खडेरी व्यवस्थापन कार्यक्रम हुँदै

काठमाडौं : आगामी अप्रिलदेखि नेपालमा खडेरी व्यवस्थापन र जल सुरक्षाबारे कायक्रम हुने भएको छ । जलवायु परिवर्तनलगायतका कारणले पारेको असरको न्यूनीकरण र जनचेतना जगाउनका लागि अन्तर्राष्ट्रिय विकास नियोग
(डिएफआइडी) को सहयोगमा विश्व जल साझेदारी (जिडब्लुपी)को नेपाल च्याप्टर जलस्रोत विकास संस्थाले उक्त कार्यक्रम गर्न लागेको हो । दक्षिण एसिया जल सुरक्षा र जलवायु परिवर्तनको असर सामनाका लागि क्षमता वृद्धि आयोजनाअन्तर्गत जल, जलवायु र विकास कार्यक्रम गर्न लागिएको क्षेत्र विश्व जलसाझेदारीको दक्षिण एसिया क्षेत्रका संयोजक ईश्वरराज वन्तले जानकारी दिए । उनका अनुसार, आगामी अप्रिलदेखि दुई वर्षसम्म खडेरी व्यवस्थापन र जल सुरक्षाबारे नेपालमा कार्यक्रम गर्न लागिएको हो ।
बिहीबार नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रमका सहभागी जलस्रोत, जलवायु र ऊर्जा विशेषज्ञहरूले जलवायु परिवर्तनको कारणले आएका समस्या समाधानका लागि एकीकृत रूपमा अघि बढ्न सुझाव दिए । जिडब्लुपीले यसबारे क्षेत्रीय समन्वय, राष्ट्रिय विकास योजना, लगानी, आयोजना तयारी र आर्थिक सहयोग, नमुना परियोजना, क्षमता विकास, ज्ञान र जनचेतना अभिवृद्धि र प्रशासन र कोष विकास लगायतबारे कार्यक्रम प्रस्तावित गरेको छ । यी कार्यक्रममध्ये छलफलले राष्ट्रिय विकास योजना, नमुना परियोजना, क्षमता अभिवृद्धि, तथा ज्ञान र जनचेतनामूलक कार्यक्रम गर्ने तय गरेका छन् ।
कार्यक्रममा जिडब्लुपीका वरिष्ठ नेटवर्क अधिकृत सामिन्दा राजापाक्षेले जलवायु परिवर्तनको असरको सामाना गर्नका लागि अघि सारिएको योजनाको कार्यावन्यनपद्धतिबारे जानकारी गराएका थिए भने जलस्रोत विकास संस्थाका अध्यक्ष सोमनाथ पौडेल, सदस्य डा. केशवप्रसाद पौडेल र वातावरण मन्त्रालयका पूर्वसह–सचिव वटुकृष्ण उप्रेतीले नेपालको अवस्था र स्रोतबारे चर्चा गरेका थिए ।
विश्वभर रहेका १३ क्षेत्रीय जल साझेदारी संस्थामध्ये दक्षिण एसियाको क्षेत्रीय अध्यक्षको नेतृत्व नेपालका वन्तले गर्दै आएका छन् ।

प्रतिक्रिया