स्कुलमा चारचोटि चुनाव हारेँ

Minendra_Rijal_Nepali_Congrधरानको सुनसरीमा जन्मिएको म, ०१४ साल असोजमा । चार–पाँच वर्षको उमेरमा पहिलोचोटि स्कुल गएको सम्झना छ । त्यहीँको स्थानीय स्कुल, जसलाई १ नम्बर पाठशाला भन्ने गरिन्थ्यो । प्राथमिक स्तरको उक्त स्कुलमा कक्षा ३ सम्म अध्ययन गरेँ । ४ कक्षा पढ्न विराटनगर पुर्‍याइयो । एसएलसी पास गर्दासम्म मैले चारवटा स्कुल परिवर्तन गरेँ । अहिले त ती सबैको नामै सम्झना छैन ।
पढ्नमा सानैदेखि राम्रो विद्यार्थीमा गनिन्थेँ । कक्षामा सधैँ प्रथम हुन्थेँ । त्यसैले स्कुलदेखि घरसम्म सबैको प्यारो थिए । सानोतिनो गल्तीमा कसैको खप्पी खानु परेन । साथीभाइका बीचमा पनि म सानैदेखि लिडिङ गर्थें । एक दिन भाउजूको पैसा चोरेँ, तीन–चार रुपियाँ हुँदो हो । त्यसपछि बडो सानसँग साथीहरू जम्मा गरेँ । आठ जना साथी थिए । फुर्ती लगाउँदै सुनाएँ– ‘बुझ्यौ, यसपालि दसैंमा टीका लगाएर यति धेरै दक्षिणा जम्मा गरेँ मैले ।’ अनि केके न गरेजसरी साथीहरूलाई मिठाई किनेर खुवाएँ । साथीहरू खान पाएकोमा दंग, म खुवाउन पाएकोमा । पछि कसोकसो गरी घरमा चोरी गरेको थाहा भइहाल्यो । धन्न कसैले गाली भने गरेन । तर, पनि दोस्रोपटक चोरी गरिन । आफैँलाई लाग्यो– यो गलत हो । पैसा चाहिए त घरमा दिइहाल्छन् नि, किन चोर्नु †
घरनजिकै खोलामा पौडी खेल्न जान्थ्यौँ । घरमा चाहिँ भन्दैनथ्यौँ । अरूका बारीका उखु त कति खायो खायो हामी फुच्चैहरूको ग्याङले । चोरेर खाँदा रमाइलो लाग्थ्यो, कत्रो न बहादुरी गरेजस्तो । एक दिन त उखु कुर्न बसेको मान्छेले हामीलाई समातिहाल्यो । हातमा रहेका उखुका लाँक्रा समात्नु कि फाल्नु भइहाल्यो । मालिककोमा लैजान्छु भन्दै हामीलाई घोक्य्राउन थाल्यो । दुई माइलजति हिँडाइसकेको थियो । बाटोमा मलाई चिन्ने एक जना मान्छेले भेटेपछि उसलाई छोडिदिन आग्रह गरे । उसले छाडिदियो । चोरेको उखुसँगै थियो । त्यसपछि बाटोमा बसेर दंग पर्दै उखु चुस्न थाल्यौँ । तर, त्यसपछि मैले उखु चोर्नचाहिँ छोडेँ ।
घरको आर्थिक अवस्था राम्रो थियो, कुनै कुराको अभाव थिएन । केही चाहिँदा सहजै उपलब्ध हुन्थ्यो, कलह
गरिरहनुपरेन । सानैमा बुबा बित्नुभयो । त्यसपछि पनि सबैको माया पाइराखेँ । सबैको सहयोगमा बित्यो मेरा बाल्यकाल ।
पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय भइरहन्थेँ । साथीसँग मिलेर नाटक खेल्थ्यौँ । राष्ट्रवादी नाटक हुन्थेँ । म दौरासुरुवाल र खुकुरी भिरेर अभिनय गर्थें । खुब रमाइलो हुन्थ्यो नाटक खेल्दा । आफूजस्तै साथी मिलेर क्लब बनाएका थियौँ । डन्डिबियो, फुटबल, भलिबल, चेसजस्ता खेल खेल्थ्यौ । साइकल चढेर निष्फिक्री घुमिरहन्थ्यौँ । उतिबेला साइकल चढ्दा पनि निकै मजा आउँथ्यो । साथीहरूसँगचाहिँ मारपिटचाहिँ कहिल्यै गरिएन । साथीहरूबीच लोकप्रिय थिएँ । साथीसाथी मिली लुकेर तास खेल्थ्यौँ । घरकाले पत्तै पाउँदैनथे । पढाइमा राम्रो र अनुशासित स्वभाव भएकाले शंका गर्दैनथे पनि ।
उतिबेला स्कुलमा पनि क्याम्पसकै युनियन चुनाव हुन्थ्यो । कक्षा ६ पढ्दैदेखि चुनाव लडेँ । पहिलोचोटि नै जितेँ । ६ कक्षाको स्कुले विद्यार्थी म साथीहरूबीच चम्कीचम्की भाषण गर्थें । राजनीतिमा लागेकाले पनि होला, सानैदेखि जिम्मेवार स्वभाव निर्माण भयो । बदमासी गर्न पाइएन । मैले नेविसंघबाट पहिलोचोटि जितेपछि त्यो स्कुलमा सधैँ अखिलले चुनाव जित्यो । पछिल्ला वर्ष लगातार चारचोटि हारेँ मैले ।
सानै भए पनि मेरो भाषण सबैले दंग परेर सुन्थे । राम्रो पढ्ने विद्यार्थी भएकाले राजनीतिमा पनि मैलाई अगाडि सार्थे । राजनीति गरेबापत पहिलोचोटि ०३३ सालमा पक्राउ परेको थिएँ, अस्कल क्याम्पस पढ्दा । (वार्तामा आधारित)

प्रतिक्रिया