दबाबपछि छाडिए कांग्रेस कार्यकर्ता

NC flag1सिरहा : प्रहरीले विनाकारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै कांग्रेस सिरहाले बिहीबार प्रहरी कार्यालय घेराउ गरेको छ । कांग्रेस कार्यकर्ताले इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
विभिन्न गाविसबाट गोलबजार आएका कांग्रेस कार्यकर्ताले मिर्चैया पुगी इलाका प्रहरी कार्यालय घेराउसहित गृहमन्त्री विजय गच्छदारविरुद्ध नाराबाजी गरेका थिए । पक्राउ परेका व्यक्तिहरूलाई म्याद थप्न जिल्ला प्रशासन कार्यालय पुर्‍याएको जानकारी पाएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय घेराउ गर्न सदरमुकाम गएका थिए । कांग्रेस बलकवा गाउँ कमिटीका अध्यक्ष रामवृक्ष साह र कार्यकर्ता मोहम्मद मोजामिललाई बुधबार मिर्चैया प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेपछि कांग्रेस विरोधमा उत्रिएको थियो । दबाबलगत्तै बिहीबार पक्राउ अभियुक्तलाई प्रहरीले रिहा गरिदिएको छ ।
मधेसी युवा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य पवन भण्डारीले आफूमाथि गालीगलौज तथा दुव्र्यवहार गरेको भन्दै साह र मोजामिलविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको इन्सपेक्टर नरेश सुवेदीले जानकारी दिए । सिरहा प्रहरीका एसपी मनोज न्यौपानेले गृहमन्त्रीको ठाडो आदेशमा मुद्दा दर्ता गर्नुपरेको सुनाए । (सौस)

प्रतिक्रिया