।
मलाई थप अध्ययनका लागि भारत पठाउने निर्णयचाहिँ आमाबुबा दुवैको थियो । भारतको विश्वभारत युनिभर्सिटीमा बसेर आफ्ना सुरहरूलाई थप परिष्कृत पारेँ । आँपको रुखमुनि बसेर पढ्ने व्यवस्था छ त्यहाँ, गुरुकुल शिक्षाको वातावरण । यसको अर्थ प्रकृतिमुनि बसेर सिक्दा संगीत अझ बढी गहिरिएर मनमस्तिकमा पस्दो रहेछ । मैले जसरी जन्मँदै परिवारमा सांगीतिक वातावरण पाएँ, रविन्द्रनाथ टैगोरले खोलेको विश्वभारत युनिभर्सिटीमा पनि त्यस्तै प्राकृतिक वातावरणले मप्रतिको संगीतमोह अझ झाँगियो । अन्तत: स्नातकोत्तरसम्मको पढाइ संगीतमै पुरा गरें । मैले डिस्टिङसन ल्याएर संगीतमा स्नातकोत्तर सक्दा सबैभन्दा खुसी मेरी आमा हुनुहुन्थ्यो ।
सम्झिन्छु, २०४७ सालतिर नेपालमा रेडियो नेपालको राम्रो प्रभाव थियो । रेडियो नेपालमा गीत गाउनु निकै ठूलो मानिन्थ्यो । संगीतमा स्नातकोत्तर सकेपछि नेपाल आएँ । लगत्तै रेडियो नेपालमा नातीकाजी दाइको संगीतमा ‘आँगनमा आज मेरा’ बोलको गीत गाउने मौका पाएको थिएँ । आमाले आफन्त सबैलाई मेरा छोरीको गीत आउँछ भन्दै खबर गर्नुभएको थियो । मलाई भने लाज लागिरहेको थियो । आज आमाबुबा दुवै जना हुनुहुन्न । सम्झिरहेकी छु– आमा मलाई कति उत्साह दिनुहुन्थ्यो †
०००
संगीतमा धेरै विधा हुन्छन् । मेरो विधा ‘शास्त्रीय’ हो । शास्त्रीय संगीतले मानिसलाई अनुशासित बनाउँछ । शास्त्रीय संगीत सिक्ने मान्छे भगवान्प्रति पनि आस्थावान हुन्छन् । असल चरित्र निर्माण गर्ने संस्कार पनि पाइन्छ शास्त्रीय संगीतबाट । जतिबेला अभ्यास गरिरहेका हुन्छौँ, पूर्ण रूपमा भगवान्मा समर्पित भएको अनुभूति हुन्छ । त्यसैले एउटा मानवलाई पूर्ण मानव बनाउन सांगीतिक ज्ञान र अनुभूति अत्यावश्यक छ ।
अहिले संगीतलाई साधना बनाउने मेहिनेती कलाकार कम हुँदै गएका छन् । अझ शास्त्रीय संगीत त मन्दिरको प्रांगणमा मात्रै सिमित हुन थालेको छ । शास्त्रीय संगीतको जगेर्ना गर्ने वाद्ययन्त्रसमेत मान्छेले भूलिसके । अहिलेका गितार, ड्रमले शास्त्रीय संगीतका वाद्यसामग्रीलाई विस्थापित गर्ने अवस्था आइसकेको छ । अहिलेको पिढीले बिहान टिभीमा हेर्दा गितार मात्रै देख्छ । केही समयअघि मात्रै तानपुरा बोकेर म एउटा कार्यक्रममा जाँदै थिएँ । एउटा भाइले ‘आम्मा कति ठूलो गितार π’ भन्यो । त्यतिबेला मलाई हाम्रो प्राचीन संस्कृति हराइरहेको महसुस हुँदै दियो, मन दुखिरहेको थियो । लाग्दै थियो– तानपुरासँगै म पनि हराउँदै छु ।
०००
आश्चर्य लाग्न सक्छ, शास्त्रीय संगीतमा स्नातकोत्तर गरेको २२ भइसक्दा पनि मैले अहिलेसम्म एउटै एल्बम निकालेकी छैन । अहिलेका कलाकार अढाइ, दुई लाखमा भिजुअल गर्छन् । तर, हामीजस्तो कलाकार, जसले यति लामो समयसम्म संगीत सिकेर लामो साधनापछि आएका छौँ, दुईदुई लाख रुपियाँको भिजुअल बनाएर कसरी बाँच्न सक्छौँ र ? म इन्डिया बस्दा खर्साङ रेडियोमा गाउँथे । गाइसकेपछि रेडियोले इज्जत गरेर मलाई पारिश्रमिक दिन्थ्यो । एचएनभी कम्पनीले भारतमै मेरो एल्बम निकालिदिएको थियो । त्यतिबेला नेपालबाट फत्तेमान दाइ, तारादेवी दिदीहरू पनि एचएनभी कम्पनीमै गीत रेकर्ड गर्न जानुहुन्थ्यो । १९८० मा ‘संगीता प्रधान सिंहसँग गीत गजल एन्ड भजन’ नामक एल्बम निकालिदिएको थियो । १२ वटा गीत छ त्यो एल्बममा । मैले ती गीत गाएबापत पैसा पाएँ । भारतमा छँदा अरू रेडियोहरूमा पनि गाउने मौका पाएँ ।
नेपालमा भने आफँैले रकम खर्च गरेर एल्बम निकाल्नुपर्ने संस्कार रहेछ । मलाई यो संस्कार चित्त बुझेन । राम्रो कलाकारलाई उसको क्षमता प्रस्तुत गर्ने अवसर दिनुपर्छ भन्ने मेरो बुझाइ भयो । त्यसैले मलाई रकम खर्च गरेर एल्बम निकाल्ने सोख बढेन । बरु, चलचित्रगीतमा आवाज दिन थालेँ । चलचित्र ‘भूमरी’ देखि गीत गाउन थालेँ । ‘राँको’ चलचित्रमा पनि गाएकी छु । चलचित्रमा पनि गीत गाएबापत पारिश्रमिक पाउँथे । सायद त्यसैले पनि होला, एल्बम निकालेर आफूलाई प्रचार गर्ने सोख नै भएन ।
संगीतमा लगातार साधना गरिरहेकी छु । शून्यतामा अझ मीठो संगीत पाउँछु । शून्यतामा नै संगीतको स्वाद अनुभूति गर्न सक्छु । संगीतको नाद दुई प्रकारका हुन्छन्– आहद र अनाहद । सुनिने संगीत आहद हो भने शून्यतामा अनाद संगीत प्राप्त हुन्छ । परापूर्व कालका ऋषिमुनि साधनाद्वारा मोक्षप्राप्तिका लागि संगीतमा लीन हुन्थे । शून्यतामा मोक्ष प्राप्त गर्थे । संगीत ठूलो साधना हो । ‘मार्ग संगीत’ भनेको साधनाबाट मोक्ष प्राप्त गर्ने संगीत हो । देशी संगीतचाहिँ हामी शब्दमा ध्वनि मिसाएर मनोरञ्जन प्राप्त गर्न प्रयोग गर्छौं ।
सागरभन्दा गहिरो छ संगीत । साधनामा लीन हुँदा जति संगीत सिकिन्छ, गहिराइ अझ बढी देखिन्छ । मनोरञ्जनको रूपमा लिन थाल्यौँ भने संगीत क्षणिक मात्रै हुन जान्छ । मेरो लागि संगीत शरीरमा रहेका यी अंगभन्दा पनि महत्त्वपूर्ण छ । संगीत मेरो साधना हो । संगीतबिना बाँच्न सक्दिनँ । म अझै संगीत सिकिरहेकी छु । संगीतलार्य प्रचारमा आउने माध्यम कहिल्यै बनाइनँ । आफूभित्र अनुशासन कायम गर्ने साधनाको माध्यमका रूपमा मात्र शास्त्रीय संगीतलाई अँगालिरहेँ ।
त्यसो त आफूभित्रको ज्ञान पनि बाँडिरहेकी छु । ललितकला क्याम्पसमा संगीत विभागको प्रमुख भएर काम गरिरहेकी छु । मैले थुप्रै सांगीतिक विद्यार्थी उत्पादन गरेकी छु । भारतबाट आएलगत्तै संगीतको अध्यापन गराउन थालेँ । शिव परियार, माण्डवी त्रिपाठी, रामचन्द्र काफ्ले, सिन्धु मल्ल, वसन्त सापकोटा, उदेश श्रेष्ठ, निमा रुम्बा, चेतन सापकोटालगायतका अहिलेको सांगीतिक बजारमा चर्चामा रहेका गायक, गायिका तथा संगीतकार मेरा विद्यार्थी हुन् । सांगीतिक क्षेत्रमा पछिल्लो समय पढेर सिकेर अघि बढ्ने कलाकार बढिरहेका छन् । २०४७ सालपछिका केही वर्ष भने साधनाभन्दा प्रचारले अघि आउने परम्परा बसेको कारण सांगीतिक क्षेत्र पनि एकप्रकारले विचलित बन्यो । राम्रो कलाकारले अवसर पाएनन् । म पनि त्यही भुमरीमा परेकी कलाकार हुँ । मैले चलचित्रमा गाएका थुप्रै गीतले बजार तताएका छन् । ‘सीमारेखा’ को ‘छिटको गुन्यु’ अनि ‘चाँदनी’ को ‘यो रातै रमाइलो’ जस्ता गीत श्रोताको मनमा गढिरहेकै छन् । यी गीतमा गुन्जने आवाज त थुप्रैले चिन्छन् तर गायिकालाई कमैले चिन्लान् । कारण एउटै हो– मलाई प्रचारमुखी संगीतको मोह छैन ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया