विद्युत् व्यापार सम्झौता गर्न भारत तयार

काठमाडौं, २४ फागुन । भारत अधिकारीहरूले नेपालसँग विद्युत् व्यापार सम्झौता (पिटिए) गर्न तयार रहेको जनाएको छ ।

पिटिएका लागि नेपालको तर्फबाट ठोस प्रस्ताव नआएको भन्दै ठोस प्रस्ताव पठाएमा आफूहरू तयार रहेको उनीहरूले बताएका हुन् । केही दिनअघि भारतको नयाँ दिल्लीमा नेपाली सञ्चारकर्मीसँगको भेटमा भारतीय उद्योग मन्त्रालयका सहसचिव अरविन्द मेहताले नेपालले ठोस प्रस्ताव पठाएमा र चाहेमा तुरुन्तै सम्झौता हुनसक्ने बताएका थिए । ‘छलफल भइरहेको छ तर सम्झौता गर्नका लागि नेपालका तर्फबाट ठोस प्रस्ताव आएको छैन,’ उनले भनेका थिए, ‘नेपालले जति छिटो प्रस्ताव ल्याउँछ, त्यति चाँडो हुन्छ ।’
भारतीय विदेश मन्त्रालयका सहसचिव प्रभात कुमारले पनि भारत नेपालसँग विद्युत् किन्न तयार रहेको बताउँदै आएका छन् । उनले नेपालले जति विद्युत् उत्पादन गरे पनि भारत किन्न तयार रहेको र यसका लागि भारत सम्झौता गर्न पनि तत्पर रहेको बताइरहेका छन् । नेपालका अधिकारीहरूले भने पिटिएको प्रस्ताव गरिसकेको र भारतले ठोस प्रस्ताव खोजेमा तुरुन्तै पठाउन सकिने बताएका छन । ऊर्जा सचिव हरिराम कोइरालाले आफूहरूले पटकपटकको नेपाल–भारत जलस्रोत समितिको बैठकमा उक्त प्रस्ताव राखिएको र ठोस प्रस्ताव खोजेमा तुरुन्तै पठाउन सकिने बताए । ‘हामीले पटकपटक भारतका अधिकारीहरूसँग भएको छलफलमा प्रस्ताव गरेका छौँ, ठोस प्रस्ताव खोजेको हो भने तुरुन्त पठाउँछौ,’ उनले भने, ‘नेपाल सम्झौता गर्न आतुर छ ।’
नेपाल–भारत विद्युत् व्यापार सम्झौता हुनुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् भने प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्वप्रधानमन्त्रीको पालामा समेत सम्झौता गर्न भारतसँग प्रस्ताव गरिँदै आएको छ । पछिल्लोपटक भारतको भ्रमणमा गएको बेला गत कात्तिकमा प्रम भट्टराई र गत माघमा नेपाल–भारत संयुक्त जलस्रोत बैठकमा समेत नेपालले उक्त प्रस्ताव गरेको थियो । अहिले भारतबाट नेपालमा विद्युत् आयात भए पनि निर्यात भने हुनसकेको छैन । ५० मेगावाट मात्र सम्झौताअनुसार भारतबाट विद्युत् नेपाल आयात भइरहेकोमा सम्झौता भएपछि दुई देशले जति विद्युत् पनि एक अर्कालाई विक्री गर्न सक्नेछन् ।
भारतमा अहिले २ लाख ५० हजार मेगावाट विद्युत्को माग रहेको र त्यो ९० प्रतिशत मात्र पुर्ति गर्न सकिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । नेपालले चााडो विद्युत् उत्पादन गरेमा जति विद्युत् किन्न पनि भारत तयार रहेको भारतीय अधिकारीले बताउँदै आएका छन् । तर, नेपालको विद्युत् उत्पादनको वृद्धिदर निराशाजनक छ भने निर्माणाधीन आयोजनासमेत समयमै बन्न सकेका छैनन् ।
उनीहरूले भारतीय कम्पनीहरूसमेत नेपालमा आएर जलविद्युत् निर्माणका लागि तयार रहे पनि नेपालको अस्थिर राजनीति, नीति र विभिन्न अवरोधका कारणले समस्या परेको बताएका छन् । ‘नेपालको जलविद्युत्को प्रशस्त सम्भावना छ तर आयोजना निर्माणमा जति ढिला गरे त्यति जलविद्युत् उत्पादनको दर घट्दै जान्छ,’ सहसचिव मेहताले भने, ‘जल विद्युत्को नाममा बार्गेनिङ र समस्या थुपार्न छाडेर आयोजना बनाउनेतिर लाग्नुपर्छ, निजी प्रवद्र्धकलाई प्रोत्साहन गर्नेतिर लाग्नुपर्छ, जसबाट नेपालले ठूलो फाइदा लिन सक्छ ।’
विदेश मन्त्रालयका सहसचिव प्रभातकुमारले भारतमा पनि ऊर्जा संकट रहेकाले तत्काल नेपालले आयोजना नबनाएमा भारत अन्य विकल्पमा जान सक्ने र बनाएमा भारतले नेपालसँग बिजुली किन्ने सम्भावना भएकाले जलविद्युत्मा रहेका सबै अवरोध र बाधाव्यवधान हटाउनका लागि नेपालले पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया